बनेपा, काठमाडौ विश्वविद्यालय स्कुल अफ ल का विद्यार्थीद्वारा संचालित नेपाली कानुनी साहित्य समितिले पिडिएस नेपाल विद्यार्थी संजालसँगको सहकार्यमा राष्ट्रिय कविता महोत्सव–२०७९, आयोजना गरेको छ । महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता, सन्देशमुलक नाटक प्रदर्शन र सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
महोत्सवमा भौतिक रुपमा र प्रविधिको माध्यमबाट सुदुरपश्चिमदेखि बागमती प्रदेश सम्मका विद्यार्थीलाई एकै ठाउँमा ल्याइएको थियो । महोत्सवमा जम्मा ७० जना हाराहारीमा सहभागीहरु उपस्थित भएका थिए । धुलिखेल नगरपालिका सभाहलको प्रेक्षालयमा संचालित महोत्सवको प्रमुख अतिथि चर्चित गितकार एवम् साहित्यकार हरिहर तिमिल्सिना थिए भने विशिष्ट अतिथिको रुपमा पिडिएस नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता अजय शंकर झा र सोहि संस्थाका अध्यक्ष तथा पूर्व मुख्य न्यायाधीश एकराज आचार्य उपस्थित थिए ।
महोत्सवमा संचालित विद्यार्थी केन्द्रित कविता प्रतियोगितामा नेपाली भाषा विज्ञ डा.अम्बु भवानी कार्की, चर्चित कवि तथा समाजसेवी राजेन्द्र ओझा, चर्चित कवि सुवास सिंह पराजुली र चर्चित कवि रञ्जना निरौला सम्मिलित चार सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । उक्त टोलिले विद्यार्थी कविहरुको कवितालाई सुक्ष्म रुपमा केलाएर निर्णय गर्दा कवि प्रतिक अधिकारीले प्रतियोगितामा प्रथम, कवि सुजन अछामी दोस्रो, कवि स्वस्ति बास्तोला तेस्रो कवि कृतिका लामिछानेले चौथो स्थान हासिल गर्न सफल भएका थिए । –नव क्षितिज साप्ताहिकबाट








