बनेपा, आज गुरुङ समुदायले बिशेष महत्वका साथ ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न पुष १५ मा तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने गरिन्छ । गुरुङहरूले विगत २६०० वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको दाबी गरेका छन । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ । पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हँुदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन् ।
नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हँुदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात् प्रकृतिपूजक थिए । त्यतिबेलैदेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ । फरक–फरक समुदायले मनाउने ल्होसारको नाम पनि फरक–फरक छन् । गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन् । तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार भव्य रूपमा मनाउँछन् । तर, उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ । गुरुङले पुसमा, तामाङले माघमा र शेर्पाले फागुनमा मनाउँछन् ।
ल्होसार पर्वलाई कृषि र पशुपालनसँग जोडेर हेर्ने हो भने यसको निकै महत्व छ । पहिले–पहिले गुरुङहरू वनमा सिकार खेल्थे । प्राकृतिक स्रोतमा आफ्नो जीविका निर्वाह गर्थे। बिस्तारै खेतीपातीसँगै पशुपालन तथा अन्य व्यवसाय सुरु भयो। मानिस वर्षभरि काममा व्यस्त हुने र कृषि याममा समय नहुने हँुदा हिउँदको फुर्सदमा दाजुभाइ, छोरीचेली, इष्टमित्र, छरछिमेकी, साथीभाइ सबै एकै ठाउँमा भेला भएर खाने, बस्ने र रमाइलो गर्न थालेपछि यो पर्वले व्यापकता पाउन थालेको हो ।
यस पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दुःख–सुखका कुरा एक–अर्कामा बाँड्छन् । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुसबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
यो पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन । बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता (पितृपूजा) गरिन्छ । मिष्ठान्न भोजन बनाएर पितृलाई चढाइन्छ । घर सरसफाइदेखि ध्वजा फेर्ने काम हुन्छ । यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ । दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ ।
यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रूपमा लिइएको छ । सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति भल्काएजस्तै, यस पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषवूशा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ । पहिले यो पर्व परिवार र समुदायमा मात्र सीमित थियो । ग्रामीण समाजका गुरुङ परिवार र समुदायमा सीमित यो पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय बनेको छ । यसलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन् । गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित यसलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रूपमा मनाउने अभ्यास सुरु भइसकेको छ ।
मुख्यतया ल्होसारको वास्तविक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा हुनेछन । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।








