काठमाडौं विश्वविद्यालयको युवाहरूको एक समूह Grainergy ले पौष्टिक र स्वादिष्ट बार तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिचान बनाउन लागि परका छन । यो उत्पादन आहार प्रणाली नवप्रवर्तन प्रतियोगिता २०२५ का लागि छनोट भएको हो । जसलाई नेदरल्याण्ड्सको वाखेनिङ्गेन विश्वविद्यालय तथा अनुसन्धान, काठमाडौं विश्वविद्यालय र नेदरल्याण्ड्सको खाद्य साझेदारी नेदरल्याण्ड्स फूड पार्टनरशिप भन्ने संस्था तथा अन्य १० विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेका छन ।
विश्वव्यापी रूपमा करोडौं मानिसलाई सस्तो, पौष्टिक र भरपर्दो आहार पहुँचमा ल्याउने चुनौती रहिरहेकाले, Grainergy को NutriMillet बार यस्तो समस्याको व्यावहारिक समाधानका रूपमा प्रस्तुत गरिएको छ ।
NutriMillet बार स्थानीय सामग्रीहरू जस्तै कोदो, गुड, मह, किसमिस, नरिवलको धुलो, फर्सीको बिउ, आलसको बिउ र सुन्तलाको धुलो इत्यादी प्रयोग गरेर तयार गरिएको हो । यो स्वास्थ्यका लागि लाभदायी, पचाउन सजिलो र पूर्णतया प्राकृतिक तरिकाले तयार पारिएको ऊर्जाले भरीपूर्ण खाद्य बस्तु विशेषगरी जिम गर्नेहरू, खेलकुदमा संलग्न व्यक्तिहरू तथा पहाडीमा पदयात्रा गर्नेहरूका लागि लामो समयसम्म निरन्तर ऊर्जा प्रदान गर्ने उत्कृष्ट विकल्प हो ।
नेपालका परम्परागत बालीहरू जस्तै कोदो प्राचीन खाद्य संस्कृतिको एक महत्वपूर्ण हिस्सा भए पनि आधुनिक बजारमा यसको प्रयोग सीमित छ। न्चबष्लभचनथ ले स्थानीय ज्ञान र आधुनिक नवप्रवर्तनलाई जोडेर यी परम्परागत बालीहरूको मूल्य अभिवृद्धि उत्पादन गर्ने प्रयास गरेको छ ।
साथै, कोदो जलवायु प्रतिरोधी बाली भएकाले प्रतिकूल अवस्थामा समेत सजिलै उत्पादन गर्न सकिन्छ । यसरी यो उत्पादनले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) विशेषगरी Good Health ७ llWe-being, र Climate Action मा योगदान पुर्याउने यस टोलीका एक सदस्य बिपुल चौधरी बताउछन् ।
यो पहललाई युवा नेतृत्वमा आधारित कृषि तथा खद्य उद्यमशीलताको उदाहरणका रूपमा हेर्न सकिन्छ । सीमित स्रोत हुँदाहुँदै, नेपाली युवाहरूले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधि र बजारसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने साहसिक कदम चालेका छन् । आगामी असोज महिना नेदरल्याण्ड्समा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा न्चबष्लभचनथ टोलीले आफ्नो उत्पादन प्रस्तुत गर्दै विश्वभरका विभिन्न देशका २३ अन्य टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ। यस अवसरले नेपाली युवालाई स्थानीय स्रोतमा आधारित खाद्य नवप्रवर्तनलाई विश्वसामु चिनाउने र नेपाललाई दिगो आहार समाधानको भागीदारका रूपमा प्रस्तुत गर्ने मौका दिनेछ ।
त्यसैगरी, यस उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुर्याउने सम्भावना बोकेको छ। कोदो, आलस वा फर्सीका बीउ जस्ता स्थानीय बालीहरूको माग बढ्दै गएमा किसानको आम्दानी वृद्धि हुने, ग्रामीण अर्थतन्त्र सुदृढ हुने र कृषि प्रणालीमा दिगोपनाको अभ्यास बढ्ने अपेक्षा गरिएको छ ।
NutriMillet बार केवल पौष्टिक आहार मात्र नभई जलवायु परिवर्तनसँग लड्न सहयोग गर्ने एउटा दिगो पहल पनि हो । नेपालजस्तो हिमाली भूभागमा कोदो, आलस, फर्सीका बीउ जस्ता बालीहरू जलवायु प्रतिरोधी मानिन्छन्, जसले सुख्खा, चिसो वा अनियमित वर्षामा पनि उत्पादन दिन सक्छन् । यसरी NutriMillet उत्पादनले नेपालमा जलवायु परिवर्तनका प्रतिकूल असरहरूलाई न्यून गर्न, कृषकलाई दिगो आम्दानी दिलाउन, र स्थानीय खाद्य प्रणालीलाई मजबुत बनाउन योगदान पुर्याउँछ ।
यो उत्पादन केवल उपभोक्ताको स्वास्थ्यका लागि मात्र नभई नेपाली माटो, संस्कृति र जैविक विविधतासँग गहिरो सम्बन्ध राख्छ । यसले स्थानीय स्रोतलाई प्राथमिकता दिँदा आयातित, उच्च कार्बन–फुटप्रिन्ट भएका खाद्य पदार्थको प्रयोग घटाउँछ, जसले वातावरणमैत्री विकल्प दिन्छ । स्थानीय उत्पादनबाट बानाइएको हुनाले NutriMilletबारले केवल उपभोक्तालाई मात्र होइन, सम्पूर्ण खाद्य प्रणालीलाई स्वस्थ, पोषणयुक्त र दिगो भविष्यतर्फ उन्मुख गर्ने विश्वास यस टोलीका अर्का सदस्य रुपा बजगाईंको रहेको छ ।
काठमाडौं विश्वविद्यालयले यस प्रतियोगितामा गत वर्षदेखि सहभागी हुँदै आईरहेको तथा यस विश्वविद्यालयका विद्यार्थीहरु सम्मिलित टोलीले पहिलो सहभागितामै दोस्रो स्थान हासिल गरिसकेको जानकारी यस कार्यक्रमका संयोगक डा. उमा शंकर पाण्डेले दिनु भयो । चुनौती आधारित व्यवहारिक शिक्षामा जोड दिनु र युवा जनशक्तिलाई कृषि तथा खाद्य प्रणालीमा आकर्षित गर्ने एवम नवप्रवर्तनमा जोड दिनु यस कार्यक्रमको उद्देश्य रहेको उनी बताउछन ।









