छन्दः–शार्दूलविक्रीडित

कालोबादल फेरि वर्षन जुट्यो जस्तै छ वर्षेझरी ।
छैनन् आश्रय रात राहत दिने भिज्दैछ त्यो चाँचरी ।।
ढाली दिन्छ कि धान फाँट सुनझैँ झल्कन्छ राम्रो जरी ।
बाटो छैन जताततै छ पहिरो सातो लिने भो झरी ।।१
चम्कन्थे शशि शारदी निशिमहा ज्योत्स्ना हराइन् कता ।
त्यो ज्योत्स्नाप्रिय घुम्छ व्याकुल हुँदै बेहालको व्यस्तता ।।
चाँदी तुल्य प्रभा भरेर छहरा झर्थे अहा निर्झरी ।
खोलाछन् धमिला प्रगाढ खहरे सातो लिने भो झरी ।।२
भोला भानु भए भला भनुभने छेक्दो छ त्यो बादल ।
खोला खास खराब हैन खहरे खोस्रन्छ गर्दै बल ।।
फक्रेका त सुनाखरी अकबरी हाँस्थे र बास्ना छरी ।
तारा शान्त अशान्त भ्रान्त भमरा सातो लिने भो झरी ।।३
चारो टिप्न चरी बथान वनमा घुम्थे प्रिया साथमा ।
भर्थे टन्न समान धान ढुकुटी झै पेटमा आँतमा ।।
फुल्थे फूल अनेक रङ्ग रसमा घुम्थे सधैं माहुरी ।
बाटो बन्द सुगन्ध खै सुमनको सातो लिने भो झरी ।।४
खालीपेट निसासिदैछ बिचरा चारो बिनाको चरी ।
छानोछैन सिरान भिज्छ निशिमा बित्छन् दिवा केगरी ।।
लर्को लाम कता बिथात कमिला बोकेर अण्डा धरी ।
निस्के पंख फिँजेर ती छिचिमिरा सातो लिने भो झरी ।।५