गाईजात्रा ः
व्यक्तिको बोल्ने अधिकारलाई व्यङ्ग्यात्मक रुपबाट समाजसम्म दर्शाउन पाउने स्वतन्त्र र स्पष्ट पर्व नै गाईजात्रा हो । आफूलाई चित्त नबुझेका कुरा स्पष्ट रुपमा व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ प्रस्फुटन गराउने कलात्मक र दृष्टात्मक अभिव्यक्ति अर्थात् गाईजात्रा । विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरमा मनाईने यो पर्व काभ्रेका पनि बनेपा, धुलिखेल लगायतका क्षेत्रमा विभिन्न भेषमा मनाइने गरिन्छ ।
भाद्र कृष्ण प्रतिपदाका दिन अर्थात भोली विशेष गरी मनाइने यो जात्राको बारेमा बौद्धिक, तान्त्रिक ग्रन्थ ‘कालव्यूह’ का अनुसार यस दिन गौ पूरा गरी गहूँको रोटी र नून गाईगोरुलाई खान दियो भने मोक्ष प्राप्ति हुने र सबै पाप कर्महरु नाश भई हजारौं जोगीहरुलाई भोजन गराएको सरह फल प्राप्त हुने जनाइए पनि आजतक यो पर्वमा समयको परिवर्तनसँगै अनेकांै आयामहर थपिँदै गएको पाइन्छ ।
अन्तत्वगत्वा यस पर्वलाई पितृ मोक्षको रुपमा समेत स्थापित गराईयो । प्रत्यक्ष रुपमा गाई गोरु समावेश गराईने यो पर्वमा अहिले बैकल्पिक रुपमा मानिसहरुद्वारा नै गाईको मुकुण्डो लगाई पशुको प्रतिनिधित्व गर्न चलन रह्यो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिनदेखि आठ दिनसिम्म गाईजात्रा पर्व नेपाल अधिराज्यभर मनाइन्छ । काठमाडौं उपत्यकामा भने सबैन्दा भव्य रुपमा मनाइन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि प्रारम्भ भई कृष्णअष्टमीको दिन अन्त्य हुने पर्व उपत्यकावासीको साँस्कृतिक पर्व हो ।
यो पर्व खास गरी देहान्त भएका आफनतको सम्झनामा उनीहरुको सद्गति होस् भनेर घरका सदस्यहरले सम्पन्न गर्ने पर्व हो । मृतकको प्रतिनीधित्व गर्दै नगरको एक निश्चित मार्ग घुमि घाटसम्म पुगेर फर्कन्छन् । यसरी नगर घुम्ने व्यक्तिलाई गाईको प्रतीक बनाएर सिंगारिन्छ । गाईको पहिरनको मुख्य विशेषता कम्मरमा बाँधिने लामो पटुकी पनि हो । जसले भुँइको धुलोलाई लतार्दै हिँड्नुपर्छ ।
गाई घुमाउनुको कारण मृतक व्यक्तिले विघ्नबाधारहित ढंगमा स्वर्गमा प्रवेश गर्न पाओस् र स्वर्गको ढोका बन्द रहेछ भने पनि गाईको सिङको सहाराले त्यो द्वार खोलिन्छ भन्ने कथन रहिआएको पाइन्छ । मानिस मरेपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने भएको कारण गाईजात्रा मनाइने गरेको बुढापाकाहरु बताउँछन् ।
नगरपरिक्रमा गर्ने व्यक्तिका साथमा एउटा गाई वा बाच्छो नभएमा १२÷१३ वर्षको बालकलाई गाईको रपमा सिंगारी पेरुङगोको टोपी लगाइन्छ । गाईको चित्रले बनेको मुकुन्डोले ढाकी झल्लरी छाता ओढाएर थरीथरीका मुकुन्डो लगायतका कालो रातो रङले जिउ रङ्ग्याएको थोत्रा, थाङ्ना र कपडा पहिरिएका, ऐनाबिनाको चश्मा लगाएर विचित्र भेषमा, जोगी र अनेक रुपमा देखाएर गाईजात्रे भएको व्यक्तिहरु हिँड्छन् । गाईजात्रा मनाउने चलन मल्लकालमा चलेको हो । काठमाडौंको मल्लराजाको दरबार हनुमानढोका, भक्तपुरको दरबार एरिया, पाटनको कृष्ण मन्दिरअगाी भेला भएर तोकिएको बाटोबाट लामा लागेर नगरपरिक्रमा गर्न निस्कने पम्परा छ ।
यस दिन नाटक, प्रहसन, हास्यव्यङ्ग्य आदि गरिन्छ । देशको राजनीतिक सामाजिक तथा आर्थिक व्यवस्थाहरुमा भएका विकृतिहरुलाई प्यारोडी गीत, नाटक, कार्टुनका माध्यमबाट बङ्ग्याएर जनमानसमा मनोरञ्जन गराइन्छ ।
गाईजात्राको इतिहास ः
भक्तपुरका तत्कालीन राजा प्रताप मल्लको एउटा बालक छोरा उपत्यकामा फैलिएको महामारी रोग विफरबाट मृत्यु भएको थियो । छोराको निधनले रानी साह्रै शोकाकुल भइन् । आफ्नो छोरा मात्र नमरेको अरुका पनि मरेका छन् भनी राजाले सम्झाउँदा पनि रानीले अलापविलाप गर्न छाडिनन् ।
त्यसपछि देशभरका जनतालाई आआफ्नो नाममा उनीहरुका आफन्तलाई गाईजात्रा निकाली भक्तवुर दरबार प्राङ्गणमा भेला हुँदै शहरपरिक्रमा गराउने आज्ञा दिए । ठाउँ ठाउँ गाईजात्राका दृश्य देखेपछि जनताका पनि धेरै छोराछोरी मरेका रहेछन्, आफ्नो मात्र मरेको होइन रहेछन् भनेर रानीले चित्त बुझाएपछि त्यस बेलादेखि यो परम्परा चलेको भनिन्छ ।
अतः देशनै गाईजात्रे भने नहोस् व्यङ्ग्य सत्यतामा हिँड्ने मार्ग बनोस् ताकी आईन्दा व्यङ्ग्य गर्ने विकृतिहरुनै नरहुन केवल गाईजात्रा पर्व व्यङ्ग्य गरेर हाँसी खुशी मनाउ, पर्वलाई निरन्तरता दिउँ तर राष्ट्र व्यङ्ग्य नबनोस् ।








