सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् । पछिल्लो अध्ययनले पाँच वर्षभन्दा मुनिका बालबालिकामध्ये ११ प्रतिशतलाई भिटामिन ‘ए’ कमी भएको देखिएको छ ।
चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनिर, गिरिदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलगम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रङका फलफूल भिटामिन ‘ए’ का स्रोत हुन् । भिटामिन ‘ए’ ले हड्डी मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ ।








