धुलिखेल, अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिले निर्माणको कामलाई तिब्रता नदिदा र नियम अनुसार कार्य नगर्दा जनताले निकै सास्ती व्यहोर्नु परेपछि प्रशासनले अग्रसरता लिदैं कामलाई तिब्र रुपमा निरन्तरता दिन सात दिनको म्याद दिइएको छ ।
उक्त सडकखण्डमा स्थानीयले कष्टकर यात्रा गर्नुपरेपछि धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार र स्तरोन्नतीको काम समयमानै सम्पन्न गर्न काभ्रेका जनप्रतिनिधि, प्रशासन तथा सडक डिभिजन कार्यालय भक्तपुरले ताकेता गरेको छ । सडक बिस्तार तथा स्तरोन्नती काम सुरु भएको १० महिना हुँदा जम्मा १० प्रतिशत मात्र काम भएपछि निर्माण पक्ष गौरी–पार्वती निर्माण सेवा प्रालि प्रति सबैले आक्रोश पोखेका छन । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।
चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन सात दिनको म्याद दिएकोमा त्यो म्याद यो हप्ता सकिन लाग्दा समेत कार्य गरेको नपाएपछि हिजो आईतबार पनि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल नेतृत्वको टोलीले सडक मै पुगेर तुरुन्तै खाल्डा खुल्डी पुरेर सवारी आवत जावत सहज बनाउन निर्देशन दिएको हो ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सरोकारवालाबीचको छलफलमा एक हप्ताभित्र सडक निर्माणले गति नलिए निर्माण कम्पनीलाई ठेक्का नै खारेज गर्नेसम्मको चेतावनी दिइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको ४७ प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए । मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता दिइएन भने सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ । डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रियामा समेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तीव्रता दिन एक हप्ताको ‘अल्टिमेटम’ दिइएको र समय सीमासम्म पनि निर्माण व्यवसायीले कामलाई अटेर गरेमा कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने बताए । उक्त सडकखण्ड विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कामलाई तिब्रता दिन निर्माण व्यवसायीलाई एक हप्ताको समय सिमा तोकिएको बताए । ‘धुलिखेलबाट केराघारीसम्म यात्रु सहजै पुग्न सक्ने स्थिती छैन, खाल्डा–खुल्डी धेरै छन्, यात्रुहरुलाई धेरै सकस छ, यात्रुलाई सकस दिएर निर्माण व्यवसायी आनन्दले बस्न पाउने छैनन् ।’ भोलिबाटै खाल्डा–खुल्डी पुर्ने कामलाई अघि बढाउन प्रमुख गौतमले निर्देशन दिए ।

निर्माण व्यवसायीले भोलिबाटै कामलाई तिब्रता दिन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तिब्रता दिन एक हप्ताको अल्टिमेटम दिएको समय सिममा पनि निर्माण व्यवसायीले कामलाई तिब्रता नदिएमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

ठेकेदारले सडक विस्तारका क्रममा ‘कटिङ’ बाट निस्किएको माटो र ढुंगा सप्लाईको कारणले काममा ढिलाई भएको बताएको छ । विस्तार र स्तरोन्नतीकोे क्रममा कटिङबाट निस्किएको माटो र ढुंगा पेटी ठेकेदार मार्फत दैनिक चाहिनेजतिमात्र एयरपोर्टमा लैजाने भएका कारण निर्माणमा ढिलाई भएको हो । गौरी–पार्वती निर्माण सेवा प्रा.लिका इन्जिनियर थानेश्वर प्रसाद शाहले धुलिखेलमा भएको सर्वपक्षीय भेलामा पेटी ठेकदार शम्भु प्रसाद कार्कीले कटिङबाट निस्किएको ३० हजार घन मिटर माटो र ढुंगा काठमाडौं स्थित एयरपोर्ट लैजानुपर्ने भन्दै लाने गरिएको जानकारी दिए । यसका ठेक्काका पेटी ठेकदार शम्भु प्रसाद कार्कीबाट बदमासी भएको छ । यहाँको माटो र ढुंगा चोरी भएको छ,’ शाहले भने,‘हामीले कयौं पटक रोक्न प्रयास गर्यौ, तर सकेनौं । उनका अनुसार, आफूलाई कति फाइदा हुन्छ, त्यही अनुसार नै कटिङ गरिन्छ, सडक बिस्तार तथा स्तरोन्नती कार्यमा ढिलाई हुनु यो पनि एउटा कारण हो ।’ अनाधिकृत रुपमा सडक खन्ने नाममा माटो र ढुंगा चोरी भएको रोक्न जिल्ला प्रशासन कार्यालयले आजैबाट निर्देशन दिने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए । –नव क्षितिज साप्ताहिकबाट