हामीले खरिद गर्ने हरेक स्वदेशी वस्तुले केवल एउटा उत्पादनको बिक्री मात्र बढाउँदैन । यसले किसानको मेहनतलाई सम्मान गर्छ । उद्योगीलाई आत्मविश्वास दिन्छ । रोजगारी सिर्जना गर्छ र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँछ। त्यसैले स्वदेशी उत्पादनको प्रयोग केवल उपभोगको विषय होइन । यो आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको अभियान हो ।
नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा व्यावसायीकरण तर्फ उल्लेखनीय रूपमा अघि बढिरहेको छ । फलफूल, तरकारी, डेरी, कुखुरापालन, पशुपालन, कृषि यान्त्रिकीकरण, एग्रो–स्टार्टअप तथा कृषि उद्यमहरू विस्तार भइरहेका छन । सरकार, निजी क्षेत्र र विकास साझेदारहरूले पनि कृषि क्षेत्रमा उल्लेखनीय लगानी गरिरहेका छन । तर आज कृषि क्षेत्रको सबैभन्दा ठूलो चुनौती मल, बिउ वा बजार मात्र होइन, दक्ष मानव स्रोतको अभाव हो । आज अधिकांश युवाको सोच विदेश, सहरी रोजगारी वा डिजिटल पेशातर्फ केन्द्रित छ। कृषि श्रम कठिन, जोखिमपूर्ण र कम आम्दानी हुने कामका रूपमा हेरिने भएकाले नयाँ पुस्ता यस क्षेत्रमा आकर्षित हुन सकेको छैन। घाम, पानी, हिलो र अनिश्चितता बीच लामो समय श्रम गर्नुपर्ने अवस्था छ भने धेरै श्रमिक अझै पनि सामाजिक सुरक्षा, बीमा र श्रमिक अधिकारबाट वञ्चित छन । अर्कोतर्फ कृषि उद्यमीहरू पनि उत्तिकै चुनौतीमा छन्। मल, बिउ, औषधि, मजदुरी, ढुवानी र उत्पादन लागत निरन्तर बढिरहेको छ । तर उत्पादनको मूल्य स्थिर छैन । यस्तो अवस्थामा किसान र उद्यमी दुवैले अपेक्षित प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन ।
नेपालमा अहिले सामान्य कृषि मजदुरको दैनिक ज्याला करिब ८०० देखि १,५०० रुपैयाँसम्म छ । दक्ष कृषि प्राविधिक, मेसिन अपरेटर, ट्र्याक्टर चालक, डेरी व्यवस्थापक वा स्प्रे विशेषज्ञले मासिक २० हजारदेखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्न सक्छन । तर बढ्दो महँगी र युवाको अपेक्षाअनुसार यो पनि पर्याप्त मानिँदैन । आजको पुस्ताले केवल ज्याला होइन, सम्मान, सुरक्षित भविष्य, सीप विकास र करियरको अवसर खोजिरहेको छ । यसैले अब नेपालले परम्परागत कृषि श्रम प्रणालीबाट मात्र व्यावसायिक कृषि सम्भव छैन भन्ने यथार्थ स्वीकार्नुपर्छ। कृषि क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नुपर्ने समय आएको छ । अब खेतमा केवल मजदुर होइन, कृषि प्राविधिक, ड्रोन अपरेटर, सिँचाइ व्यवस्थापक, ग्रीनहाउस सुपरभाइजर, डिजिटल अभिलेख व्यवस्थापक, कृषि बजार विज्ञ, मेसिन अपरेटर र समुदायस्तरका कृषिदूत आवश्यक छन । कृषि श्रमलाई दैनिक ज्यालाको काम होइन, सम्मानित पेशाका रूपमा स्थापित गर्नुपर्छ ।

कृषि उद्यमीहरूले पनि अब उत्पादनसँगै मानव स्रोत व्यवस्थापनलाई प्राथमिकता दिन आवश्यक छ । कर्मचारीलाई टिकाइ राख्ने वातावरण, उचित पारिश्रमिक, तालिम, प्रोत्साहन र करियर विकासका अवसर उपलब्ध गराउन सके मात्र कृषि उद्यम दीगो बन्न सक्छ । प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन, कृषि यान्त्रिकीकरण र डिजिटल कृषि प्रणालीले श्रम अभाव केही हदसम्म समाधान गर्न सक्छन्। तर अन्ततः कृषि क्षेत्रमा काम गर्ने प्रेरित, दक्ष र सम्मानित जनशक्ति अपरिहार्य हुन्छ । यदि आज नै कृषि क्षेत्रमा सम्मान, सुरक्षित भविष्य र आकर्षक अवसर सिर्जना गर्न सकिएन भने आगामी दशकमा खेतमा काम गर्ने जनशक्ति नै अभाव हुने खतरा छ । यो केवल कृषि क्षेत्रको समस्या होइन, नेपालको खाद्य सुरक्षा, अर्थतन्त्र र राष्ट्रिय भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो । नेपालको मुख्य पेशा अझै पनि कृषि नै हो। त्यसैले कृषिलाई सम्मानित, आधुनिक र आकर्षक पेशाका रूपमा स्थापित नगरी दिगो आर्थिक समृद्धिको कल्पना गर्न सकिँदैन। विश्वका विकसित राष्ट्रहरूको अनुभवले पनि कृषि क्षेत्रको सबलीकरण बिना दीर्घकालीन आर्थिक विकास सम्भव नहुने देखाएको छ ।
नेपालले सर्वप्रथम कृषि आत्मनिर्भरतालाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ । तत्कालका लागि निर्यातभन्दा बढी आयात प्रतिस्थापनमा जोड दिन आवश्यक छ। आज विदेशबाट आयात भइरहेका धेरै कृषि तथा पशुजन्य वस्तु स्वदेशमै उत्पादन गर्न सकिन्छ । यसबाट विदेशी मुद्रा बचत हुनुका साथै स्वदेशी उत्पादन र रोजगारी दुवै बढ्छ । नेपालको विविध हावापानी, उर्वर माटो र भौगोलिक विविधताले उच्च मूल्यका कृषि उत्पादन गर्ने ठूलो सम्भावना प्रदान गरेको छ । स्थानअनुसार उपयुक्त बाली छनोट, गुणस्तरीय बिउबिजन, सिँचाइ, आधुनिक प्रविधि, बजार व्यवस्थापन र प्राविधिक सेवाको विस्तारबाट कृषि उत्पादनलाई अझ प्रतिस्पर्धी बनाउन सकिन्छ । कृषिसँगै पशुपालन क्षेत्रलाई पनि समान प्राथमिकता दिनुपर्छ । दूध, मासु, अण्डा तथा अन्य पशुजन्य उत्पादनले पोषण सुरक्षा, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउँछन्। कृषि र पशुपालनलाई परिपूरक रूपमा विकास गर्दै युवालाई कृषि उद्यममा आकर्षित गर्न सकियो भने नेपाल आर्थिक रूपमा आत्मनिर्भर बन्ने आधार अझ मजबुत हुनेछ। दीर्घकालीन रूपमा भने नेपालले निर्यातमुखी कृषि प्रणालीको विकास गर्नुपर्छ । गुणस्तरीय उत्पादन, मूल्य अभिवृद्धि, अन्तर्राष्ट्रिय मापदण्ड, ट्रेसबिलिटी, शीत भण्डारण, ग्रेडिङ, प्याकेजिङ, प्रशोधन, ब्रान्ड निर्माण तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा लगानी गर्न सके नेपाली कृषि उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ । यसबाट किसानको आम्दानी बढ्ने, ग्रामीण रोजगारी विस्तार हुने, महिला तथा युवाको सशक्तीकरण हुने र विदेशी मुद्रा आर्जनमा उल्लेखनीय वृद्धि हुनेछ ।

अन्ततः कृषि क्षेत्रको विकास सरकारको मात्र जिम्मेवारी होइन । यसमा सरकार, निजी क्षेत्र, सहकारी, किसान, प्राविधिक, अनुसन्धान संस्था र उपभोक्ता सबैको साझा भूमिका छ । हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, किसानको श्रमलाई सम्मान गर्ने र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने संस्कार विकास गर्न सके मात्र समृद्ध नेपालको सपना साकार हुनेछ । स्वदेशी उत्पादनको प्रयोग नै किसानको आशा, उद्योगीको भरोसा र समृद्ध नेपालको सबल आधार हो ।