विदुर सापकोटा बाल्यकालदेखि नै शसक्तरुपमा लाग्दै आएको एक कर्मठ र कर्मयोगी युवाको नाम हो । उनको जन्म वि.सं. २०२२ साल भाद्र ३० गते तत्कालिन महादेवस्थान गाउँपञ्चायतको नौबिसे अर्थात महादेवस्थान गाउँ विकास ससमति वडा नं. ७ र हालको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नौविसेमा भएको हो । प्रारम्भमा केहि समय शिक्षण कार्य समेत गरेका उनी इन्द्रावती गाउँपालिकाको बडहरेको चण्डेश्वरी मा.वि. र तत्कालिन नयागाउँ गा.वि.स.को वडा नं. ३ सिंगेस्थित देउपुर प्रा.वि.को शिक्षक समेत रहेको इतिहास छ । पञ्चायती व्यवस्थाको चरम क्रूरताको समयमा कम्यूनिष्ट पार्टी राजनीतिमा होमिएका उनको वि.सं. २०५२ सालमा डा. भारती भेटवालसंग विवाह हुन पुगेको हो । हाल उनको एकमात्र सन्तानको रुपमा छोरी विभु सापकोटा रहेकिछन् ।
शिक्षण पेशामा पञ्चायती ब्यवस्थाको गुलामी गर्नुपर्ने अवस्थाको सृजना हुन थाल्यो । निडर स्वभावका एक युवालाई त्यस कुरा चित्त बुझ्ने कुरै भएन । त्यसैले उनि जागिर छोडेर होलटाइमर कार्यकर्ताको रुपमा कम्यूनिष्ट राजनीतिमा होमिन पुगे । कम्यूनिष्ट आन्दोलनमा र खास गरी तत्कालिन माक्सवादी लेनिनवादी र नेकपा एमालेमा उनको इतिहास लामो मात्र छैन उनको कद वर्णन गर्न नसकिने खालको उचो रहेको छ । त्यो मैले भनेको नभई उनको स्वर्गारोहण हुँदा अस्पताल, शबयात्रा र पशुपति आर्यघाटमा उपस्थित मलामीको लर्कोले बताउँथ्यो ।
वि.सं. २०४३÷०४४ साल तिरको कुरा हो । विदुर सापकोटा देउपुर प्रा.वि. सिंगेमा कार्यरत थिए । पञ्चायती व्यवस्थाका शासकहरुले उनलाई एउटा कागजमा हस्ताक्षर गरेर निरन्तर जागिर खान दबाब दिन थाले । उनले त्यो कुरा स्वीकार्न सकेनन् र तत्कालिन सहयात्री शिक्षकहरु रामप्रसाद अधिकारी र रामहरी नेपाल सरको अनुरोधलाई समेत अस्वीकार गरी पूर्णकालिन राजनीतिमा लागेको सहयात्री रामहरी नेपाल बताउँछन् ।
समय बित्दै गयो । पञ्चायती व्यवस्थाको विरुद्धमा विभिन्न खालका अभियानहरु चल्न थाले । त्यसै क्रमम उनी वि.सं. २०३५ सालको आन्दोलनबाट विद्यार्थी आन्दोलनमा सक्रिय हुन थाले । वि.सं. २०३९ सालमा तत्कालिन नेकपा मालेमा आवद्ध भएका उनी २०३६ सालमै अनेरास्वयियू काभ्रेको सदस्य निर्वाचित भैसकेका थिए । पछि २०३८ सालमा अनेरास्ववियू काभ्रे जिल्ला कमिटीको उपाध्यक्ष र वि.सं. २०३९ सालमा अनेरास्ववियू काठमाडौंको सचिव निर्वाचित भएका थिए । २०४१ सालमा अनेरास्ववियू आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य बनेपछि उनको रानितिक इतिहासले फड्को मारेर केन्द्रिय कमिटीतर्फ उन्मुख बनेको थियो । वि.सं. २०४३ सालसम्म राजनीतिको अलावा मानव अधिकार संरक्षण मञ्चमा अवद्ध हुँदै २०४३ सालमै काभ्रे जिल्लाको तत्कालिन १ नं. पार्टी कमिटीको सदस्य बनेका थिए । २०४५ सालमा तत्कालिन माक्सवादी लेनिनवादी जिल्ला कमिटीको सदस्य बनेका उनी २०५१ सालदेखि २०६४ सालसम्म नेकपा एमाले काभ्रे जिल्ला कमिटीको सचिवको जिम्मेवारी कुशलतापूर्वक बहन गरेको इतिहास छ ।
तपाईं हामी सबैलाई थाहा भएको विषय हो । उनले नेकपा एमाले काभ्रेको सचिवको नेतृत्व प्रदान गरिरहेको समय नेकपा एमाले केन्द्रमा महासचिव र जिल्लामा सचिवीय प्रणालीमा रहेको थियो । त्यति मात्र नभएर उनले काभ्रेको पार्टी नेतृत्व गरिरहेको समयम नेपालको इतिहासमा एकदमै डरलाग्दो अवस्थाबाट अगाडी वढिरहेको थियो । एकातिर भर्खरै ढलेको पञ्चायती व्यवस्था माथी उठ्न कठिन भइरहेको सन्दर्भ र अर्कोतर्फ ९ सिटे राजनीतिबाट भागेर शसस्त्र युद्ध चलाइरहेको नेकपा माओवादी राजनीतिलाई चिर्दै नेकपा एमलेको नेतृत्व गर्ने कुरा ऐलेकोजस्तो समान्य थिएन । त्यतिबेला एलेको जस्तो न गुट न त झुण्ड नै बोकेर पुग्थ्यो । उनी आपूmले राजनितिक नेतृत्व प्रदान गरिरहँदा एउटा मजाकै राजनितिक अवस्था कयम गर्न सफल भएका थिए । उनको पालामा कहिल्यै आसेपासे र गुटगत राजनीति चलेन । सबैलाई समेटेर लान सकनु उनको जन्मसिद्ध स्वभावजस्तै थियो ।

दोस्रो मदन भण्डारी र काभ्रेको मदन भण्डारीको उपमाले समेत चिनिने उनी सफल, सक्षम र निश्कलंक राजनीतिबाट अघि वढिरहेकोले उनको राजनीतिक यात्रा यतिमा सिमित छैन । वि.सं. २०६४ सालदेखि २०७८ सलसम्म नेकपा एमालेको बागमती अञ्चल कमिटीको सदस्यमा रहेर पार्टी काम गरेका थिए । नेकपा एमालेको तर्फबाट काभ्रे क्षेत्र नं. ४ बाट ३ पटक चुनाव लडेका उनी वि.सं. २०७० को संविधान सभा सदस्य हुन् । लामो समयसम्म संसदस्य राजनीतिमा बामपन्थी नेता गोबिन्दनाथलाई बोकेर पार्टी नेतृत्व गरिरहेका उनी काभ्रेको कम्यूनिष्ट आन्दोलनको एक प्रभावकारी अभियान्ता नै थिए ।
एलेजस्तो लाग्छ, हामीहरु सानो हुँदै गोबिन्दनाथ उप्रेतीले म धेरै बोल्दिन विदुरजी बोल्नुहुन्छ पार्टी राजनीतिको बारेमा भन्ने गरेको । लामो समय काभ्रेको नेतृत्व गरेसंगै काभ्रेलाई बामपन्थीहरुको जिल्ला, कम्यूनिष्टहरुको लालकिल्ला बनाएको उनले निकै लामो प्रतिक्षा पछि तेस्रो पटकमा दोस्रो संविधान सभाको निर्वाचन जित्न सफल भएका थिए । सायद सन्दर्भपनि मिल्नु पर्ने भएर होला उनले जितेकै पटक मुलुकले संविधान पाउन सफल भयो ।
तत्कालिन समयमा संविधान सभा सदस्यको हैसियतले उहाँले देश जनताको लागि राख्नु भएको आफ्नो धारणा आजपनि कालजयी बनिरहेको छ । उहाँको अनुसार “तत्कालिन समयमा प्रमुख राजनीतिक दलहरु एमाले, कांग्रेस र एमाओवादीको अडानले संविधान नआएकै हो । अहिले सबै दल खुकुलो भएर प्रस्तुत हुँदा संविधान ल्याउन सहज भयो । संविधान भनेको शक्ति सन्तुलनले आउने राजनीतिक दस्तावेज हो । कम्तिमा जारी भयो भने आन्दोलनका उपलब्धी संस्थागत गर्न सकिन्छ । अहिले सम्झौताको दस्तावेज हुन्छ । संविधान अपरिवर्तनिय भन्ने हुँदैन । अभिमत लिएर संशोधन गर्न सकिन्छ । सबैको विचार समेटेर सम्झौताको रुपमा आउँछ । संविधान निर्माण प्रक्रियामा असहमत रहेका केही मधेसवादी शक्ति र राप्रपा नेपाल लगायतका धार्मिक एजेन्डा बोकेका शक्तिसँग अब समझदारीको प्रक्रिया कसरी अगाडि बढ्छ ? केही मधेसवादी शक्ति र राप्रपा नेपाललगायतका धार्मिक एजेन्डा बोकेका शक्तिसँग परिवर्तनका एजेन्डामा तलमाथि भएको भए समझदारी हुन्छ । तर, त्यसो भन्दैमा राष्ट्रिय एकता, अखण्डता र आपसी सद्भाव बिथोल्ने प्रयत्न सफल बनाउन भने सम्झौता गर्नु हुँदैन । उनीहरु पनि त जनताको अभिमतबाटै आएका हुन् ।
संविधानसभामा आएका सबै शक्तिहरु जनताको अभिमतबाटै आएका हुन् । तर, कुनै कारणले जनताले मत दिए भन्दैमा वर्षों एउटै विषयमा बखेडा गर्नुपनि हुँदैन । जुन प्रयत्न अहिले भइरहेको छ । त्यसो भनेर चार दललेमात्रै संविधान बनाउन मिल्दैन । परिवर्तनमा सहमत भएका शक्तिको समझदारीलाई मात्र चारदलको प्रमुख मान्नु हुन्न । चार दल सहमतिको आधारमा एक ठाउँमा उभिएका हुन्, उनीहरुले परिवर्तनको एजेन्डा बोकेका छन् । त्यसैले परिवर्तन विरोधीका हर्कतलाई के गर्ने भनेर समय खेर फाल्नु हुँदैन । धेरै सुझाव आएको हिन्दू धर्म राष्ट्र बनाउने मागमा पनि कुनै सुनुवाइ नहुने भयो हैन । गर्भबाट निस्केको बच्चालाई गर्भमै पठाउन सकिँदैन । राज्य धर्मको आधारमा बन्दैन र चल्दैनपनि । राज्यभित्र धर्म मान्ने जनताहरु बराबर हुन्छन् । राज्यले धर्म मान्दैन । तर धार्मिक स्वतन्त्रता हुन्छ । गौतम बुद्ध जन्मेको देश बुद्धिस्ट धर्मको देश किन भएन भनेर सोधे के भन्ने ? धेर र थोरको कुरा गर्ने हो भने संसारका सबैभन्दा बढीले बुद्ध धर्म मान्छन् । बुद्ध धर्म चाँही हाम्रो देशको उद्गमस्थल होइनर ?
सामन्ती राजतन्त्र रहेको अवस्थामा शाहीवंशले मात्रै हिन्दू धर्मराष्ट्र भनेको हो । प्रदेशको सिमांकन र नामांकनमा पनि बढी जिज्ञासा र सुझाव आएका छन् । अब कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भ सबैभन्दा वढी महत्वपूर्ण छ । धेरैले उत्तर दक्षिणको सिमांकन सहितको प्रदेशको कुरा जोडिरहेका छन् । त्यतातिर मात्र ध्यान दिने हो भने त्यसलाई महेन्द्र पथ भनिन्छ । त्यो त खासमा एउटा सामान्य सोचइको कुरा मात्र हो र कतिपयको सोचाइमात्र । नेपालको परिचय हिमाल, पहाड र तराई नै हो । हिमाल, पहाड वा तराईलाई निकाले नेपाल हुँदैन । चीन र भारतमध्ये एउटाको मात्र डोमिनेसन अन्त्य गर्न, दुवै देशबाट विकासमा सहयोग जुटाउन र राष्ट्रिय एकतामाथि ठाडो हस्तक्षेप हुन नदिन उत्तर दक्षिण सिमांकन एक हिसाबले उचित सुझाव हो । जनताको सुझावलाई कसरी सम्बोधन गर्ने र जनताको सुझावलाई एकीकृत गरेर एउटा निष्कर्ष निकाल्ने कुरा सबैभन्दा महत्वपूर्ण छ ।” सुझावहरु खेर जाने छैनन् । संविधान सम्झौताको दस्तावेज भएकाले कसैका समेटिन सक्छन् । कसैका नसमेटिन सक्छन् । तर, चित्त नबुझे आगामी संसदमा दुई तिहाई मत दिएर संशोधन गर्न सकिन्छ ।”
यसरी नियाल्दा विदुर सापकोटाको निष्ठाको राजनीतिको जति नैे चर्चा गरेपनि पुग्दैन । उनि आस्थाका धरोहर, बामपन्थी नेतामात्र नभएर प्रतिपक्षहरुसंग पनि राम्रो सम्वन्ध राखेर अगाडी वढ्न सक्ने क्षमता बोकेका नेता थिए । पछि एमाले र माओवादी केन्द्र मिलेर नेकपाको गठन हुन पुग्यो । दुई दलहरु मिलेर बनेको नेकपा लामो समय टिक्न सकेन । गुटहरु तलबाट नभई माथीबाटै बन्ने सन्दर्भकोे फलस्वरुप दुई जुटेर बनेको पार्टी फुटेर तीन टुक्रा हुन पुग्यो । त्यतिबेला विदुर सापकोटा माधव नेपालले बिद्रोह गरेको पार्टीमा समावेश हुन पुगे । पछिल्लो समय विदुर सापकोटा छिट्टै एमालेमा आउनेरेको हल्ला चलिरहँदै उनको अकल्पनीय निधन हुन पुग्यो । यसमा सिंगो काभ्रे र सिंगो कम्यूनिष्ट आन्दोलन दुःखी बन्न पुगेको छ ।
यसै सन्दर्भम फागुन २० गते बनेपामा र २१ गते गृह नगर कुन्तावेसीमा २ ओटा छुट्टाछुट्टै शोक सभा र श्रद्धाञ्जली अर्पणका कार्यक्रमहरु हुन पुगे । दुबै सभाले स्व. विदुर सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवार एवं आफन्तजनमा गहिरो समवेदना प्रकट ग¥यो । त्यत्तिले मात्र स्व. विदर सापकोटाप्रति सच्चा श्रद्धाञ्जली हुन सकदैन । त्यसको लागि उनले जीवनभरी नेतृत्व गरेर हुर्काएको पार्टी नेकपा एमाले बलियो बन्न सक्नु पर्दछ । कम्यूनिष्टहरुको टुटफुटबाट नभई एकताबाटमात्र विदुर सापकोटाको सपना पूरा हुन सक्छ । हार्दिक श्रद्धाञ्जली विदुर दाई, भाउनु भारती भेटवाल, वैनी विभु सापकोटा, दाजु अच्युत सापकोटा र दिदी सुनिता सहितको परिवार एवं आफन्तजनमा गहिरो समवेदना !








