यो हप्ताबाट देशैभरका सहकारीका साधारणसभाहरु शुरु हुन थालेका छन् । देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा गंभिर रुपमा बहस चल्न थालेको बेलामा सहकारीहरुका सञ्चालक तथा विषयगत समिति र सेयस सदस्यहरुको संयुक्त भेला हुने मौकाले वार्षिक साधारणसभा मार्फत अहिलेको आर्थिक संकट र यसको समाधान खोज्नका लागि पनि अब हुने साधारणसभाहरु केन्द्रित हुनेछन् । यि साधारणसभाहरुबाट अहिले विश्वले झेल्नु परेको आर्थिक संकट र नेपाली बजारमा त्यसबाट परेको प्रभावको बारेमा गहन ढंगबाट छलफल हुनेछ र निकास निकाल्न सफल हुनेछ ।
नेपालमा मात्र हैन विश्व बजारबाट अर्थ कसरी र कहाँ गयो भन्ने विषयका विज्ञहरुले पनि बताएका छैनन् । यस विषयमा अर्थका ज्ञाता भन्न रुचाउनेहरु किन मौन छन् ? मुद्रा विश्व बजारमा घुमिरहने वस्तु हो । यसलाई जस्ले आवश्यकता पर्छ उसैले व्याज तिर्ने गरी उपयोग गर्छ भने ऋण खान आवश्यक नपर्नेले बचत गरेर राख्दछ । त्यही बचतको रकमलाई ऋणीसम्म पु¥याएर कारोबारलाई व्यवस्थित गर्ने काम वित्तिय संस्थाहरुबाट हुन्छ । ऋणको रुपमा गएको पैसा फेरी फर्केर बजारमा नै आउँछ । फेरी आवश्यकता पर्नेले लैजान्छ र अर्काे ऋणीकोमा जान्छ र फर्किन्छ । यो निरन्तर घुमिरहेको हुन्छ । त्यही पैसालाई बैंक तथा वित्तिय संस्थाहरुले निश्चीत लाभ राखेर एकापसमा रोटेसनको आधारमा घुमाउने कामको सहजीकरण गरि दिने मात्र हो । यो मान्यता विश्वव्यापी रुपमा नै एकै खालको छ ।
अहिले वित्तिय बजारको अवस्था धेरै कम्जोर भएका समाचारहरु आईरहेका छन् । अहिले एकाध बाहेक अन्य उद्योगी, व्यवसायी तथा व्यपारीहरु यो समस्यामा छन् । यो समस्या कहिलेसम्म हो, यकिन गर्न सक्ने अवस्था पनि छैन । अहिलेको नेपालको आर्थिक अवस्था जे पर्ला सोही टर्ला भनेर भगवान भरोसाको अवस्थामा पुगेको छ । नेपालको सन्दर्भमा भने पैसा निश्चित नेता, ठुला प्रकारका कर्मचारी र ठुला व्यापारीको पहँुचमा छ । त्यो पैसाको श्रोत देखाउन नसकिने डरले पैसावालाहरु डराईरहेका छन् । भोली त्यही पैसाका कारणले आफु जेलमा र पैसा पनि सरकारले जफत गर्ने डरले पैसा बाहिर आउँन नसकेको हो । जुन पैसा विभिन्न कारणले बाहिर आउँन सकेन त्यो मध्ये यो पनि एक प्रमुख कारण हो । बजारबाट पैसा आएको छैन वा उठेको छैन भनेर कुनै सहकारी संस्थाले सुख पाउँदैन । तर बैंकले भने उसंग पैसा नहुने वित्तिकै सिस्टम फेल, सर्भर डाउन भो भन्दा सुख पाउँछ । कारण जे भए पनि बैंकले भने पछि हामी पत्याई दिन्छौं । तर जस्तो सुकै परिस्थितीहरुमा पनि सहकारीहरु संस्थाहरुले निरन्तर सेवा दिईरहेका छन् । सहकारी संस्थाहरुले लगानी गरेको ऋण वा बचतमा रकम उठे पनि नउठेपनि सदस्यको पैसा फिर्ता गर्न केही ढिला भए पनि रोकेको छैनन् । शहरमा भन्दा पनि जहाँ बैंकको पहुँच पुगेको छैन सहकारीले त्यहाँका सदस्यलाई सजिलोसंग सेवा दिईरहेका छन् । देशका सबै नागरिकको पहँुच बैंक सम्म पुग्न सकेको छैन । जहाँ बैंक नै छैन त्यहाँका नागरिकले सहकारीको माध्यमबाट आफ्ना कामहरु गर्दै आई रहेका छन् । ग्रामीण भेगका जनतालाई बैंकमा भन्दा सहकारीमा काम गर्न सजिलो छ । सदस्यलाई जहाँ कुनै प्रकारको अनावश्यक तनाव नलिईकन काम गर्न सजिलो हुन्छ र आवश्यक रकम पाउँन सक्छन् । हुन त सहरमा पनि बैंकको तुलनामा सहकारीमै कारोबार गर्न सजिलो छ । सहकारी संस्थाहरु सदस्य आफैले आफ्नै समुदायमा संचालन गरिने भएकोले पनि काम गर्न र विश्वास जित्न सजिलै सक्छन् ।
संस्था सञ्चालनको क्रममा धेरै सहकारीहरु मध्ये एक दुई वटाले रकमको व्यवस्थापन गर्दै गर्दा ढिला हुँदा शिघ्र भूक्तानीमा समस्या भएको छ । समस्या देखियो भने बेलैमा समाधानतिर लाग्नु पर्दछ । समस्या भएपछि त्यसको समाधान छिट्टै वा केहि ढिलै भए पनि भएरै छाड्छ र हुनै पर्छ । पछिल्लो समयमा वित्तिय संस्थाहरुको तरलता कमजोर भएको सरकारकै तथ्यांकले देखाएको छ । कुनै पनि वित्तिय संस्थाले पैसा लिएर सधैं आफैसंग कन्तुरमा राखेको हुदैंन । त्यसको व्यवस्थापन गर्न निस्चित समय तोकेर लगानी गरेको हुन्छ । तर यतिखेर केही अवसरवादी व्यक्तिहरु सहकारी संस्थाहरुलाई बद्नाम गराउँन गज्जबैसंग लागेका छन् ।
केही बैंक र आफुलाई ठुला संस्थाका मान्छे हौं भन्नहरुले वित्तिय संस्थाका मालिक तथा कर्मचारीहरु परिचालन गरी सहकारी त डुब्न थालेका छन् आफ्नो पैसाको माया भए हाम्रो बैंकमा जम्मा गर्नुस र पैसाको सुरक्षा गर्नुस भन्दै घरघरै पुगेको अवस्था पनि पाईएको छ । एकैचोटी पैसा फिर्ता त सहकारीले मात्र हैन, निजी बैंकको त के कुरा, सरकारले नै चलाएको कुनै पनि बैंकले एकै दिन सबै खाताको भूक्तानी दिन सक्दैन । जहाँ खाता छ हामीलाई फिर्ता उसैले गर्ने हो । त्यो बैंक होस वा सहकारी । अब थप निम्तिन सक्ने वित्तिय चुनौतिलाई टार्न सरोकारवालाहरुको हातेमालो अनिवार्य छ । आज अर्कालाई परेको त हो नी भनेर हात बाँधेर बस्ने बेला छैन । संस्थाका बारेमा अनावश्यक हल्ला गर्नाले पैसा फिर्ता हुंदैन र यो संधव पनि हुंदैन । यसको लागि संस्थाको लगानी अफ्ठेरोमा छ भने सबै मिलेर उठाउँन सकियो भने सबैलाई सहज हुने छ । त्यसैले सत्य र तथ्य बुझौं । हल्लाको पछाडी नलागौं । संस्थालाई सहयोग गरौं र आफ्नो बचतको सुरक्षा गरौं । यसैमा सबैको कल्याण छ ।