दशैं बाल्यकालको सबैभन्दा रमाइलो चाड होे । म गाउँमा हुर्केको गाउँले व्यक्ति, गाउँको दशैँले मेरो पुरानो स्मृति ताजा गराउँछ । त्यतिबेला अभिभावकहरु भन्नु हुन्थ्यो यो चाड किन आउँछ ? म त्यति बेला सोच्थेँ यति रमाइलो चार्डपर्वलाई किन गाली गरेको होला ! अहिले बुझ्दै छु, गरिबी र अभावको कारण अभिभावकको मुखबाट यस्तो वाक्य निस्केको रहेछ । त्यतिबेला मेरो नजर दशैं भनेको राम्रो लाउने मिठो खाने चाडको रुपमा मात्र थियो । दशैंमा नयाँ कपडा ल्याइन्थ्यो, त्योपनि स्कूल ड्रेस मिल्ने गरी । सायद त्यसपछि वर्षभरि नयाँ कपडा किनिँदैनथ्यो ।
बालकालको दशैं अत्यन्तै रमाइलो थियो । हामी कैयौं चोटी दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, भनेर खेलिरहन्थ्यौँ । दक्षिनामा पैसा पाउने आशाले टीकाको दिन गनेर औंला भाचिन्थ्यो । घटस्थापनादेखि शुरु हुने दशैंमा पुरानो तरबार एउटा कुनामा राखेर दुर्गा पुजेको एलेपनि यादकर विषय बनिरहेको छ । त्यतिबेला दुर्गा पुज्ने अर्थ थाहा थिएन । दुर्गा देवी हुन् भन्ने पनि थाहा थिएन । बिहान बिहान आमाले हुँदैन भन्दै बाबाले पूजा गरेको सम्झना छ । पूजा गर्दा के भनिन्थ्योे कुनै अर्थ नबुझेपनि दशैं आउँदा भित्र भित्रै मन आनन्दित हुन्थ्यो ।
दशैंमा बिभिन्न खालका पिङ राख्ने चलन थियो गाउँमा । यसलाई पिर्के पिङ, रोटेपिङ र लिङ्गे पिङ पनि भन्ने गरिन्थ्यो । गाउँमा दशैंको अवसर पारेर बाटो मर्मत गरिन्थ्यो । गाउँका सबै व्यक्ति मिलेर मूल बाटो मर्मत गर्ने चलन हराइ सकेको छ । वडाले बाटो सोर्छ की सोर्दैन, नगर कता हरायो भनेर परनिर्भर हुन थालिएको छ । दशैंको अवसरमा कतै रोटे पिङ कतै लिङ्गे पिङ राख्ने चलन गाउँमा थियो । आजकल योचिजमा कमी आउँदै हराउन थालेको छ ।
कुन गाउँमा कति पिर्के पिङ र रोटे पिङ राखियो गाउँको शान यसैले निर्धारण गथ्यो । दशैंमा भूइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ हाल्ने चलन थियो । गाउँको मध्यविन्दुमा पिङ हालेर प्रत्येक बेलुकी गाउँका तन्नेरी युवायुवतीहरु नाचगान गरेर रमाइलो गर्ने चलन थियो । आजकलको भाषाको डेटिङ स्थल त्यतिबेलाको पिङ थियो । पिङ बनाउँदाको कथा स्मरणयोग्य छ । वनबाट पिङको खाँवा बोक्न गाउँघरका सबै तन्नेरी प्रौढ लावालस्कर लाग्नुपथ्र्यो । पिङको खामा बोक्दा कतिको त काँधको छाल समेत जान्थ्यो ।
पिङ तयार भएपछि गाउँका युवतीहरुले सेलरोटी, अचार बनाएर खाने तथा खुवाउने चलन हुन्थ्यो । पिङलाई कुखुराको भाले काटेर भोग पनि दिने चलन हुन्छ । टीकाको दिन पिङलाई कुखराको भाले काटेर भोग पनि दिने चलन हुन्छ । टीकाको दिन पिङलाई टिका लगाइदिने परम्परा पनि छ । पिङ मनोरञ्जनको साधन थियो गाउँघरमा !
छिमेकी गाउँघरबाट पिङ खेल्न आउने युवायुवतीहरुलाई सम्मान सत्कार गरेर पिङ खेलाउने गरिन्छ । पिङमा गाउँवस्तीका भाखाहरुलाई गाएर भपूर मनोरञ्जन गरिन्छ । कतिपय ठाउँमा युवाहरु बीच झगडा भएर घटनाहरु पनि घटेका छन् । एकाद पिङबाट लडेर मानिसको मृत्यु समेत भएको छ । यस्तो दुःखदायी घटनालाई लिएरपनि कतिपय ठाउँमा पिङ हाल्न छोडेका छन् ।
पहिले पहिले गाउँघरमा दशैं आउनु भन्दा अगाडि लिपपोत गर्ने चलन थियो । दूर्गम गाउँघरमा सायद आजकल पनि गरिन्छ । पहिले गाउँघरमा माटोको घर हुन्थ्यो । घर सिगार्न रातो माटो, सेतो कमेरो माटो र कालो माटो खोज्न आमा दिदीबहिनीहरु थुन्से, सोली र धोक्रा बोकेर टाढा टाढा जान्थे, कतिपय बेला माटो खन्दा पुरिएर अकालमै मृत्यु हुन्थ्यो । दशैंको बेला घर पोत्ने माटो खन्न जाँदा यति महिला पुरिए भनेर सुन्ने गरिन्थ्योे । यसरी बोकेर ल्याएको माटोले घर छ्याप्ने र लिप्ने गरिन्थ्यो । घरलाई सुन्दर बनाउन रातो माटोले लिपेको भित्तामा सेतो माटो र कालो माटोको पेटी बनाइन्थ्यो । झयाल ढोकाको वरिपरि गन्धे फूल कमेरोमा चोपेर फूल बनाउने चलन पनि थियो । आजकाल फुलहपनि प्लाष्टिकको पाउन थालिएको छ ।
यसरी बच्चा बेलाको दशैं खुब संझना आउँछ । एउटा कुनै फिल्मको दृश्य संझनामा आए जस्तो । सानोमा दशैं आउँदा खुबै रमाईलो लाग्थ्यो । हाम्रो रमाईलोसंगै सायद बुबाआमाको पीडा पनि संगै शुरु हुँदो हो । घरकुलीको लागि परिवपारका सबै सदस्यहरुलाई दशैं मनाउनु सायद सहज कुरा थिएन होला । हाम्रा लागि दशैं आउनु भनेको नयाँ लुगा लगाउनु, पेटभरी मासु खानु र आनन्दले घुम्दै पिङ खेल्नु थियो । दशैं शुरु हुनु भन्दा अलि अगाडी नै बुबाले हाम्रा लागि नयाँ लुगा किनेर ल्याइदिनु हुन्थ्यो तर लुगा भने सकेसम्म स्कुल ड्रेससंग मिल्नेमा नै प्रयत्न गरिनथ्यो । तै पनि हामी खुब खुसी हुन्थ्यौं ।
परिवारका घर मूलीलाई लुगा किनेर ल्याइदिने एउटा चटारो हुन्थ्यो भने त्यो समयमा सिलाएर आईपुग्छ की पुग्दैन भन्ने अर्को पिर हुन्थ्यो । घरमा नयाँ कपडा भित्रिएपछि हाम्रो आँखा बालीमा कपडा सिलाउने सिलाईका दमाई दाई आउने बाटो तिर हुन्थ्यो । उहाँका परिवारका कहिले को त कहिले को गरी आउनु हुन्थ्यो हाम्रो कपडा छेकाउन र नापो लिन ।
ऐले बेला बदलिएको छ, समय फेरिएको ! अधिकांश मानिसहरु रेडिमेड कपडाको प्रयोग गर्छन् । घर लिपपोत गर्दैनन् बिभिन्न नामका विदेशी कलहरु छ्याप्छ्याप्ती भएका छन् । पिङ हालिंदैन, मानिसहरु जाँड रक्सीको सेवन र जुवातासजस्ता आयातित संस्कृतिमा मस्त देखिन्छन् । वढ्दो पश्चिमा संस्कृतिले सताइरहेको छ ।
अब त झन समयलेपनि एकपछि अकोृ गर्दै पीडा बाहेको अरु दिन छोड्यो । कहिले बिनाशकारी महाभूकम्प, कहिले कोरोनाको महामारी, कहिंले डेंगी जस्ता प्राण घातक रोगहरुको प्रकोप त कहिले असोज सकिन लाग्दा आउने गरेको विनाशकारी वाढी, पहिरो र डुबानले मानिसहरु पीडामा बाँच्न विवश छन् ।
रौनक छैन । जागिर र कामको शिलशिलामा घर छोडेकाहरुको लागि दशैं मनाउँन थातथलो र जन्म घर पुग्न सक्ने अवस्था छैन । जताततैका राजमार्गहरु अवरुद्ध छन् । पक्की घरहरु ढलेका छन् । धान खेतहरु बगेका छन् । मकै बारीमा पहिरोको अस्तब्यस्तता ! बस्ती र ती बस्तीहरुको मन जोड्न सघाउने पुल पुलेसाहरु बगिरहेका छन् । मुलुकको राजधानीमा विपद् व्यवस्थापनको कुरा छैन । घरको छतबाट हारगुहार गरिरहेका मानिसहरुको जीवन रक्षा हुन सक्दैन । यति बेला सिंगो देश पीडामा छ, कारुणिकतामा रुझीरहेको ! पिउने पानीको अभाव छ, यनायाशमै मानिस र पशुपंक्षीहरुको मृतुवरण हुँदा दूर्गन्ध र रोगव्याधी वढ्न थालेको छ । र दशैं राम्रो लाग्न छोड्दै गएको छ । –नव क्षितिज साप्ताहिकबाट