समय धेरै छिटो छिटो दौडिन्छ । त्यसै गरि मानिसको जिवन, उसको स्वभाव, बानी व्यवहार सबै घडीको सुईभन्दा पनि चाँडो बदलिने गर्छ। यो समाजमा कहाँ के भएको छ केहि पत्ता नै हुँदैन । हिजोका गरिब मानिसहरु आज धनाड्य भएर निस्कन्छन् भने कयौं धनी मानिसहरु रातारात सबै सक्काएर कंगाल पनि भएको देखिन्छ। जहाँ जे नै भए पनि हामीले कहिल्यै हार मान्नु हुन्न । अनि कसैसँग आश पनि गर्नु हुन्न। यो कली युग हो। यहाँ “पेटमा राम राम बगलीमा छुरा ”भन्ने उखानसँग मिल्ने धेरै मान्छे छन् । बाहिर एउटा वास्तविकता अर्कै अनि भन्ने एउटा गर्ने अर्कै भएका धेरै छन् । यस्ताहरुसँग अलि सजक हुन जरुरी छ । आफ्ना नजिकका भनेका पनि अफ्ट्यारो परेको बेला साथमा नहुन सक्छन् भन्ने कुरा बुझ्न जरुरी छ । हामीले यस्ता ब्यक्ति विशेष ख्याल गरि अगाडि बढ्नुपर्ने हुन्छ । अहिले यो समय शत्रुताको छुरा बोकेर मुखमा मित्रताको रामराम जप्ने युग हो । त्यसैले हामीले ख्याल गर्दै अगाडि बढ्नु पर्छ । कतै हामीले आफ्नै सम्झेको मित्रतामा पनि खोट छ की ? आफ्नै नजिकको मित्र पो दुश्मन छ की ? यस्ता कुरा गहिरिएर ख्याल गर्नु पर्छ । यहाँ विश्वास त कसैको गर्दै नगर्नु भन्न त मिल्दैन तर फसाउन सक्छन् ,होस गर्दै अगाडि बढ्नु पर्छ। जिन्दगी कहिले फूल कहिले काँडा जस्तै हो । यहाँ राम्रो नराम्रो के के हुने हो त्यो समय आएपछि मात्र थाहा हुने हुँदा पनि जिवन बिना लक्ष्य एक अन्धकार अँध्यारोमा हिंडे जस्तै हो । हामी हरेक कुराको बिना जानकारी प्रतिक्षा मात्र गर्दै बस्नु परेको छ । तर अवश्य पनि मडारिएको कालो बादलभित्र पनि उज्यालो सूर्य र चन्द्रमा छ भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । एकदिन सूर्यको न्यानो उज्यालो किरणले हामीलाई चुम्नेछ । त्यसैले आज रात परे पनि भोलि उज्यालो हुन्छ भन्ने कुरामा आत्म साथ गर्दै काम गर्दै अगाडि बढ्नु् पर्छ । सकारात्मक काम गर्दै अगाडि बढ्दै गएपछि पक्कै पनि सकारात्मक नतिजा आउने नै छ । सधैं सबैको भलो हुने काम गरौं। कहिल्यै कसैलाई दुःख नदिऔं यसमै हामी सबैको भलो हुने निश्चित छ । हामीले सधैं मनमा आएका कुराहरु खुलेर बोल्न सिक्नु पर्छ। यसले फाइदै हुन्छ । हाम्रो सोचाइ सधैं सकारात्मक बन्छ ।
सधैं राम्रो काम गरेपछि कहिल्यै कसैको डर, त्रास र नकारात्मक सोच नै आउँदैन । कसैको आश नगर्ने र नराम्रो कुरा नगर्ने भएपछि कहिल्यै अफ्ट्यारो पनि खासै पर्दै । कुनै काम गर्दा सफलता नमिल्दा पनि निरन्तर प्रयत्न गरिरहनु पर्छ एक दिन पक्कै पनि सफलता मिल्ने नै छ । सफलताको आस्मान चुम्न कसैले रोक्न सक्दैन । एउटा कथन छ नी– ‘ सबै स्वर्गवासी हुन चाहन्छन् तर मरण कोही चाहँदैन’ । यसर्थ पनि परिश्रम, निरन्तरता र प्रयत्नले नै हामीलाई सफल बनाउने हो भन्ने कुरा सधैं बुझ्न आवश्यक छ । कठिनता आउनेछ, अनेकौँ दुःख पनि हुन सक्छ तर हामीले आफ्ना पाईलाहरु कहिल्यै पछाडी हटाउनु हुँदैन। जहाँ जति नै कठिन परे पनि नडग्मगाई कर्मयोगी बन्दै फलको आशा नगरी यो कृत्रिम दुनियाँभन्दा वास्तविक दुनियाँमा रमाउन सिक्नु पर्छ । झुट बिक्ने यो समाजमा सत्यको बिगुल छर्नु पर्छ । हामी जति नै टाढा भए पनि हामीले पहिलो परिवार नै हो भन्ने सोच्न कहिल्यै भुल्नु हुन्न। हामीबाट कसैले नजायज फाईदा उठाउन खोज्ने, माया जालको षड्यन्त्रमा फसाउन खोज्ने कुरामा जहिले पनि चनाखो हुन आवश्यक छ । आफ्नो मात्र स्वार्थ पूरा गर्न खोज्नेसँग कहिल्यै विश्वास गर्नु हुन्न । आफ्नो र परिवारको इज्जतलाई सधैं माथि राख्दै गिद्धे नजर लगाउन खोज्नेसँग जहिले पनि टाढा रहनुपर्छ ।
हामीलाई कहिलेकहिँ नकारात्मक सोँचाई आउँदा जहिले पनि सजक बन्दै आफ्ना अभिभावकलाई भन्न भुल्नु हुन्न । हाम्रा अभिभावक जहाँ जस्तो अवस्थामा पनि हाम्रा लागि प्रमुख हुन । त्यसकारण पहिलो जानकारी गराउन जरुरी छ । हामीलाई नकारात्मक सोच्ले आत्महत्या सम्मको सोँचाईमा धकेल्न सक्छ । घर न घाटको बनाउन सक्छन् । हामीले सधैं याद गर्नु पर्छ कि हामी एक्लै होइनौं । यो कुरा कदापी नभुल्नु हुन्न । हामी कसैकी छोरी, कसैको छोरा, कसैकी सहारा त कसैको जीवन जीउने प्राण हौं । त्यसकारण हामीले कहिल्यै आफ्नो लागि मात्र सोचेर कुनै पनि कदम चाल्नु हुन्न । जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आफैंलाई कमजोर ठान्नु हुन्न। यसो गर्दा सधैं आत्म सन्तुष्टि हुने र आमा बुबाको शिर कहिल्यै नझुक्ने हुन्छ । हामी सफल हुँदा र खुशी हुँदा हाम्रो कारणले परिवारमा कसैको आँशु झर्ने छैन । ईज्जत एउटा सेतो कपडा सरह हो त्यसैले इज्जतमा कहिल्यै दाग लाग्न दिनु हुन्न । सेतो कपडामा एक पटक दाग लागेपछि कहिल्यै नमेटिए झैं इज्जतमा पनि एकपटक दाग लागेपछि कहिल्यै मेटिंदैन । सानो दाग लाग्द पनि मेटाउन निकै कठिन हुन्छ । अनि जब हाम्रो चरित्र माथि प्रश्न उठ्छ तब हाम्रो नाम सदाको लागि नकारात्मक हुन थाल्छ । त्यसकारण जति नै अफ्ट्यारो परे पनि दुःख कठिन पाए पनि इज्जत चाँहि बचाईराख्नु पर्छ । होइन भने हामी मानब भएर यो समाजमा बाँच्नुको कुनै अर्थ हुँदैन । आफ्नो ईज्जतलाई आफैंले सदा उच्च राख्ने हो ।
एउटा किम्ती हिरालाई प्रकृतीले जमिनमुनी लुकाएर सुरक्षित राखेको हुन्छ । त्यसैले त हिराको महत्व उचाईमा छ र बहुमूल्य पनि छ । वास्तवमा सबै महत्वपूर्ण कुरा, किम्ती चिजहरु सजिलै कहाँ पाइदैन् । त्यो गुलाबको सुन्दरतालाई काँडाले सुरक्षित राख्दछ । त्यसैले हामी पनि त्यही चम्किलो हिरा हौं, सुन्दर गुलाब हौं । त्यति सजिलै हाम्रो इज्जत, धर्म, मानवता, सुन्दरतालाई अरुलाई चुम्न र डगाउन दिन हुन्न । खराब मार्गमा कहिल्यै हाम्रो पैतालालाई एक कदम पनि चाल्नु र कहिँ कसै माथी अपराध गरि अन्याय कहिल्यै गर्नु र सहनु हुन्न । अन्याय विरुद्ध सधैं आवाज उठाउनु पर्छ । यो कलिको युग हो । यहाँ कसैसंग सजिलै सम्बन्ध गास्नुँ हुन्न । आफ्ना मनका पीडालाई कहिल्यै कसैसँग नभनी आफैले सम्हाल्न सक्नुपर्छ । पीडाहरु मनमै लुकाई झुठो हाँसो भए पनि मुस्कुराउन सक्दा अरुले कहिल्यै हाम्रो कमजोरीमा खेल्ने मौका पाउँदैन । त्यसैले समाजको अगाडी आफ्नो पीडा कहिल्यै नदेखाउनु हुँदैन ।
जीवन एउटा सङ्घर्ष हो। जीवनमा हामीले आइपरेका हरेक किसिमका कठिनाइलाई सम्हाल्दै समाज परिवार र आफ्नो लागि सधैं सकारात्मक तरिकाले कसैलाई असर नहुने तवरले जीवन जिउन सक्दा मात्र यो धर्तीमा हामी जन्मिएर बाँचेको सार्थकता हुनेछ । होइन भने हामीले यो जीवन त्यागेर यो धर्तीलाई छोड्दा पनि हामीलाई नकारात्मक तरिकाले हेर्ने धेरै मान्छेहरु हुन सक्छन् । त्यसले हामीलाई हामी यो धर्ती छोडेर जाँदा पनि सधैं हाम्रो आत्मालाई पिरलिरहेको हुनेछ । त्यसकारण पनि हामी मानव भएर जन्मिएपछि हामीले सधैं असल र राम्रो काम गर्दै अगाडि बढ्नु पर्छ। आफूले जाने र हुनेसम्म कहिल्यै कसैलाई पनि अफ्ट्यारो हुने र असर पर्ने काम गर्नु हुन्न । युगम युगसम्म हामीले आफ्नो भौतिक शरीर त्यग्दा पनि हामीलाई अरुले सधैं सम्झिरहने खालको सकारात्मक छाप छोडेर जान सकियोस् भन्ने कुराको ख्याल गर्दै काम गरौं, अवश्य नै हामी सहि सार्थक जिवन जिउन सक्ने छौँ ।








