समय संसारमा सबैका लागि बराबर नै हुन्छ । त्यो समयलाई कहाँ कसरी सदुपयोग गर्ने भन्ने कुरा प्रत्येक व्यक्तिमा भर पर्छ ।
यही समयभित्र रहेर कोही सदुपयोग गरी विश्वकै धनी बनेका छन् भने कोही शिक्षित बनेका छन् । तर कोही मानिस यही समय सदुपयोग गर्न नसक्दा जीवन नै बोझ बनाएर बाँचिरहेका छन् । जे होस् जो जहाँ जे गरिरहेका भए पनि समयलाई ठिक तरिकाले सदुपयोग गर्ने व्यक्ति नै जीवनमा सफल बन्न सक्छ । त्यसैले समयसँगै हामी पनि अघि बढौँ । समयसँगै अघि बढ्दा धेरै कुराको ख्याल गर्नुपर्छ। हामीले आफ्नो लागि समय सदुपयोग गरिरहँदा हाम्रा आफन्तजनसँगै बसेर आरामसित कुरा गर्ने समय मिलाएका छौँ कि छैनौँ त ? सदुपयोग गरिएको समयले हामीलाई नै घाटा बनाएको छ कि छैन त ? यो कुरा सबैभन्दा महत्त्वपूर्ण विषय हो। आज अभिभावक र बालबालिकाको सम्बन्ध कस्तो छ ? दिदी र भाइ वा श्रीमान श्रीमतीको सम्बन्ध कस्तो छ ? यो विषय अत्यन्तै महत्त्वपूर्ण छ ।
आजको समयमा हामीसित सबै सुविधा उपलब्ध भए पनि कुरा गर्ने समय छैन । यो समयको कमीले मात्र भएको होइन। जीवनशैलीसँगै बदलिएको हाम्रो एटिच्युडको कारण पनि हो । समयको उचित व्यवस्थापन गर्न सक्दा मात्र यो २१ औँ शताब्दीमा हामी सफल र असल बन्न सक्छौँ । हामी आवश्यकभन्दा अनावश्यक कुरामा बढी समय खर्चिएका हुन्छौँ । हाम्रा लागि सबैभन्दा ठुलो कुरा भनेको हाम्रो घर, परिवार, आफन्त र साथीहरू नै हुन् । यिनका लागि महत्त्व दिई समय व्यवस्थापन गर्नुपर्छ । समय निकाल्न चाहे जसरी पनि निकाल्न सकिन्छ । तर अन्य कुराकै चिन्ताले आवश्यक कुरामा समयको प्रयोग नगरी अन्यत्र समय खेर फालियो भने हामीलाई पछुतो हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
पहिला–पहिला जो जहाँ जाँदा होस् वा कोही आउँदा होस् एक आपसमा कुरा गर्ने र सबै जानकारी लिने दिने हुन्थ्यो । त्यसको ठ्याक्कै उल्टो हिजोआज आपसमा कुरा गर्न पनि एक आपसमा एकले अर्कोलाई अनुरोध गर्नुपर्ने भएको छ । आफ्नै घरपरिवारमा समेत कुरा गर्ने समय छ कि छैन भनेर बुझ्नुपर्ने अवस्था आएको छ । ठुला मान्छे मात्र होइन आजभोलि त बालबालिकाहरू पनि व्यस्त हुन्छन् । स्कुल, कोचिङ एवं होमवर्क आदिमै उनीहरूको पूरा दिन बित्छ । ठुलाले घर एवं अफिसको काममा व्यस्त हुने हुँदा कोही कसैसँग कुराकानी गर्ने फुर्सद नै हुँदैन । यसले गर्दा घरपरिवार, आफन्त, छोराछोरी बिचको सम्बन्ध पनि कता कता टाडिएको जस्तो महसुस हुन थालेको छ । यो अत्यन्तै दुःखद विषय हो । आजभोलि कोही कसैले पनि घरमा टिभी हेर्दैनन् । सबै जना मोबाइल हेर्दै एकान्तमा बस्छन् । मोबाइलका कारण आवश्यकतामा मात्र टिभी हेरिन्छ । कसैसित कोही कुरा गर्ने मुडमा हुँदैनन् । तर फेरि पनि सबै जना आआफ्नो मोबाइल र इन्टरनेटमा भने व्यस्त रहन्छन् । सोसल नेटवर्किङ साइट्स र इन्टरनेटले गर्दा हाम्रो संसार तीव्र गतिमा नकारात्मक दिशातिर बदलिँदैछ । प्रत्यक्षभन्दा अनलाइन फ्रेन्ड्ससित कुरा गर्न आजकल सहज भएको छ। तर आफ्नै घरका परिवारजनसित कुरा गर्न धेरै कठिन भएको छ । आफ्ना घरपरिवारको बारे केही थाहा नहुने तर टाढा–टाढा बसेका मान्छेको जीवनशैली, उनीहरूको रुटिन वा उनीहरू कहाँ के गर्छन्, कहाँ जान्छन् भन्ने बारे सबै थाहा हुन थालेको छ। आफन्तहरूका विषयमा कम जानकारी हुने र बुझ्ने इच्छा पनि त्यति नहुने गरेको छ । त्यसैले हाम्रो समाजमा आजकाल कम्युनिकेसन ग्याप बढ्दो छ । यसले ठुलो समस्या निम्त्याउन सक्छ । हिजोआज अधिकांश मानिस आफ्नो कामका बारेमा धेरै सोच्छन् र व्यस्त रहन्छन् अनि घरमा पनि कसैसित बोल्न चाहँदैनन् । त्यसले हाम्रो समाज र घरपरिवारमा कम्युनिकेसन ग्याप दिनप्रतिदिन बढ्दैछ । यसको तत्काल निवारण गर्न सकिएन भने भविष्यमा यसले ठुलै समस्या निम्त्याउन सक्छ ।
आजभोलि मानिसले आफ्नै परिवारमा केहि भन्छु वा केही उपहार दिन चाँहदा समेत समय नभएका कारण सम्बन्धमा चिसोपन आउन थालेको छ । वास्तविक कुरा एक अर्कामा शेयर गर्न नपाएपछि केहि गल्ती वा कमिकमजोरी नहुँदा पनि त्यत्तिकै सम्बन्ध बिग्रेको देखिन्छ । त्यसैले हामी अनावश्यक शङ्का उपशङ्काभन्दा पनि समयको सदुपयोग गरीआफ्नो परिवारमा समय दिनुपर्छ । कतिपय मानिस आफ्नो पार्टनरलाई महँगो उपहार दिन खोज्छन् तर पार्टनर उपहार होइन साथ र समय चाहिरहेका हुन्छन् । त्यसैले आजकल अनावश्यक रूपमा अन्य व्यक्तिसँग अफेयर्स विकसित हुन्छ र घरपरिवार बिग्रन जान्छ । श्रीमानश्रीमती दुवै जना अबेरसम्म कार्यक्षेत्रमा व्यस्त हुन्छन् र उनीहरू एकअर्कामा भन्दा पनि आफ्नो साथीभाइसित बढी समय बिताउँछन् । उनीहरू आफ्नो घरपरिवारमाभन्दा साथीभाईहरुसँग धेरै कुरा सेयर गर्न सहज ठान्ने गर्दछन् । जसले गर्दा घरपरिवारमा सम्बन्ध बिग्रदै जान्छ । त्यसपछि आफ्नै सम्बन्धमा भएको समस्या समाधान गर्नेभन्दा पनि त्यो समस्या झनै बढ्दै जान्छ र अन्त्यमा सम्बन्ध तोडिन्छ । आजभोलि नचाहँदा नचाहँदै समयमा त्यसको विषयमा नसोच्दा सम्बन्ध बिग्रन गएका धेरै उदाहरण छन् । बिस्तारै समय बित्दै गएपछि बिग्रेको सम्बन्ध बनाउन सोच्नु नै समय बर्बाद गर्नुजस्तो मान्छन् । एकआपसमा कुराकानीबाट समस्या सुल्झाउनुको साटो सबै जना आफ्नै दुनियाँमा रम्न ठिक मान्न थालेका छन् । यसले आजभोलि हाम्रो समाजमा ठुलो समस्या निम्ताएको छ ।
हामी जे जति पनि समस्या आउँछन् ती सबै कुरामा भरपुर छलफल गरी त्यसको निष्कर्ष निकाल्नतिर लाग्नुपर्छ । कुनै कम्युनिकेसन नै नगरी चुपचाप एक अर्कामा दोष लगाई बस्दा त्यो समस्या कहिल्यै निवारण हुँदैन। संवाद भनेको एकआपसमा यसो दुई–चार शब्द बोल्नु मात्र होइन । हरेक कुराको गहिराइमा पुगी मनैदेखि महसुस गर्नु र समस्याको हल गर्नु हो । आज बालबालिकाबिच बाबुआमा, हजुरबुबा हजुरआमा बसेर कथा सुनाउने कुरा, आफ्ना नातागोता बारे कुरा गर्ने, आफ्ना अनुभव सुनाउने, घरका सम्स्याका बारे बताउने, समूहमा बसेर छलफल गर्ने, योजना बनाउने कुराहररू सबै ओझेलमा परेर गए । घरमा अभिभावकबाट मिठो स्पर्श सहित नबोली धेरै कुरा व्यक्त हुन्थ्यो । आज जीवन त्यो क्षणको महसुस भएको छ । त्यति बेलाको रोमान्स र प्रेममा कहिलेकाहीँ खल्ती नै खाली हुँदा पनि कहिल्यै प्रेमको कमी हुँदैनथ्यो । जहाँ जति नै व्यस्त भए पनि बालबालिका, घरपरिवार र आफन्तका लागि समय हुन्थ्यो । तर आज ती सबै कुरा कहाँ कसरी पाइन्छ कसैलाई पत्तै छैन ।
अब हामीले खाली समस्या मात्र देखाएर केही हुँदैन । जहाँ जसरी भए पनि समयको ब्यवस्थापन गरी आफ्नो घरपरिवार, बालबालिका, आफन्त सबैलाई अभाव नखट्किने गरी मिलाएर हिड्नुपर्छ । समय अभाव भयो भन्दै सबै कुरा बिगार्दै बिलौना गर्नु ठिक होइन । यदि सम्बन्धमा कम्युनिकेसन ग्याप हुन्छ भने त्यसको पहिचान गरी जीवनशैली बदल्नुपर्छ । तर जीवनमा एकपटक पाएको जिन्दगी नै बर्बाद हुने गरी कुनै पनि कार्य गर्नु हुन्न । सकारात्मक सोचका साथ अगाडि बढ्दै जानुपर्छ, पक्कै पनि हरेक समस्या हल गर्ने उपाय निस्कन्छ । जहाँ जे नै भए पनि पहिलो भनेको घरपरिवार नै हो । त्यसपछि भनेको आफन्त र साथीभाइहरू हुन् । त्यसैले आवश्यकता र क्रमशः सबैलाई ठिक समयमा ठिक व्यवस्थापन सहित अगाडि बढ्दै जानु नै बुद्धिमानी हुनेछ । हाम्रा बालबालिकाले हिजोका कुरा जानेनन् , बुझेनन् भन्दै गर्दा हामीले बुझाउन के के प्रयास ग¥यौँ भन्ने कुरा पनि प्रमुख हो । त्यसैले अब हामी सबै मिली हाम्रा बालबालिकासँगै हामी पनि अहिलेका नयाँ डिभाइसलाई कसरी कहिले र कहाँ कहाँ चलाउने र यसमा झुम्मिने होइन कि यसमा भएको सुविधा उपयोग गर्नतिर लाग्नुपर्छ । तर आजभोलि हामीले ती डिभाइसको उपभोग होइन कि तिनले चाहिँ हामीलाई उपभोग गरी हाम्रा गरेक क्रियाकलाप बिग्रादै लान थालेकोमा हामी सबैको चिन्ता र चिन्तन हुन आवश्यक छ ।








