हाम्रो सामु खडा भएको आर्थिक संकट लामो समयदेखि कायमै छ । देशको अर्थतन्त्र यो अवस्थामा आउँनुमा खास दोष कस्को हो ? किन मुलुक आर्थिक रुपमा कम्जोर बन्दै गैरहेको छ ? यसको समाधानको उपायहरु केके हुन सक्छन् ? यो समस्या हाम्रो मात्र हो कि अन्तर्राष्ट्रिय रुपमा आएको हो ? यो समस्या कहिलेसम्म रहन सक्छ ?
यो हालको समस्यामा मात्र सिमित रहला कि पछि पनि थप समस्या निम्त्याउला ? यहि संकट लामो समयसम्म कायम रहने हो भने देशको अर्थ व्यवस्था कता जाला ? यसको दिर्घकालिन प्रभाव कस्तो रहला ? पुरै देशको अर्थतन्त्र ध्वस्त हुंदा जनताको अवस्था के होला ? विदेश दाताहरुले हाम्रो देशलाई कुन ढंगले हेर्लान् ? उद्योगी व्यवसायी तथा देशमा केही गर्छु भन्दै बैंकबाट ऋण लिएर व्यवसाय गर्ने ऋणी व्यववसायीको अवस्था झन् कस्तो होला ? अनि हरेक पेशा र व्यवसाय संकटमा परिरहदा वित्तिय क्षेत्र पनि संकटबाट कसरी जोगिएलान् ? माथिका यि प्रश्नहरु झट्ट हेर्दा नकारात्मक कोणबाट आएको जस्तो देखिए पनि अहिलेको वास्तविकता यहि हो । यो अनिश्चितता कहिले सम्म हो ? अहिले सबै जनजनको मनमनमा यहि प्रश्न उठिरहेको छ ।
अहिलेको वित्तिय संकट विश्वब्यापी रुपमा फैलिदो अवस्थामा छ । यसको मूख्य कारण केही शक्ति राष्ट्रहरु विचको लडाईं नै पहिलो हो । शक्ति देशहरुको विचमा लडाई हुंदा त्यस देशमा मात्र हैन त्यहाँ त्यस देशले अन्य देशलाई निर्यात गर्ने कच्चा पदार्थ लगाएतका सामाग्रीको मूल्यमा पर्ने असरले पनि अन्य देशको अर्थतन्त्रलाई ठूलै प्रभाव पार्दछ । यो दोश्रो प्रभाव हो । अझ विशेष गरेर तेल उत्पादन गरेर अन्य देशलाई निर्यात गर्ने देशहरुका विचमा लडाईं भयो भने त्यससंग र अन्य विविध खालका सम्बन्धित पक्षहरुलाई पनि ठूलो असर पर्दछ ।
किनकी तेलमा मूल्य बृद्धि हुने वित्तिकै त्यस मार्फत उत्पादित वस्तु र त्यसलाई बजारीकरण गर्न लाग्ने ठुवानीले पनि महंगी बढाउँछ र अभाव देखाउँछ । तेश्रो कारण भनेको जब युद्ध वा लडाईं हुन्छ त्यहाँ एक प्रकारको डर पैदा हुन्छ । त्यो डरले मान्छेलाई अरुको अगाडी आफ्नो सम्पत्ती जोगाउंन प्रेरित गर्दछ । त्यसो हुंदा भोली के पर्छ र कसो हुन्छ भनेर आफ्नो नगद सम्पत्तीलाई लुकाएर राख्न थाल्दछन् । जसले बजारमा पूँजी परिचालन हुनै सक्दैन । हरेकले आफ्नो सम्पत्ति घरैमा राख्ने र बैंक वित्तिय संस्थाहरुमा नलैजाने हो भने देशलाई तुरुन्त आर्थिक संकट लाग्दछ । अहिले हाम्रो देशमा भएको संकट पनि यिनै मध्यै उक हो ।
अहिलेको मूख्य समस्या भनेको एकापसमा छाएको संका मात्र हो । एकाध वित्तिय संस्थाले बदमासी गरेका कारण अहिले साना प्रकारका सहकारी संस्थाहरुलाई केही समस्या परेको देखिन्छ । संस्थाहरुमा विभिन्न शिर्षकमा जम्मा गरेको पैसा नै संस्थाको कुल पूँजी हो । यहि पूँजीलाई संस्थाको विनियम अनुसार खास प्रतिशत तरलताको व्यवस्थापन गरेर अरु रकम आफ्ना सदस्यहरुलाई लगानी गरिएको हुन्छ । हो त्यो लगानी गरेको रकमबाट नियमित रुपमा उठ्नु पर्ने किस्ता उठ्न नसक्दा संस्थाहरुमा पूँजी कमजोर बन्दै गएको हो । बचतमा रहेको पैसा निरन्तर फिर्ता भैरहने तर संस्थाले लगानी वा सदस्यलाई ऋण दिए बापत पाउनु पर्ने पैसा चै उठ्नै सकेको छैन । सदस्यहरुले आफुले लिएको ऋण समयमै निरन्तर रुपमा तिर्ने हो भने संस्थाहरुमा संकट उत्पन्न नै हुने थिएन । अहिले सहकारी वा साना प्रकारका वित्तिय संस्थाहरुमा भारी मात्रामा बचत फिर्ता हुने गरेको छ । सबैले एकैचोटी पैसा चाहियो भनेर माग्दा यो समस्या आएको हो । सबै सेवाग्राहीले एकै दिन सबै पैसा माग्ने हो भने सरकारको बैंकले त दिन सक्दैन भने प्राईभेटस्तरमा खुलेका अन्य वित्तिय संस्थाहरुल सक्ने त कुरै भएन ।
हामी नेपालीको बानी पनि बहुत अचम्मको छ । बजारमा हल्ला जे चल्छ त्यै कुरा सुनेर धारणा बनाउंने र लागु गर्न खोज्छौं । वास्तविक र यथार्थता के हो ? हुनु पर्ने के थियो भनेर जान्न चाहदैनौं । अहिले के भयो । सत्य के हो ? यस्तो अवस्थामा मेरो भूमिका के हुनु पर्दथ्यो । म के गरिरहेको छु र गर्नु पर्ने के थियो ? भन्ने कुरामा हाम्रो ध्यान कम जाने गर्दछ । जसले आफ्नो धारणामा टिकेर विवेक प्रयोग गर्न सक्दैन उसैले उसैले नकारात्मक कुरा गर्दै हिंड्ने गर्दछ । जहां बढि नकारात्मक कुरालाई जवर्जस्त लाद्न खोजिन्छ त्यहाँ अविश्वासको वातावरण गहिरिदै जान्छ । जहां अविश्वासलाई जवर्जस्त पत्याईदिनु पर्ने हुन्छ त्यहाँ विद्रोह हुनु स्वभाविक मानिन्छ । निरन्तर नकारात्मक मात्र कुरा गरेर भ्रम छर्ने समाजमा अन्तिममा सत्य के थियो भनेर पत्ता लगाउँन पनि समय लाग्ने गर्दछ ।
देश आर्थिक रुपमा दिन प्रतिदिन संकटमा फस्दै गैरहेको छ । देशको कुल पूँजी कम्जोर हुनु भनेको देश कम्जोर हुनु हो । सरकारले लक्ष्य राखेको राजश्व उठ्न सकेको छैन । विदेशी अनुदान आउनुको सट्टा वैदेशिक ऋण दिनप्रतिदिन बढ्दै गैरहेको छ । हरेक वस्तु महंगो भएको छ । नेपालको आफ्नो उत्पादन केही पनि छैन । भएको र गरेको उत्पादनलाई सरकारले बजारीकरणको अनुमति दिंदैन । निर्यातमा भन्दा पनि यो सरकार सामान आयात गर्नमा केन्द्रित छ । हामीले प्रयोग गर्ने गरेको खानेदेखि लगाउँने सम्मका सम्पूर्ण सामाग्री विदेशीले उत्पादन गरेकोलाई प्रयोग गरिरहेका छौं । यि सबै सामान किन्दा पैसा बाहिरिएको छ । खाने लाउनेमा मात्र हैन अनावश्यक विलासिताका सामानका कारण र अन्य विभिन्न कारणले पनि पैसा विदेशिएको छ ।
देशमै पैसा राख्ने, उद्योग खोल्ने, रोजगारी सिर्जना गर्ने र हरेक नेपालीलाई स्वावलम्बी बनाउँदै सम्बृद्ध नेपाल बनाउँने योजना सरकारसंग केही पनि छैन । सरकार आफै पनि कसरी टिक्ने र राज्य दोहन गरेर कमाउँने भन्ने ध्यानमा मात्र केन्द्रित छ । यो वित्तिय संकटको बेलामा सरकारले हरेक नागरिकको, पेशा र व्यवसायको सरक्षामा ध्यान दिनु पर्ने हो ।
तर कत्ति पनि त्यसो हुन सकेको छैन । सरकारमा जानु र मन्त्री बन्नु भनेको कमाउँने मौका यही हो भनेर बम्हलुट गर्ने ठाँउ भएको छ । आफु र आफ्नै दल भए सबै ठिक अरु सबै गलत भन्ने धारणाले सबैलाई गिजोलेको छ । हरेकले एकापसमा शंका गर्ने र गर्छु भन्नेलाई गर्न नदिने र आफु पनि केही नगर्ने प्रवृत्ति असाध्यै मौलाएको छ । यो समस्या अन्य निकायको तुलनामा साना प्रकारका वित्तिय संस्थामा बढी देखिन्छ । अब शंका र उपशंकामा भन्दा पनि सहकार्यमा कार्य गर्नुको विकल्प छैन । समस्याको पहिचान गर्ने र संस्थाका सबै मिलेर समाधानमा केन्द्रित हुनु जरुरी भैसकेको छ । यसो गर्न सकियो भने न संस्थाको ऋण डुब्छ न त सदस्यको बचत नै डुब्छ । अहिलेको वित्तिय क्षेत्रको समस्या भनेको लिन दौडेर जाने तिर्न जादै नजानुले आएको समस्या हो ।








