बनेपा, देशभर बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ३२ भन्दा बढी पुगेको छ । हिजो साँझ सम्म गृह मन्त्रालयले जनाए अनुरुपको यो संख्या भएपनि पिडितको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी काभ्रेमा मात्रै सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो साँझसम्म ३१ जनाको ज्यान गएको छ । विपद्का घटनामा परी १९ जना बेपत्ता छन् भने ४२ जना घाइते भएका छन् ।
हिजोसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध विपी राजमार्ग र अरनिको राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ । काभ्रेमा हिजो नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य गरेको थियो । विपदको जोखिममा रहेका रोशी, पनौती, तेमाल, बेथानचोकका ९४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । रोशीको बाढीले बिपी राजमार्ग बगाएपछि २ दिनदेखि करिब २ हजार यात्रु अलपत्र थिए । सेनाको हेलिकप्टरले अत्यावश्यक तयारी खानेकुरा तथा पानी उपलब्ध गराएको छ ।
असोज ११ र १२ गते परेको निरन्तर वर्षाको कारण जनजीवन अस्तव्यस्त बनेको छ । भारी वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको दुई राजमार्ग अवरुद्ध देखि बाढी पहिरो, बस्ती डुबान, सडक नै बगाउने सम्मका घटनाहरु घटेका छन् । जसबाट ठुलो मात्रामा भौतिक र मानवीय क्षति समेत भएको छ । यात्रा कष्टकर बनेको छ भने जिल्लाबाट अन्यत्र स्थानमा यात्रा गर्ने यात्रुहरु बिचल्लीमा परेको र अधिकांश सडक सञ्जाल अवरुद्ध बनेका छन । जिल्लाको विभिन्न स्थानमा रहेको रोशी खोला, सुनकोशी, इन्द्रावती, पुण्यमाता, गेल्डुङ, चा–खोलालगाएत उर्लिएपछि त्यस क्षेत्र आसपासका मानिसहरु त्रसित र भयवित भएका छन् । खोलानालाको पानीले सतह नाघेपछि आसपासका क्षेत्र डुबान, सडक सञ्जाल अवरुद्ध र जनजीवन प्रभावित भएको हो ।