हरेक वर्ष १४ फेब्रुअरीमा विश्वभर भ्यालेन्टाइन्स डे ( प्रणय दिवस ) मनाउने गरिन्छ । पछिल्लो समय विश्वभर भ्यालेन्टाइन्स डे पर्वकै रूपमा स्थापित भएकोछ । विशेष गरी युवा पुस्ताले उत्साहकासाथ यो पर्व मनाउने गर्दछन् । आजभोलि नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने चलन बढ्दै गएकोछ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवसको रुपमा मनाउने गरिएको छ ।

तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू।’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरे ।

यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा पनि लिने गरेका छन् ।

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन (किस) डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ ।

यसरी कुनै पनि पर्व मनाउनु राम्रो पक्ष हो भने यसलाई गलत तरिकाले मनाउनु र आफ्नो देशको परम्परा र संस्कृतिलाई बिगारेर बाहिरको परम्परा मान्दै जाँदा त्यसले देशभक्तिमा असर गर्दछ । त्यसकारण हामीले आफ्नो परम्परालाई असर नपर्ने गरि कुनै पनि पर्व मनाउनुपर्छ । यसमै हामी सबैको भलो छ ।