प्रिय पाठक, सबैलाई नव वर्ष २०८० को पावन अवसरमा सुस्वास्थ्य, उन्नती र आर्थिक प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना । विगत वर्षको तुलनामा यो वर्ष स्वास्थ्यका हिसावले कोरोना, डेंगु लगाएतका अन्य रोग तथा प्रकोपबाट बच्न सकियोस । आर्थिक संकटबाट मूक्ति मिलोस । आर्थिक पक्षलाई बलियो बनाउँन सरकारले उचित कदम चालोस । विगतका वर्षको तुलनामा कुनै पनि पक्षले वर्ष २०८० मा कुनै पनि प्रकारको पिडा कसैले पनि भोग्नु नपरोस फेरी पनि शुभकामना ।
विगत वर्षहरुमा भूकम्प, कोरोना तथा गहिरिंदो आर्थिक संकटले मानव जिवनलाई घोषित र अघोषित रुपमा विक्षिप्त बनायो । खस्किएको अर्थतन्त्रले सबै क्षेत्रलाई तहस नहस बनायो । सम्पत्ती भएर पनि नगद बनाउँन नसक्दा वा नगद नहुँदा धेरै भन्दा धेरै नागरिकको काम पनि अस्तब्यस्त भयो । यो नयाँ वर्षले विगतका कमि र कम्जारीको समिक्षा गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने प्रेरणा हाम्रो देशको मूल नेतृत्वलाई मिलोस । ब्यक्तिगत र निजी स्वार्थ भन्दा माथि उठेर देश र नागरिकको पक्षमा काम गर्ने सद्बुद्धि प्राप्त होस । सरकार बनाउँने र गिराउनेमा भन्दा पनि जनजिविकाको पक्षमा काम गर्ने प्रेरणा मिलोस । फेरी पनि सबैलाई शुभकामना ।
झण्डै विगत एक वर्ष अगाडिदेखि केहिले बाहेक अन्य साना प्रकारका वित्तिय संस्थाहरले आर्थिक संकट भोगि रहेका छन् । यस्को प्रत्यक्ष असर साना प्रकारका वित्तिय संस्थाहरुमा पर्ने वित्तिकै समान्यस्तरमा कारोबार गरिरहेका सदस्यहरको अवस्था दिनप्रतिदिन खस्किदै गैरहेको छ । न्युनतमस्तरमा कमाई गरेर खाने वर्ग यसबाट बढ्ता पिडित भएको छ । अर्थतन्त्रमा आएको मन्दिका कारण ठूला प्रकारका व्यवसायीको समस्या ठुलै छ भने निम्नस्तर भएकाहरुको अवस्था पनि उस्तै छ । उत्पादनकर्ताको सामान बिक्रि भएको छैन । व्यवसायीको ब्यापार चलेको छैन । उन्नत उत्पादन गर्ने अवस्था कहिंकतै छैन । हरेक कार्यालय वा अड्डाहरु विचौलियाहरुले चलाईरहेका छन् । आजै र एकै जनाबाट तुरुन्त हुनुपर्नै काम बिचौलियाको माध्यमबाट गराउँनु पर्ने बाध्यता छ । यो परिपाटीले गर्दा जनताको सहज पहूंचबाट शिघ्र सम्पन्न हुनु पर्ने काम विचौलियका कारण झन महंगो बन्दै गैरहेको छ । हरेक नागरिक हेरक क्षेत्रमा ठगिईरहेको छ । देशले आफ्ना नागरिकलाई सकेसम्म सस्तो प्रविधिमा धेरै सेवा दिनु पर्ने हुन्छ । विश्वका धेरै देशहरुमा यो नियम छ । राज्यका कारणले ब्यक्तिलाई हानी वा नाक्सान भएमा त्यस्को क्षतिपूर्ति राज्यले सम्बन्धित व्यक्तिलाई तिर्नु पर्ने हुन्छ । तर हाम्रो देशमा सकेसम्म देश र जनतालाई ठग्ने, भ्रष्टाचार गर्ने र नेतृत्वलाई मुठ्ठिमा राख्नेलाई सम्मानीत हुने गरेको देखिन्छ । यस प्रकारको बेथिति जहिलेसम्म रहन्छ त्यति बेलासम्म नागरिकले दुःख पाई नै रहन्छन् । यिनीहरु नै हुन जसले केही नेताहरुलाई आफ्नो मुठ्ठिमा राखेर सारा काम तमाम गर्न सक्छन् ।
नेपालको सन्दर्भमा कारोबारको खास महिना असार, असोज, कार्तिक र चैत्र महिनालाई लिईन्छ । यि महिनाहरु खास गरेर लगानी उठाउँनका लागि अलि बढि ताकेता गर्ने गरिन्छ । लगानी तथा असुली हरेक समय भैरहने प्रकृया नै हो । तर कुनै पनि कारणले रोकिएका किस्ता ब्याजलाई असुल उपर गर्नै पर्ने महिनाका रुपमा लिईन्छ । अन्य वर्षहरुको तुलनामा यो वर्ष हरेक हिसावले आर्थिक पक्ष कम्जोर रहेको वर्षको रुपमा रहेको छ । हरेक तहका हिसावले यो वर्ष आर्थिक रुपमा चुनौतीको वर्षको रुपमा रहेको छ । न सरकारले बिकासका कामहरु गर्न सक्यो । न त वैदेशिक आयोजनाका ठूला परियोजना नै आउँन सक्यो । न त नेपालमा रहेका उद्योग ब्यबसायले गति लिन सके । राज्यको ढुकुटिमा रहेको मौज्दात पनि क्रमशः घटेर कर्मचारीलाई तलब समेत खुवाउँन नसक्ने अवस्थामा यो सरकार पुगेको छ ।
अहिले साना प्रकारका वित्तिय संस्थाहरुमा देखिएको समस्या पनि माथि उल्लेखित कारणहरुबाट सिर्जना भएका हुन् । अफ्ठेरो परेको बेलामा काम लाग्छ भनेर गरेको बचत र विशेष बचतमा राखेको रकम छोटो समयमा धेरैले निकालेका कारण यो समस्या आएको हो । सहज अवस्थामा आएका हरेक प्रकारका बचतको शिर्षकमा राखिएका रकम लिन चै छिट्टै आउँने गरेका कारण पनि यो वित्तिय क्षेत्रमा यो समस्या देखिएको हो । तर संघ संस्थाले त्यही बचत गरेको रकम अन्य सदस्यहरुलाई लगानी गरेका छन् । संस्थाहरुले लगानी गरेका रकम उठ्न नसकेका कारण भन्ने वित्तिकै सदस्यको बचतको रकम फिर्ता हुन वा गर्न नसकेका मात्र हुन् । कतिपय अवस्थामा संस्थाका संचालकहरुले बैंकमा व्यक्तिगत ऋण लिएर संस्था मार्फत आफ्ना सदस्यलाई बचत फिर्ता गर्ने गरेका पनि छन् । नियमानुसार फिर्ता लिने र नियमानुसार ऋणीले पनि ऋण तिर्ने हो भने सबै समस्याको समाधान तत्काल हुन सक्छ । ऋण लिनेहरु तिर्न नआउंने र बचतका सदस्य सबैले एकैचोटी फिर्ता माग्न जादा समस्या हुने हो । यो समस्या समाधानका लागि सरोकारवाला पक्ष र संस्थाका सबै पक्ष बसेर समस्याको समाधान निकाल्नु जरुरी छ । यसका लागि विश्वासिलो र पत्यारिलो वातावरण बनाउँन सकिएन भने र हरेक वित्तिय संस्थाहरुले आफ्ना सदस्यलाई सहि सूचना समयमा दिन सकेनन् भने अविश्वासको संकट झन बढेर जान्छ ।
हरेक प्रकारका वित्तिय संस्थाहरको कार्ययोजना हुन्छ । त्यसकै आधारमा कुनै पनि संस्थाले आफ्नो कुल पूँजीका आधारमा लगानी तथा तरलताको ब्यवस्थापन गरेको हुन्छ । वार्षिक क्यालेण्डरका आधारमा कामको योजना बनाएको हुन्छ र सोही अनुसारको ब्यबस्था गरेको हुन्छ । तर यो पटक एकाध वित्तिय संस्था बाहेक सरकारले बनाएको आर्थि योजना त कम्जोर भयो भने अरु संस्थाहरुको त नहुने कुरै भएन । यो समस्या विश्वका केही देशहरुमा पनि देखिएका छन् । यो संकटको मूल कारण विश्वमै एउटै होे भन्न कदापी मिल्ने ठाँउ छैन । तिनिहरुमा आएका संकटको कारण र हाम्रो देशमा भएको कारण एउटै हो भन्न मिल्ने अवस्थाको छैन । अलिकति भन्न सकिने भनेको अन्तराष्ट्रिय बजारमै बढेको ईन्धनको मूल्यको सामानको प्रभाव मात्र हो । तर हाम्रो देशको हकमा भने भ्रष्ट नेता, भ्रष्ट कर्मचारीतन्त्र, अराजक लगानीकर्ता र राजनैतिक बिचौलियाका कारण यो समस्या आएको हो । यो देशका हरेक व्यक्तिको सम्पत्ती छानबिन गर्ने र कानून बिपरित कमाई गर्नेलाई जेल हाल्ने काम गर्ने हिम्मत यो सरकारले गर्न सक्ने हो सबै पैसा राज्यको ढुकुटीमा जम्मा हुन्छ । तर यो निकम्माको सरकारले त्यो काम गर्नै सक्दैन किनकी पैसावाला सबै भ्रष्टहरु नै सरकारमा छन् । जानी जानी आफ्नो सम्पत्ति माथि अंकुश लगाउँन कस्ले पो खोज्छ र ?
सरकार तथा नेतृत्वकर्तालाई दबाब दिउ । जनताको पैसाको सुरक्षाको ज्ञारेण्टी गर्ने वातावरण बनाऔं । संस्थाहरुलाइृ सहज ढंगबाट चल्न सक्ने वातावरण बनाऔं । संस्थाद्धारा लगानी गरिएका कर्जा उठाउँन सहजीकरण गरौं । नत्र भने संस्था मात्र हैन सबै सदस्यको पैसा डुब्ने खतरा बढेर जान्छ । सचेत रहौं । त्यसैले सबैले समन्वय गरौं र आफ्नो सम्पत्तीको सुरक्षा गरौं ।








