तीज हिन्दू महिलाहरूको महान् पर्व हो, जसलाई पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गरेको स्मरणमा मनाइन्छ। यस दिन अविवाहित युवतीले योग्य पति पाउन र विवाहित महिलाले पतिको दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणका लागि व्रत बस्ने चलन छ। धार्मिक आस्थासँगै सामाजिक–सांस्कृतिक महत्व पनि बोकेको यो पर्वमा महिलाहरू दर खाई निराहार व्रत बस्छन्, शिव–पार्वतीको पूजा गर्छन्, दिदीबहिनीबीच भेटघाट, रमाइलो, नाच–गान गर्दै पारिवारिक आत्मीयता र एकता अझ मजबुत बनाइन्छ।
विगतमा नेपाली हिन्दु महिलाहरुले हरितालिका तीजलाई मौलिक संस्कृति र धार्मिक आस्थासहित मनाउने गर्थे। तर पछिल्ला वर्षमा यसको मौलिकता हराउँदै गएको भन्दै पुराना पुस्तामा चिन्ता बढेको देखिन्छ ।
अघिल्ला पुस्ताले तीजलाई नारीका पीडा, वेदना र समाजका विकृति शब्द–शब्दमा बुनेर गाउने पर्वका रुपमा मनाउँथे। तर अहिले स्वतन्त्रता र आधुनिकताको नाममा मौलिकता नै हराउने गरि हिन्दी, आधुनिक, र्याप, सुर न तालका गीत गाउने र त्यसैमा नाच्ने गरेको देखिन्छ । यो आफ्नो मौलिक परम्परा र संस्कृती प्रती ठूलो घात हो ।
पहिले महिलाहरु साउने सक्रान्तीदेखि नै रातमा टोल–टोलमा भेला भएर आफैं बादल र ताली बजाउँदै तीजका भाका गाउँथे। नयाँ पुस्तालाई यस्तो प्रचलनको अनुभव नै भएन । अहिले त युटुबबाट मन लागेको गीत बचाउन थालियो । यसले हाम्रो प्रतिभा प्रष्ट्फुटन गराउने माध्यम पनि हटेर गयो । माइती जाने, आमाले पकाएको दर खाने, शिवको व्रत बस्ने परम्परा पनि हराउँदै गएको छ । पुराना पुस्ताले गरेसम्म यो सबै टिक्छ नत्र भने अब बिस्तार यी सबै कुरा हराउँदै जाने हुन्छ । त्यसकारण अब हामी बिस्तार यस्ता हाम्रा परम्परा र मौलिकतालाई जोगाउन लाग्नुपर्छ । पहिला तीज सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने पर्व थियो। तर अहिले स्वतन्त्रता र आधुनिकताको नाममा विकृति फैलिँदा मौलिकता हराएको छ। पछिल्लो समय राम्रो पनि भएको छ । तीज पहिले सीमित जात–जातिको पर्व रहे पनि अहिले सबै समुदायले मनाउने गरेका छन् । तर पूँजीवादी संस्कृतिको प्रभावमा मौलिकता भने हराउँदै गएको छ । पहिले दर खाने दिन दुध, दही, घिउ, खिर, सलाद जस्ता शाकाहारी परिकार बनाइन्थ्यो। तर अहिले मासु र मदिरा समेत अनिवार्य भएको छ । जुन मौलिक परम्पराको विपरीत हो। तीजका मौलिक गीत हराउँदै जानुको कारण नयाँ पुस्ता हो । नयाँ पुस्तालाई हामीले हाम्रो परम्परा र संस्कृतीको बारे जानकारी नै गराउन सकेनौं । त्यसकारण उनीहरुको रुचि पनि भएन । यसमा उनीहरूभन्दा पनि हामी दोषी हौं । अघिल्ला पुस्ताले भगवान आराधना गर्ने भाका गाउने गर्थे। तर अहिले व्यवसायिक सोचका कारण मौलिक गीत–संगीत हराउँदै, आधुनिक शैलीका सर्जक र गीतको भीड मात्र बढेको छ।
समाजका अग्रज जेष्ठ महिलाहरुबाट अब हामीले हाम्रा युवा पुस्तामा पुराना परम्परा, रितिरिवाज, मौलिकता, विधि आदि अनिवार्य सिकाउँदै जानुपर्छ । अन्यथा बिस्तार हाम्रा परम्परा, रितिरिवाज, मौलिकता, विधि सबै विदेशीबाट अहिले संस्कृत सिकेको जस्तै सिक्नुपर्ने हुनसक्छ । त्यो दिन नआओस भन्नको लागि हामीले अहिले आजैबाट हाम्रो परम्परा जोगाउन लाग्नुपर्छ । हाम्रो देशको मुख्य पहिचान भनेकै हाम्रो मौलिकता, धार्मिकता र सांस्कृतिक पहिचानमा हुने हुँदा यो जोगाउनु हामी सबैको बराबर दायित्व हो । अहिले हाम्रा हरेक चाडपर्व आधुनिकतासँगै विकृति र प्रदर्शनको जालोमा हराउँदै गएको देखिन्छ।








