आजभोलि मानिसहरु खानाको स्वखिन देखिए पनि वास्तवमा अल्छि भएका छन् । पहिला–पहिला बाहिर खानुभन्दा जे जस्तो छ घरमै बनाएर खानुपर्छ भन्ने थियो भने आजभोलि सकेसम्म घरमा नबनाएर बाहिरै खाने बानी धेरैको छ । वास्तवमा यो राम्रो होइन । अहिले पछिल्लो समय नेपालभित्र शहर केन्द्रित बसाइँ, वैदेशिक रोजगारी, अध्ययन वा घुमघामका लागि विश्वभर जाने आउने वातावरण बनिरहेको छ । वैदेशिक रोजगार, घरमा सब परिवार केहि न केहि काममा अनि ब्यापार व्यवसाय गर्न थालेकाले आम मानिसमा क्रयशक्ति बढ्दै गएको छ । यसले खाद्य वस्तु आयात निर्यातमा तलमाथि गरिरहेको हुन्छ। दैनिक जसो युवा पुस्तामा खानपानको शैलीमा परिवर्तन भइरहेको छ। संसारभर उत्पादित खाद्य वस्तु नेपालमा पाउन सकिने अवस्था छ । यो राम्रो कुरा भने हुँदै होइन । यसलाई सरकारले जहाँ जसरी भए पनि ब्यवस्थित गरि आफ्नो देशमा आवश्यक बस्तु आफ्नै देशमै उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । बाहिरबाट आयातित खाद्य वस्तुको नाममा अखाद्य वस्तु आउन पनि सक्छ । यसमा हामी आम नेपाली त्यति चनाखो छैनौं । सधैं जसो उपभोग गर्ने खाद्य वस्तुमा लेखिएको लेभल नहेरी उपभोग गर्नाले पनि पोषण सुरक्षामा जोखि थपिन सक्छ ।
कुनै पनि खाद्य वस्तुको गुणस्तर महत्वपूर्ण सवाल हो । मानव स्वास्थ्यमा हानि नपुगोस् भन्नाको खातिर गुणस्तरीय खाद्य वस्तु उत्पादन तथा उपभोग हुनेपर्ने र उपभोक्ताले पनि उत्तिकै सचेत भएर खाद्य वस्तुको उपभोग गर्नुपर्ने हुन्छ । गुणस्तरका विषयमा सयौं सवाल र मापदण्ड हुन्छन् । तर यहाँ हालसम्म नेपालमा मापदण्ड बने पनि त्यसको सहि कार्यनयन भने हुने सकेको छैन ।
खाद्य पदार्थमा पाइने तर मानव स्वास्थ्यका लागि नकारात्मक असर गर्ने पदार्थ आजभोलि जताततै पाइन थालेको छ । त्यस्तो सेवन गर्दा मानिसमा निकै गम्भीर खालका स्वास्थ्य समस्या आउन सक्छ । यस्तो कुरालाई ट्रान्सफ्याट भन्ने गरिन्छ। उद्योगहरूमा प्रशोधन गरिने खानेतेल तथा चिल्लो प्रयोग गरिने अन्य प्याकेजिङ गरिएका प्रशोधित खाद्य पदार्थमा ट्रान्सफ्याट पैदा हुुने गर्दछ । कोल्ड स्टोरमा राखिएका खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा पाइने भएकाले प्रयोग गर्दा अलि बढी नै सचेत रहनुपर्ने हुन्छ । ट्रान्सफ्याटले शरीरमा खराब खालको कोलेस्ट्रोलको मात्र बढाउने र आवश्यक पर्ने कोलेस्ट्रोल घटाउने गर्दछ । जसका कारण कम उमेरमा हृदयघात हुनेजस्ता समस्या मानिसले भोग्नु पर्ने हुन्छ । ट्रान्सफ्याटको नकारात्मक असरका बारेमा विभिन्न अध्ययनले देखाएका प्रतिवेदनहरु छन् । सो अनुसार राज्यले नियमनका लागि नीतिगत व्यवस्था गर्न ढिला भइसकेको छ ।
ट्रान्सफ्याटले सिधै मुटुको धमनीमा असर गर्ने गरेको अध्ययनले देखाएको छ । शरीर कमजोर भएको महसुस गर्नु वा थकान धेरै लाग्नुजस्ता समस्या पनि ट्रान्सफ्याटको कारण हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याटले मानव स्वास्थ्य जोखिममा पर्ने भन्दै यसको पूर्णरूपमा निस्तेज गर्नुपर्ने सुझाएको छ । छिमेकी मुलुक भारत लगायतका विश्वका धेरै देशमा यसको नियमनका लागि नीति तथा कार्यक्रम ल्याई अगाडि बढ्न थालिएको छ । नेपालमा पनि चिल्लो पदार्थको अधिक उपभोग हुने भएकाले थप सचेतता आवश्यक देखिन्छ। ट्रान्सफ्याट उपभोग नै गर्नु हुँदैन भन्ने पनि होइन। यसको मात्रामा नियन्त्रण गर्नुपर्ने हुन्छ । ठिक्क मात्रामा उपभोग गर्दा भने त्यति धेरै असर भने नपुग्ने देखिन्छ ।
अहिले पछिल्लो समय आम मानिसमा सरल र सजिलो मात्र हेर्ने बानी बसेको छ । त्यसले कहाँ कति असर पर्छ त्यसमा कसैलाई पनि मतलब नै छैन । हुने र सक्नेसम्म कहिल्यै पनि हामीले जंकफुड र फ्रोजन फुड उपभोग गर्नु हुँदैन । यसो गर्नसक्दा ट्रान्सफ्याट बच्न सकिन्छ । सबैको प्रिय मानिने आइसक्रिममा ट्रान्सफ्याट पाइन्छ । कुकिज र बिस्कुटमा पनि ट्रान्सफ्याट पाइन्छ । चिप्स, भुजियाजस्ता उत्पादनमा पनि पाइन्छ । बटरको प्रयोग गरिएको पपकर्नमा पनि ट्रान्सफ्याटको प्रयोग गर्ने गरिन्छ । यी प्याकेजिङ गरिएका वस्तुमा मात्र नभई हामीले खाने फास्टफुड बर्गर, पिजा, स्यानडविच, फ्रेन्च फ्राइ, परोठा, समोसालगायतमा पनि ट्रान्सफ्याट पाइन्छ । त्यसैले अब हामी अभिभावकले आफ्ना बालबालिकालाई के खाने के नखाने भन्ने विषयमा राम्रोसँग जानकारी गराउन सके मात्र पनि बालबालिकालाई धेरै रोगबाट बचाउँन सकिन्छ ।
मासुमा हुने बोसो, गाईवस्तुबाट आउने घ्युहरूबाट आउने कुरामा भने हामी हटाउन सक्दैनौं । यी वस्तुलाई हामीले थोरै मात्रमा खानु नै उत्तम विकल्प हो । यी बाहेक वनस्पतिजन्य प्राकृतिक स्रोतलाई प्रयोग गरेर कृतिम ट्रान्सफ्याट उत्पादन भइरहेको हुन्छ । जब वनस्पतिजन्य तेललाई हाइडोनेसन गरेर वनस्पति फ्याक्टमा परिर्वतन गरिन्छ, त्यहाँ ट्रान्सफ्याट उत्पत्ति हुन्छ । वनस्पति घ्युलाई तेलमा परिणत गर्न यो प्रक्रिया अपनाइन्छ । जम्ने प्रकृतिको घ्युलाई तरल बनाइए पनि बेकरी उत्पादनमा प्रयोग गर्न सहज हुन्छ । यसो गर्दा प्राकृतिक ट्रान्सफ्याटभन्दा अलिक सस्तो पनि पर्ने हुनाले उद्योगहरूले यो प्रक्रिया अपनाउने गर्छन् । तर स्वास्थ्यका लागि भने त्यो राम्रो होइन । विश्व स्वास्थ्य संगठनले ट्रान्सफ्याटको कमी गर्न विश्वका मुलुकलाई अनुरोध गरिरहेको सन्दर्भमा नेपालले पनि जिम्मेवार भई जनस्वास्थ्यलाई असर गर्ने यो विषयलाई नियमन गर्ने पहलकदमी जति सक्दो चाँडो सुरु गर्नुपर्छ।
सरोकारवाला सजक भएमा हामी आम उपभोक्ताले ट्रान्सफ्याटको उत्पादन कम भई मानव स्वास्थ्य बचाउन भूमिका खेल्न सक्छौं । स्वास्थ्य जनशक्तिले मात्र मुलुकको अर्थतन्त्र हाक्न सक्छ । त्यसैले ट्रान्सफ्याट प्रयोग हुने खाद्य पदार्थ उत्पादन तथा बजारीकरण गर्ने निकाय र होटेल रेस्टुराँसमेतले यस विषयमा सचेत रहनुपर्ने हुन्छ । उत्पादक पनि कुनै न कुनै रूपमा उपभोक्ता पनि हो । त्यसैले आफूले ढुक्कले खान सक्ने वस्तुमात्र बिक्री वितरण गरिनुपर्छ भन्ने मान्यता आम व्यवसायीले सोच्नु प¥यो । समय समयमा उद्योगी व्यवसायीहरूसँग यस विषयमा छलफल गर्दै अगाडी बढ्नुपर्ने हुन्छ । यसले सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ ।यसले सुधारको प्रतिबद्धता पाउन सकिन्छ । अर्कोतर्फ तेललाई कालो नभएसम्म प्रयोग गर्ने नफेर्ने अनि फेरि हाले पनि त्यसैमा तेल थप्दै जानेजस्ता कार्यले होटल रेस्टुराँमा ट्रान्सफ्याट उत्पादन भइरहेको कुरा सबैलाई जानकारी पनि हुन सक्छ । तेलको प्रयोगमा ख्याल गर्नुपर्ने हुन्छ । छलफल गर्दा सरोकारवालाहरुले सकारात्मक लिने र नियमन गर्न पनि सहयोग पुग्नेछ ।
कुनै पनि उपजको उपभोगका लागि उपभोक्ता निकै महत्वपूर्ण पक्ष मानिन्छ । आजको युगमा उपभोक्ता पनि आफ्नो स्वास्थ्यमा सचेत छन् । विस्तारै प्याकेजिङ गरिएको उपजमा ट्रान्सफ्याटको लेभल पनि उल्लेख गर्ने बानी बसाल्नुपर्छ । त्यसपछि उपभोक्तालाई थप सहज हुनेछ । यद्यपि कुन कुन उपजमा ट्रान्सफ्याटको मात्रा अधिक रहने सम्भावना छ, ती वस्तु कम उपभोग गर्ने गर्नुपर्छ । घर वा होटल रेस्टुराँमा तारेको खाने कुरा उपभोग गर्दा अलिक चनाखो हुनुपर्छ । अब हामीले खाने कुरामा ध्यान दिन सक्यौं भने हामी आधाभन्दा बढी रोगबाट टाढा हुन सक्छौं । अनावश्यक पैसा खर्च गरि औषधि सेवन गर्नुको साटो खानपिन मै ध्यान दिंदा राम्रो हुन्छ ।









सम्बन्धित समाचार