राष्ट्रिय झण्डा अर्थात “राष्ट्रध्वज”, देशको पहिचान, देशको सर्वोच्चता, अन्तरराष्ट्रिय परिचय, अझै भनौ देशको सर्वोच्च पहिचान हो । विश्वका सवै राष्ट्रहको राष्ट्रध्वज हुन्छ । हरेक देशको आफ्नो इतिहास,पहिचान र सार्भभौमसत्तामा आधारित रहेर राष्ट्रिय झण्डा प्रयोग गरिएको हुन्छ । पहिलो विश्वयुद्ध,दोस्रो विश्वयुद्ध लगाएतका युुद्धमा पनि संसारका कैयाँै मुलकहरु ठुला बलशाली साम्राज्यको अधिनस्थ भए चाहे युरोप होस् या अमेरिका या अफ्रीका सहित एसियाका प्राय ः देश शक्तिशाली साम्राज्यको अधिनमा रहेको इतिहास छ । नेपालका छिमेकी मुलुक भारत तथा चिन पनि व्रिटिस शासकको अधिनमा कयौँ बर्ष रहे जसका कारण त्यस देशका पहिचान र सार्वभौमसत्ता समाप्त हुन गयो र त्यहाँका मौलिकता,धर्म संस्कृति,चाडपर्व,इतिहास समेत नष्ट भएको इतिहासमा पढ्न तथा सुन्न पाईन्छ। नेपालका छिमेकी मुलुक भारत तथा चिन समेत अंग्रेजको शासनको प्रभावमा आज पनि ईस्वी सम्वत्को प्रयोग गर्दछन भने विक्रमादित्य सम्वत्को प्रयोग गर्दैनन्। यसबाट के प्रष्ट हुुन्छ भने शक्तिशाली देशको जहाँ जहाँ प्रभाव र झण्डा गाडीँयो त्यहाँ त्यहाँका इतिहास नष्ट भएको पाईन्छ ।
विश्वमा नगन्य संख्यामा अन्य देशको झण्डा नफरफराएका स्वतन्त्र मुलुक छन त्यसमध्ये नेपाल एक त्यस्तो देश थियो जसलाई कसैको गिद्धे नजरको शिकार हुनु परेन अझै भन्ने हो भने केहि अंग्रेजहरु संगको युद्धमा पनि नेपालले हार ब्योहोर्न परेन त्यसैका कारण नेपालको राष्ट्रध्जवलाई कसैले च्यात्न वा अधिनमा राख्न सकेन। व्रिटिस शासकहरुसंग नेपालका शासकहरुको सुमधुर सम्वन्ध रहनु पनि नेपाल स्वतन्त्र र अपराजित राष्ट्र रहनुको एक कारण यो पनि हुनसक्छ। कुनैपनि युद्धमा पराजित नहुनाले आजसम्म पनि हामी नेपाली हाम्रो विरताको गाथाले छाति चौडा पार्दछौ । यसै विरताको प्रतिविम्व चन्द्रसूर्य अंकित हाम्रो राष्ट्रध्वज हो ।
राष्ट्रिय झण्डाको सुरुवाती अवस्था या भनौ सुरुवात कर्ता को हुन,कुन राजा हुन या कुन बंश या कुन कालमा भयो भन्ने लिखित दस्तावेज, ताम्रपत्र,शिलापत्र या कुनै स्पष्ट अभिलेख आजसम्म पनि पाईएको छैन। विभिन्न धर्मशास्त्रमा नेपालको झण्डा चन्द्रसूर्यको विश्लेषण र महत्वका बारेमा दर्शाइएको भएता पनि यसको वास्तविक सत्य यहि नै हो भन्ने सत्यता भने मैले मेरो खोज अनुसन्धानमा प्राप्त गर्न सकेको छैन । नेपाल राज्यको उत्पत्ति या यहाँको शासनकाल र राज्यसत्ताको सुरुवात संगै यहाँ राजा, रजौटाहरुले नै राष्ट्रध्जको सुरुवात गरेको हुनसक्ने आकलन गर्न सकिन्छ। आफ्नो जमित र आप्mनो क्षेत्रको पहिचान र रक्षार्थ झण्डाको प्रयोग भएको हुनुपर्छ त्यसै अनुरुप आज पनि कुनै पनि राष्ट्रको पहिचान झण्डामा गएर ठोकिन्छ । ईशापूर्वमा गोपालबंश, महिषपालबंश, किराँतबंश,लिच्छिवीबंश, मल्लबंश तत्पश्चात शाहबंशका राजाहरु एकै झण्डामुनी राज्य गर्दथे या हरेक बंशमा छुट्टै झण्डाको प्रयोग गरिन्थ्यो त्यो भने यसै हो भन्न सम्भव छैन तर एकै थियो होला भन्ने आँकलन मात्र गर्न सकिन्छ । हरेक पर्व, प्रथा या दिवसको स्थापना भएझै झण्डाको स्थापना वा संस्थापक यिनै हुन भन्ने पुष्ट सबुत प्रमाण अझैपनि प्राप्त छैन । कतै चन्द्रबंशी त कतै सूर्यबंशीको बेलामा चन्द्र र सूर्यको प्रयोग भएको भन्ने कथन पनि छ । तथापी आजको बैज्ञानिक समयमा विश्लेषण गर्ने हो भने चन्द्रसूर्य अंकित पाँचकुने रातो झण्डा विश्वको पृथक आकृति भएको झण्डा नेपालको भएको हुनाले यसको छुट्टै मनोविश्लेषण गर्न सकिन्छ । बैदिक सनातन धर्ममा पाँच तत्व (पृथ्वी, जल, तेज, आकास, वायु) ले यो ब्रम्हाण्ड बनेको छ । पञ्चमहाभुतले नै जिवात्माको सृष्टि हुन्छ जसमा पञ्चप्राण,पञ्च ज्ञानेन्द्रिय,पञ्च कर्मेन्द्रिय आदिलाई आधार मानिन्छ त्यसैले झण्डाका पाँचकोण राखिनु यिनै पंचतत्वलाई विम्वित गरेको हुनसक्ने अनुमान लगाउन सकिन्छ । हरेक कोणले एक तत्वलाई प्रतिविम्वत गराउँदछ । झण्डामा भएका चन्द्रसूर्यले सृष्टिको मुल कारण अर्थात दिवा र रात्रीलाई जनाउदछ । नेपालको चन्द्रमालाई हेर्ने हो भने खुर्पेटो आकारको अर्धचन्द्रमा र पूर्ण सूर्याकृति,रातो ध्वजा(पृष्टभूमी),दुई त्रिकोणात्मक पञ्चकोण, निलो किनारा, आदिको समिश्रण हेर्दा नेपालको झण्डा ज्योतिषिय मापदण्डको अझै भनौ ज्योतिषिय पद्धतिको झण्डा हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । ज्योतिष दर्शनमा चन्द्रमाको ६० विकला, १६ कला,३० अंश,१ राशी बन्छ । जसबाट नक्षत्र र नक्षत्रबाट जातकको नामाकरण गरिन्छ । चन्द्रमाको १६ कलामध्ये ८ कोणलाई अर्धचन्द्रमाको रुपमा प्रयोग गरिएको हुनाले एक महिनामा चन्द्रमा शुक्ल पक्ष र चन्द्रपक्षको रुपमा रहने हुनाले आधा कोण(कला) अर्थात ८ कोण प्रयोग भएको पनि हुनसक्छ ।


तलको अर्को त्रिकोणमा रहेको सुर्यमा १२ कोण छन जसको अर्थ १२ राशी, १२ महिना र सूर्यको १२ कलाको प्रतिनिधित्व गर्दछ । चन्द्रमाबाट जातकको नामाकरण भएपश्चात राशी बन्दछ र राशी १२ भएकाले सूर्य हरेक महिना १ राशीमा रहने र हरेक महिना राशी संगै महिना परिवर्तन गर्दछ । जव १२ राशी परिक्रमा गर्दछ तव सूर्यको गणितिय मापन अनुसार सम्वत्सर अर्थात बर्ष परिवर्तन गर्दछ । त्यसकारण पनि नेपालको झण्डाको चन्द्रसूर्यको कोणको अवस्थालाई अध्ययन गर्दा पनि नेपालको झण्डा वैदिक, ज्योतिषिय विज्ञान अनुसार तयार पारिएको अवस्था देखिन्छ । नेपालको राष्ट्रध्वजमा रातो पृष्टभूमी छ, केहि विद्वानहरुको मत रातो विजय, उर्जा र शक्तिको प्रतिक हो र केहिले हिन्दु राजाहरु देवि भगवतीका उपासक थिए तथा देविलाई पुजा गरेर आफ्ना हातहतियारहरु बली समेत दिने गरेको हुनाँले देविभक्त हिन्दु राजाहरुले देवीको मनपर्ने रंग कुमकुम(सिन्दुर) जस्तै आफ्नो राष्ट्रध्वज प्रयोग गरेको पनि धारण छ । नेपालको राष्ट्रिय झण्डाको किनारा निलो राखिनु चै निलो आकास, निलो सागर दुवैको प्रतिक मानिन्छ । चन्द्रमाले आकाश झै फराकिलो र सागर झै शितल रहनु भन्ने सन्देश दिन्छ । साथै चन्द्रसूर्य यसै आकाशका विच रहेकाले पनि किनारा निलो राखीएको अनुमान लगाउन सकिन्छ । निलो रंग भातृत्व र एकताको प्रतिक मानिन्छ यसबाट नेपालीहरु चन्द्रसूर्य रहुन्जेल एक रहने,भातृत्व रहने, प्रेम रहनेछ भन्ने पनि विश्लेषण गर्न सकिन्छ ।
राष्ट्रध्वजको निलो किनाराले निलो आकास, निलो पानीको प्रतिनिधित्व गर्दछ । अनन्त आकास, अनन्त जल रहेसम्म नेपालको झण्डा रहने विश्वास यहाँबाट लिन सकिन्छ। रक्त रंग विजयको प्रतिक हो । देवीको उपासना र देवीको पुुजाआजामा आज पनि रातो रंगको प्रयोग गरिने हुनाले झण्डा पनि दैविक शक्ति जागृत गर्दै बैरी संग युद्ध जित्नका लागि राजा तथा सेनाहरुले प्रयोग गरेकाले यसलाई श्रीध्वज पनि मानिन्छ । चन्द्रमा शितलता र करुणा तथा मनको कारक हो भने सूर्य विरता,बुद्धि तथा ज्ञानको कारक हो। जव सूर्यभित्रको रौद्र रुप जव चन्द्रमाको करुणासंग मेल खान्छ तव ज्ञान र विबेक अनि धैर्यता संग युति हुन्छ अर्थात विजय स्वरुपमा परिणत हुन्छ भनेर बरिष्ठ ईन्जिनियर शंकरनाथ रिमालको बुझाई छ ।
यति पुरातन इतिहास बोकेको नेपालको झण्डा राजाको वा राज्यको प्रतिनिधित्व गर्दथ्यो। राजा तिर्थाटन वा भ्रमण गर्दा वा युद्धका समयमा यसको प्रयोग गरिन्थ्यो। पहिले २२–२४ सै राज्य हुँदा यसै चन्द्रसुर्य अंकित झण्डा प्रयोग गरिन्थ्यो भन्ने अनुमान मात्र लगाउँन सकिन्छ। हाल नेपालको झण्डा पाँचकोणे,८ चन्द्रकोण,१२ सूर्यकोण,४ः३ को अनन्त अनुपात, ४५ डिग्रीको कोण, रक्तवर्ण पृष्टभूमी,स्वेतवर्ण चन्द्रसुर्य निलवर्ण किनाराले सुशोभित अदितिय स्वरुपमा फरफराईएको छ ।
विश्लेषण ः २
नेपालको झण्डाको इतिहासलाई विभिन्न इतिहासकार,विद्वानहरुले अनेकौ मत दिएका छन। नेपाली झण्डालाई यदि उध्र्वभागमा स्वरुप परिवर्तन गर्ने हो भने हिमालको स्वरुपमा देख्न सकिन्छ । चन्द्रमाको चुचुरो सूर्यको चुचुरोभन्दा केहि लामो हुन्छ। त्यसैले चन्द्रमाको भागलाई विश्वशिखर सगरमाथाको रुपमा मनन गर्न सकिन्छ भने सूर्यलाई गौरिशंकर हिमाल अर्थात नेपालको सूर्योदय मापन गर्ने हिमालको रुपमा पनि मान्न सकिन्छ । यसैपनि नेपाललाई हिमालयको देश भनिन्छ किनकि विश्वका १० अग्ला हिमालहरुमध्ये ८ हिमाल नेपाल मा नै पर्छन । त्यसैले यस झण्डालाई हिमालय ध्वजा भन्दा पनि फरक नपर्ला। देशको विजय,प्रगती,देशको विकास,सिमानामा झण्डाको प्रयोग हुन्छ। जव नेपालले पूर्वमा टिस्टा तथा पश्चिममा अल्मोडा सम्म विजय प्राप्ती ग¥यो तव त्यस सिमानामा राष्ट्रध्वजा गाड्यो । पछि विभिन्न युद्ध,सम्झौतामा नेपालका भुभागहरु खुम्च्याउनु परेको थियो ।
नेपालको हाल रहेको राष्ट्रिय झण्डा सन् १९६२ डिसेम्वर १६ अर्थात विक्रम संवत् २०१९ साल पौष १ गतेका दिन संयुक्त राष्ट्रसंघमा अंगिकार भयो तत्पश्चात संसारभर नेपालको राष्ट्रिय झण्डाले अन्तरराष्ट्रिय पहिचान सहितको मान्यता पायो। तसर्थ नेपालको राष्ट्रिय झण्डाको गर्विलो इतिहास आजको दिनमा ६२ वर्ष पुरा गरि ६३ वर्षमा प्रवेश गरेको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यको पहलमा नेपालमा जनस्तरबाट राष्ट्रिय झण्डा दिवसको स्थापना विसं. २०७५ साल पौष १ गतेका दिनबाट औपचारिक रुपमा स्थापना भयो र हाल अभियान ७ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७० साल पौष १७ गते अन्तर्राष्ट्रिय नयाँ वर्षको दिन पारेर संसारभरि छरिएर रहेको नेपालीहरुलाई नेपाली पोशाकको महत्व र पहिचान जागृत गर्ने तथा नेपालका सरकारी कामकाज सहित औपचारिक सभा,सम्मेलन तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा अनिवार्य दौरासुरुवाल, टोपी, गुन्युचोली(साडीचोली) पहिरन लगाउने उदेश्य स्वरुप स्थापना भएको राष्ट्रिय पोशाक दिवस हाल १२ वर्षमा प्रवेश गरेको छ ।
नेपालको मौलिकता, कला, संस्कृतिको रक्षार्थ जनस्तरबाट मनाईने यस्ता महत्वपूर्ण कार्यक्रमहरुले पक्कै पनि संसारभरि छरिएर रहेका नेपाली तथा नेपाली मुलका नागरिकहरुलाई राष्ट्र,राष्ट्रियता तथा पहिचान जिवन्त राख्न प्रेरणा प्रदान गर्नेछ भन्ने पूर्ण विश्वास लिएका छौ ।