गाईजात्रा नेपालको एक अद्वितीय सांस्कृतिक र सामाजिक पर्व हो । जसको शुरु मध्यकालीन समयमा नेवारी समुदायको परम्पराबाट भएको मानिन्छ। इतिहासकारका अनुसार, यो पर्वलाई राष्ट्रव्यापी स्वरूप दिने काम मल्लकालीन राजा प्रताप मल्लले गरेका थिए। आफ्नो प्रिय पुत्रको मृत्युपछि शोकग्रस्त रानीलाई सान्त्वना दिने उद्देश्यले उनले काठमाडौंमा गाईजात्रा निकाल्ने प्रचलनलाई संस्थागत बनाएका थिए ।

गाईजात्राको मूल उद्देश्य मृत्यु शोकमा रहेका परिवारलाई मनोवैज्ञानिक रूपमा सान्त्वना दिनु हो। मृत्यु जीवनको अपरिहार्य सत्य हो भन्ने सन्देश दिन, एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिका परिवारले गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगरपरिक्रमा गराउँछन्। यसक्रममा श्रद्धालुहरूले दूध, फलफूल, चिउरा, दही, रोटी, अन्न र नगद दान गर्ने परम्परा छ।

धार्मिक विश्वास अनुसार, यसरी नगरपरिक्रमा गर्दा दिवङ्गत आत्माले ‘गाईको पुच्छर समाएर’ वैतरणी नदी पार गर्छन् र परलोकमा सहज यात्रा पाउँछन्। यसले परिवारलाई मानसिक शान्ति र शोक निवारणमा सहयोग पुर्‍याउँछ भन्ने जनविश्वास रहेको छ ।

पछिल्लो समय समाजमा सामाजिक अन्याय, विकृति, विसङ्गतिलाई निडर रूपमा व्यङ्ग्य गर्ने अवसरका रूपमा यसलाई प्रयोग गरिन्छ। यसरी, यो पर्वले केवल व्यक्तिगत शोक मात्र होइन, सामूहिक चेतनालाई पनि जगाउने काम गर्छ। समयक्रममा गाईजात्रा केवल धार्मिक परम्परामा सीमित रहेन। यो हास्य, व्यङ्ग्य र स्वस्थ मनोरञ्जनको पर्वका रूपमा समेत विकसित भयो।

यो पर्वको सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेको छ । गाईजात्रा नेवारी समुदायको जीवनशैली, वेशभूषा, नाचगान र परम्परागत वाद्यवादनको अद्भुत संगम पनि हो। यस दिन काठमाडौं, भक्तपुर, ललितपुर लगायतका सहरमा रंगीचंगी वेशभूषामा सजिएका सहभागीहरू र व्यङ्ग्यात्मक झाँकीहरूले शहरलाई उत्सवमय बनाउँछन्।

हरेक पर्वको कुनै न कुनै सन्देश रहेकै हुन्छ । गाईजात्राले पनि हामीलाई मृत्यु अपरिहार्य छ, तर जीवनलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । मनमा रहेको कुरा कसैलाई नभनी राखियो भने मन भारी हुने गर्दछ । त्यसैले दुस्ख सुख हरेक कुरा एक अर्कामा बाढ्नु पर्छ । शोकलाई साझा बनाउँदा मन हलुका हुन्छ। अहिले गाई जात्रालाई हाँसो र व्यङ्ग्यको माध्यम पनि बनाइएको छ । यसले समाज सुधारका प्रभावकारी औजारको काम गरेको छ । यो पर्वले शोकग्रस्त परिवारलाई मनोवैज्ञानिक रुपमा राहत समेत प्रदान गरेको छ । हामीले हाम्रो देशको पहिचान बचाउने नै यस्तै किसिमका हाम्रा सांस्कृतिक पर्वहरु मार्फत नै हो । हामीले हाम्रा भावी पुस्तालाई यस्ता कुराहरुको जानकारी गराउँदै सिकाउनु पर्छ । यसले मजबुत बनाउँछ र समाजलाई सुधारतर्फ अग्रसर समेत गराउँछ।