गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएको पाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये करिब ४८ प्रतिशत मात्र ११ पढ्न योग्य भएका थिए भने ५२ प्रतिशत अनुतीर्ण भएका थिए ।

परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग गर्न दिएको समयमा १९ हजार ६०० विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ६४६ जनाको कार्यालयले पुनर्योगको नतिजा सार्वजनिक हुँदा थप ९४ जनाको ४ जीपीए आएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा कुनै कमजोरी नभएको र विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क कम्प्युटरमा चढाउने इन्ट्री गर्ने क्रममा कमजोरी भएको जानकारी पाएको बताए । रिटोटलिङ गर्दा दशमलवमा अंक फरक पर्नु स्वभाविक मान्न सकिन्छ तर एनजी आएकाको ४ जीपीए आउनुले गम्भीर लापरवाही भएको देखिन्छ ।