बनेपा, मण्डनदेउपुर–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फाली बेपत्ता भएको घटनाले समाजलाई स्तब्ध बनाएको छ । घटनापछि सामाजिक सञ्जालदेखि समुदायसम्म अनेकौं प्रश्न उठिरहेका छन । उत्तर भने खुलेको छैन सायद अनुसन्धानपछि खुल्ने छ । यो समाचार तयार पार्दासम्म श्रीमतीको मात्र शव भेटिएको छ ।
६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार दिउसो ओखलढुंगाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो । तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ र खोजी कार्य जारी छ । बुधबार दुलालेश्वर महादेव मन्दिर नजिकबाट पराजुलीले श्रीमतीलाई पिठ्यूँमा बोकेर हिँडेको भिडियो भने सार्वजनिक भएको छ । उनी श्रीमतीसहित सुनकोशी नदीमा हाम्फालेको भन्ने समाचार आएको को छ । प्रारम्भिक अनुसन्धानका क्रममा तिलकुमारी पराजुली बोनम्यारो क्यान्सरबाट पीडित भई लामो समयदेखि शारीरिक रूपमा अशक्त रहनुभएको खुलेको प्रहरीले जनाएको छ । सोही कारणले दम्पतीले आत्मघाती निर्णय लिएको हुन सक्ने अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरूले यस्तो निर्णय किन लिए भन्ने विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन । बेपत्ता दम्पतीको खोजीका लागि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनकोशी नदी आसपासका क्षेत्र तथा सम्भावित बहाव क्षेत्रमा खोजी कार्य जारी रहेको छ ।
पराजुली दम्पतीका एक छोरा र तीन छोरी रहेका छन् । उनीहरू किन यस्तो अवस्थामा पुगे, उपचारको कठिनाइ, मानसिक पीडा, आर्थिक अवस्था, पारिवारिक परिस्थिति वा अन्य कुनै कारण थियो कि भन्ने विषयमा अहिले विभिन्न अनुमान भइरहेका छन् । तर, यी सबै विषय अनुसन्धानको निष्कर्ष नआएसम्म अनुमानकै दायरामा सीमित छन । परिवारले भने एक सातासम्म पनि शव नभेटिए हिन्दू संस्कार अनुसार काजक्रिया गर्ने तयारी गरिरहेका बेला एक जनाको शव भेटिएको छ । वृद्धवृद्धा सुनकोशीमा हाम फालेकोमा विश्वस्त देखिन्छन । पारिवारिक श्रोतका अनुुुसार केदारनाथकी श्रीमती तिलकुमारी पछिल्लो दुई वर्षदेखि बोनम्यारो क्यान्सरबाट पिडित थिइन् । ओछ्यानमा थला परिसकेकी तिलकुमारीको सबै रेखदेख र स्याहारसुसार केदारनाथले गर्दै आएका थिए । छोराछोरीहरु आआफ्नो काममा व्यस्त रहेकाले श्रीमतीलाई अस्पताल पु¥याउनेले र ल्याउने पनि उनले नै गर्थे । पछिल्लो समय केदारनाथ स्वयम् पनि अस्वस्थ भए । पिशाबमा समस्या आएको उनले कान्छी छोरी शशीकलालाई बताएका थिए । छोरीकै सल्लाहअनुसार उनले धुलिखेल अस्पताल पुगेर जँचाए । डाक्टर प्रोटेस्टको समस्या रहेकाले अप्रेशन गर्न सुझाव दिएका थिए । परिवारसँग सल्लाह गरेर हप्ता १० दिनमा अपरेशन गर्न आउने भन्दै केदारनाथ घरतिर लागेका थिए । त्यही बेला नै उनलाई पिसाबको सहजताका लागि डाक्टरले थैली झुन्डाइदिएका थिए । आफ्नो अपरेशनपछि बुढाबुढी दुवैजना थलिने चिन्ताले उनलाई सताएको थियो । यही चिन्ताका कारण उनी मानसिक रुपमा विक्षिप्त बनेको उनका भतिजा कृष्ण पराजुलीले बताए ।
केदारनाथले श्रीमतीसँग ‘मेरो अप्रेशन गर्यो भने तलाई कसले हेर्छ ?’ भन्दै चिन्ता व्यक्त गर्ने गर्थे । छोराछोरीले बुबाको अप्रेशनको तयारी गरिरहँदा उनी ‘अहिले हतार छैन, हप्ता १० दिनपछि विचार गरौंला’ भनेर टाररिरहेका थिए । पराजुली परिवारका छिमेकी समेत रहेका ७ नम्बरका वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार उनीहरुको पारिवारिक आर्थिक स्थिति राम्रै थियो । उपचारको लागि पैसाको अभाव थिएन । केदारनाथकी ९३ वर्षीया आमा पनि छिन् । परिवारमा ३ छोरी, एक जोडी छोरा–बुहारी र नाति–नातिना समेत छन् । छोरा खेति किसानी गर्छन् भने बुहारी सामुदायिक विद्यालयमा पढाउँछिन् । नाति डेढ वर्षअघि अष्ट्रेलिया गएका थिए । तिलकुमारीको उपचारको लागि गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । परिवारका सबैजना उपचारमा लागि परेकै थिए । जग्गा बेचेरै भएपनि उपचार गर्ने परिवारको तयारी थियो । पैसा खर्च गरेर पनि निको नहुने भएपछि परिवारले तिलकुमारीलाई घर ल्याए । केदारनाथले मृत्यु पर्खिरहेकी श्रीमती स्याहार्दै आएका थिए । अस्पतालबाट आएपछि उनी निकै निराश देखिन्थे, तर परिवारका सदस्यलाई केही बताएका थिएनन् ।








