इलाको देउमाइ नगरपालिकामा नगरसभा सञ्चालनसम्बन्धी प्रशिक्षण र अभ्यास कार्यक्रम सम्पन्न भएको छ, जसमा विद्यालय , वडा र नगरपालिकाबाट छनोटमा परेका ४० जना विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमको आयोजना कानुनी अनुसन्धान समाज नेपाल, र परिवर्तनका लागि आवाजले संयुक्त रूपमा गरेका थिए।

नगरसभाको अवधारणा, नीति निर्माण प्रक्रिया, र स्थानीय तहमा जनसहभागिताको महत्त्वमा केन्द्रित प्रशिक्षणसँगै सहभागीहरूले नगरसभा सञ्चालनको व्यवहारिक अभ्यास पनि गरेका थिए। यस अभ्यासले विद्यार्थीहरूलाई नगरपालिकाको नीति निर्माण, बजेट व्यवस्थापन, र निर्णय प्रक्रियाको प्रत्यक्ष अनुभव प्रदान गर्यो।

ूयस्ता प्रशिक्षण र अभ्यासहरूले विद्यार्थीहरूलाई नीति निर्माण र स्थानीय शासन प्रक्रियाको व्यावहारिक अनुभव दिनुका साथै, भविष्यमा जिम्मेवार र सचेत नागरिक बन्ने आधार तयार गर्छ। स्थानीय तहको विकासमा युवाहरूको सक्रिय सहभागिता अत्यावश्यक छ, र कानुनी अनुसन्धान समाज नेपालले यस अभियानलाई निरन्तरता दिनेछूआयोजक संस्था कानुनी अनुसन्धान समाज नेपालका अध्यक्ष आयुष बडालले भने।

कार्यक्रमका प्रमुख अतिथि देउमाइ नगरपालिकाकी उपप्रमुख पवी माया राईले युवाहरूको सहभागिता र यस्ता अभ्यासहरूले स्थानीय तहमा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्।

यो कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरणा प्रदान गर्दै , स्थानीय तहको समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।