नेपालमा मोहीको चलन धेरै पुरानो हो । घरमा पाहुना आउँदा होस् या गर्मी छल्न चिसोको लागि मोही नै प्रयोग गर्ने गरिन्थ्यो। तर बिस्तार त्यो क्रम हट्दै अन्य पेय पदार्थ तर्फ आकर्षित भएको समयमा दुई वर्ष अगाडि नेपाल डेरी एसोसिएसनले यो लोप हुन लागेको प्रथालाई रैथाने कृषि उपज बिक्री वितरण गर्ने स्थानमा ठेकीमा मोही तुल्याई हरेक शनिवार बिहान ७ देखि १० बजेसम्म निस्शुल्क सेवन गराउने गर्दा त्यसलाई मिडियाले राम्रो स्थान दिई सबैतिर प्रचार प्रसार हुँदै अहिले देशभर ३६ ओटा डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरि बजारमा निकालेका छन्। यसले थप ३० हजार लिटर मोही बजारमा खपत भइरहेको छ। बजारमा उत्पादन भए जति दूध खपत नभएर समस्या भएको बेला यसरी खपत बढाउने कार्य नेपाल डेरी एसोसिएसनको महान कार्य हो । यसको सबैले कुलेरै प्रशंसा गरेका छन् । यो अभियानमा देशका वरिष्ठ ब्याक्तित्वहरुको पूर्ण साथ र सहयोग रहेको छ । पुर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, माननीयहरु एवं वर्तमान सभामुख, कृषिमन्त्री लगायतका सबैको साथ रहेको छ । आजभोलि मानिसहरु खुलेर मोही सेवन गर्न थालेका छन् भने पार्टी, भोजभतेर, शुभ कार्य सबै ठाउँमा मोही राखिन थालेको छ । आजभोलि मोहीले फ्रिजको चिसोलाई बिर्साएको छ । स्वदेशी उत्पादन स्वदेशमै खपत हुन थालेको छ भने स्वदेशी मुद्रा बाहिर देशमा जानबाट रोकिएको छ । सबै नेपालीको भान्सामा मोही पुग्ने गरेको छ । धेरै वटा पालिका, जिविस, अन्य सरकारी कार्यालय र संघ सस्थाहरुले दुध तथा दुग्ध पदार्थ अनिवार्य सेवन गराउने निर्णय समेत गराएका छन् । यो सबै कार्य नेपाल डेरी एसोसिएसनले शुरु गरेको निस्शुल्क मोही सेवन अभियानले गराउन सहयोग पुर्‍याएको हो । यश मानेमा नेपाल डेरी एसोसिएसन धन्यबादको पात्र हो ।

हामी बच्चा हुँदा हाम्रो घरको बिहानी ठेकीमा मदानी घुमाएको आवाजसँगै शुरु हुन्थ्यो । काम सकि गर्मीबाट फर्केर आउँदा घाँटी भिजाउने सर्वोत्तम पेय नै मोही हुन्थ्यो। आधुनिकताको हावा र बजारको चमकदमकले हाम्रो मौलिक उत्पादन अमृतलाई पुरै ओझेलमा पार्दै आफ्नै परम्परागत उत्पादनको फाइदा बिर्सिएर बाहिर बजारका अन्य पेयपदार्थको सहारा लिन थालेयौ र आफ्नो शरीर बिगार्दै अनावश्यक रोग निम्तायौं।

दही, मोही मन नपराउने सायदै कुनै नेपाली नहोला । तर, मन पराउनु र नियमित सेवन गर्नुमा आज ठूलो खाडल देखिएको छ। हाम्रो भान्सामा सधैं रहने मोहीलाई विस्थापित गर्दै रंगीन बोतलमा बन्द गुलिया र हानिकारक पेय पदार्थले डेरा जमाएका छन्। प्रश्न उठ्छ( स्वास्थ्यका लागि यति फाइदाजनक, पचाउन सहज र शरीरलाई शीतल बनाउने मोहीलाई हामीले किन छाड्यौं रु यो प्रश्न आइरहँदा हामी आफैं यसको दोषी हौं ।

आधुनिकताको होडमा आफ्ना परम्परा र संस्कृती भुल्दै हामी अनावश्यक आयातित पदार्थतिर बढी लाग्न थाल्यौं । गाउँबाट शहर पस्ने क्रमसँगै हाम्रो जीवनशैली बदलियो। ठेकी र मदानी घरको कुनामा थन्किए। समयको अभाव र बजारको सहजताले हामीलाई परम्परागत खानेकुरा बनाउने झन्झटबाट टाढा लग्यो। बजारमा आकर्षक विज्ञापनसहित आएका विदेशी ‘कोल्ड ड्रिंक्स’ र ‘सफ्ट ड्रिंक्स’ प्रतिष्ठाको विषय बन्न थाले। पाहुनालाई मोही दिनु ‘गाउँले’ व्यवहार र फ्रिजबाट निकालेर चिसो पेय दिनु ‘आधुनिक’ मानिने गलत सामाजिक मनोविज्ञानको विकास भयो। हामी सबैजना त्यसकै पछि लागेयौं । यही देखासिकीको संस्कृतिले हामीलाई हाम्रो स्वास्थ्यको खानीबाट टाढा पुर्‍यायो। मोहीमा पाइने प्रोबायोटिक ९मित्र जीवाणु० ले हाम्रो पाचन प्रणालीलाई दुरुस्त राख्छ भन्ने कुरा हामीले भुलेयौं । यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउँछ र यसले दिने शीतलता अतुलनीय छ। मोहीले भोक जगाउँछ, कब्जियत हटाउँछ, रक्तचाप नियन्त्रण गर्छ र शरीरमा पानीको कमी हुन दिँदैन। यी सबै फाइदा थाहा हुँदाहुँदै पनि हामीले क्षणिक सन्तुष्टिका लागि अस्वस्थकर विकल्प रोज्दै आफूले आफैंलाई नकारात्मक बाटोतिर लगेयौं।

गुमेको स्वादको पुनरागमन गराउन नेपाल डेरी एसोसिएसनले ठूलो लगानी र आर्थिक भार खेपेको छ । त्यसमा साथ सबैले आफ्नो परम्परा र मौलिकता बचाउन गरेको अमुल्य योगदानको समयले नै कदर गर्ने छ । आज सुखद कुरा के छ भने, पछिल्लो समय मानिसहरु स्वास्थ्य प्रति सचेत हुन थालेका छन्। बजारका गुलिया पेय पदार्थले निम्त्याउने रोगबारे चेतना फैलिँदै गर्दा मानिसहरु पुनः आफ्नै मौलिक स्वादमा फर्कन थालेका छन्। हिजोआज ठूला पार्टी र समारोहमा समेत मोहीलाई स्वागत पेयको रूपमा देखिन थालेको छ। यो नै आम नेपाली पशुपालक कृषक र दुग्ध व्यवसायसँग जोडिएका सबैका लागि खुशीको कुरा हो ।

यो बदलिँदो परिवेशलाई बुझ्दै नेपाल डेरी एसोसिएसनको अभियानलाई आत्मसात गर्दै विभिन्न डेरी उद्योगहरुले आकर्षक बोतल र प्याकेटमा मोही बजारमा ल्याएका छन्। यसले शहरमा बस्ने र समयको अभाव भएकाहरुलाई पनि मोहीको स्वाद लिन सहज बनाएको छ। ठेकीमा मथेको जस्तो ठ्याक्कै स्वाद नभए पनि यसले हाम्रो परम्परालाई नयाँ पुस्तासम्म जीवित राख्न भने ठूलो मद्दत गरेको छ।

हामी आफ्नै घरको अमृतलाई बेवास्ता गरी बाहिरबाट आयातीत पेय पदार्थ सेवन गरी लामो समयसम्म आफ्नै स्वास्थ्यसँग खेलवाड गर्‍यौं। अब समय आएको छ, फ्रिजमा राखिएका हानिकारक पेय पदार्थलाई छोडी आफ्नो भान्सामा फेरि मोहीको स्वाद फर्काउने कोसिस गरौं। आउने पुस्तालाई हाम्रो मौलिकता र परम्परा जोगाउन लागौं । यो केवल एक पेय पदार्थको पुनरागमन मात्र होइन, यो हाम्रो स्वस्थ परम्परा र संस्कृतिप्रतिको उच्च सम्मान सहितको पुनर्जागरण पनि हो। आशा गरौं, ठेकीको यो अमृतले अब हरेक नेपालीको भान्सामा आफ्नो गुमेको स्थान फेरि प्राप्त गर्नेछ। नेपाल डेरी एसोसिएसनले आगामी दिनमा पनि यस्ता मौलिकता जोगाउँदै अन्य दुग्ध पदार्थ समेत बजारमा ल्याई आम उपभोक्तालाई सन्तुष्टि दिने प्रयास गरिनै रहने छ । –प्रल्हाद दाहाल