देशमा बढेको लामो आर्थिक संकटले प्राय जसो सबै व्यवसायहरु आर्थिक संकटमा परेका छन् । खर्च गर्नै पर्ने क्षेत्रहरु बाहेक अन्य क्षेत्र आर्थिक संकटले गर्दा चल्नै नसक्ने अवस्थामा पुगेका छन् । बजारमा संचालनमा रहेका हरेक प्रकारका पेशा वा व्यवसाय दिन प्रतिदिन संकटमा पर्दै गैरहेका छन् । अहिले प्रत्यक्ष रुपमा खर्च गर्नै पर्ने क्षेत्रहरु भन्नाले शिक्षा, स्वास्थ्य र खाद्यका व्यवसायहरु मात्र चलेको देखिन्छ । बच्चाहरुलाई नपढाई नहुने भएकोले शिक्षा क्षेत्र, उपचार नगरि नहुने भएकाले स्वास्थ्य क्षेत्र र बाँच्नका लागि खानु पर्ने भएकाले खाद्यान्नका पसलहरु चलीरहेका छन् । जानकार र व्यवसायमा संलग्नहरुका अनुसार यस क्षेत्रमा पनि विगतको जस्तो रकम उठ्न सजिलो छैन । यो चरम प्रकारको आर्थिक संकट अझ लामो समयसम्म रहने हो भने माथि उल्लेखित क्षेत्रहरु पनि कुनै दिनबाट बन्द नहोला भन्न सकिन्न ।
अब सबैको जिज्ञासा वा प्रश्न हुन सक्छ कि यो आर्थिक संकट आउनुको कारण के हुन सक्छ ? यो अवस्था कहिले सम्म रहन्छ ? यसको समाधान के हुन सक्छ ? देशको धनराशी कहाँ गयो ? कस्का कारणले यो समस्या आई रहेको छ ? अहिलेको आर्थिक संकटले भोलीका दिनमा केके असर हुन सक्छ ? भन्ने प्रश्नहरु उठ्नु स्वभाविक हो ।
यसको सरल र सहज उत्तर भनेको देशले लामो अवधिको एउटै सरकार नपाउँनु । एउटै दलको एकलौटी सरकार बन्न नसक्नु । एउटा सरकारले ल्याएको योजना र कार्यक्रमलाई अर्काे सरकार बने पछि हटाउँनु । सरकारको नजर विकास निर्माण भन्दा सरकार टिकाउँनमा ध्यान केन्द्रित हुनु । धेरै दलहरुको समिकरणले गठबन्धन सरकार निर्माण हुनु । सरकारमा धेरै दलको सहभागिता हुंदा सरकारको नीति तथा कार्यक्रम जनमुखि बन्न नसक्नु । हरेक दलको राजनैतिक नेतृत्व सहि ढंगले चल्न नसक्नु । देशको निम्ति भन्दा पनि आफु केन्द्रित भएर सरकार चलाउँनु नै मूख्य समस्या हो । नेतृत्वलाई देशको बृहत्तर हितमा केन्द्रित हुनुको सट्टा आफु सत्तामा पुगेको बेला टन्न कमाउँनु पर्छ भन्ने मानसिकताले गाजेको छ । अब फेरी मन्त्री भईन्छ कि भईंदैन तर मौकामा कमाई हाल्नु पर्छ भन्ने सोचले ग्रस्त भएका नेताका कारण यो संकट आएको हो । देश बनाउँनु पर्छ भन्ने भावनामा भन्दा आफु र आफ्ना मान्छेलाई कसरी व्यवस्थापन गर्ने र कमाउने ठाँउमा पु¥याउँने भन्ने चिन्ता र कुण्ठा बोकेका नेताहरुहरुले गर्दा देशले यो अवस्था भोग्नु परेको हो ।
हाम्रो देश विकास उन्मुख देशभित्र पर्दछ । यसको मतलव यो हो कि हामी अरु देशको सहयोग बिना आफै विकास गर्न सक्दैनौं । आफ्नै देशको विकासको लागि त हामी विदेशीसंग भिख र ऋण लिन बाध्य छौं भने संसारकै नमूनाको रुपमा नेताहरुलाई मन्त्री र सांसद बनाएर पालिरहेका छौं । देश चुर्लुम्म ऋणमा डुब्दा पनि संघ र प्रदेशको नाममा झण्डै सयवटा मन्त्री पालिरहेका छौं । तिनको सेवा गर्ने सुसारे र भान्सेहरुको संख्या उत्तिकै पालिरहेका छौं । यिनको सुरक्षाको नाममा राष्ट्र सेवकहरुलाई दुःख दिईएको छ । देशको सर्वागिंण विकासमा लगाउँनु पर्ने राज्यको ढुकुटी यिनिहरुले लिने तलब र सुविधा अनावश्यक खर्च भैरहेको छ । यिनले मौका पाएको बेलामा यि र यस प्रकारको सेवा र सुविधा बाहेक अन्य कति हदसम्म थप सेवा र सुविधा लेलान ? आफैंले वितरण गरेको बजेटबाट कति कमिशन, अनियमितता तथा भ्रष्टाचार गर्लान ? यिनले राज्यलाई भार पर्ने गरी राज्यको कति बजेट दोहन गर्लान ? अब हरेक नेपालीले यस विषयमा गंभिर सोच्नु जरुरी छ ।
अहिलेको आर्थिक संकट भनेको दलमा पहुंच पुगेको केही नेतृत्वले गरेको भ्रष्टाचारको रकम घरैमा वा श्रोत देखाउँन नपर्ने गरी विदेशी बैंकमा राख्नु । केही कर्मचारीतन्त्रले गरेको भ्रष्टाचारको रकम बैंक तथा वित्तिय संस्थाहरुमा लैजान नसक्नु । देशका ठूला व्यापारीले नेपालमा कमाएको पैसा विदेशमा लगेर बैंक किन्नु तथा उतै उद्योग खोल्नु । अलिअलि भएको साना प्रकारका वित्तिय संस्थाहरुको पैसामा ठूला प्रकारका बैंकले गिद्दे दृष्टि लगाउँनु । कतिपय बैंकहरुले सहकारीहरु भाग्छन पैसा हाम्रो बैंकमा राख्नुस भन्दै सहकारीका सदस्यहरुलाई त्रासमा पारेर उनिहरुको पैसा तान्नु । जनताको सारथी र अफ्ठेरो परेको जुनसुकै बेलामा सहयोग गर्ने सहकारीप्रति अफवाह फैलाउंनुले पनि बजारमा चलाएमान भैरहेको पैसालाई बैंकले खिच्नुले गर्दा पनि अहिले बजारमा पैसाको संकट देखिएको हो । ससानो प्रकारको कारोबारमा सहकारीहरुले आफ्ना सदस्यहरुलाई छिट्टो सेवा दिंदा जेजसरी पैसा बजारमा एकापसमा घुमिरहन्थ्यो । त्यसरी बजारमा घुम्ने पैसा घुम्न बन्द भएका कारण यो समस्या आएको हो ।
व्यापार व्यवसाय बन्द हुंदा सबैको कमाउँने ठाँउ गुमेको छ । धेरैको रोजगारी समेत गुमेको छ । व्यवसायमा सामान्य स्तरको आम्दानी गर्नेले आज घाटा व्यहोरी रहेको छ । आम्दानी गर्न नसक्दा खर्च गर्न सक्ने अवस्था धेरैको छैन । व्यस्त र धेरै भाडा तिरेर व्यवसाय गर्ने व्यवसायीहरु अहिले व्यवसाय निरन्तर घाटामा गएकोले अब चलाउँन नसक्ने भन्दै घरबेटीलाई साँचो जिम्मा लगाएर गाउँ फर्किन थालेका समाचारहरु आईरहेका छन् । यसरी व्यवसायीहरुको व्यवसाय चल्न नसक्दा सहकारीहरुले लगानी गरेको ऋणको किस्ता त परको कुरा व्याज पनि उठ्न सकेको छैन । यस्तो अवस्थामा सहकारीहरुले पनि सहज अवस्थामा बाहेक अहिले ऋण तर्फको असुली हुन नसक्दा पर्याप्त बचत फिर्ता गर्न सकेका छैनन् । त्यसैले यो कठिन अवस्थामा संस्था र ऋणी दुवैको विश्वास जित्दै ऋण र धन दुवैको सुरक्षा गर्नु सरोकारवाला सबैको दायित्व हो ।








