बनेपा, गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा केहि पशुचौपायाको मृत्यु भयो । अहिले महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको संक्रमण देखिएको छ ।

गाउँपालिकामा देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित् भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो रेबिज रोग थप फैलन नदिन तथा रोकथामका लागि हामी लाग्नु आवश्यक बनेको छ । त्यसैले यो बारेमा केहि जानकारी पस्केका छौ ।
पशुबाट मानिसमा सर्ने रोग हो, रेबिज । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ । घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्राय कुकुरको टोकाइबाट मानिसमा सर्छ ।

यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई पानीबाट डराउने रोग वा हाइड्रोफोबिया पनि भनिन्छ । रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ ।

रेबिज १५० भन्दा बढी देशहरूमा र अन्टार्कटिका बाहेक सबै महादेशमा देखा परेको छ । रेबिज देखा परेको क्षेत्रमा विश्वको ३ अर्ब भन्दा अधिक मानिसहरू बसोबास गर्छन् । अस्ट्रेलिया र जापानसहित पश्चिम युरोपमा धेरै देशहरूमा कुकुरमा रेबिज देखिएको छैन । धेरै प्रशान्त टापुहरूमा रेबिज छैन ।
मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ । यो कुन जनावरले टोकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ । गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ । स्तनधारी प्राणी र चराहरूले आफ्नो शरीरको तापक्रमलाई बाह्य वातावरण अनुसार सँधै सन्तुलनमा राख्ने भएकोले भाइरसलाई अनुकुल अवस्था उत्पन्न हुन्छ । तर सर्प, माछा जस्ता जीवहरूमा यो क्षमता नहुने भएकोले उनीहरूमा लाईसा भाइरसको असर रहदैन । त्यस्ता जीवहरू यो रोगबाट मुक्त हुन्छन् ।

यो रोग लागेको जनावरहरूमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो । धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ ।

यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन् । रोगी कुकुर पनि भुक्न खोज्छ । तर सास सुकेको हुन्छ । भुक्दा सास आँउदैन । रेबिज रोग लागेको कुकुरले मुखबाट ¥याल फाल्दै हिँडेको देखिन्छ । त्यस्तै रेबिज रोग लागेको मान्छे पानीबाट डराउँछ । रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ । रेबिजको पहिलो अवस्था, टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना–तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था, चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने । जोसँग र जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तिर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।
तेस्रो अवस्था, ¥याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।

रेबिज रोगको असर दिमागमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुन सक्छ । रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छन । भने रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शत प्रतिशत मर्दछन् ।
रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
त्यसो गर्दा ‘इन्क्यूबेशन’ कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ । पशुमा वा मानिसमा एक पटक रेबिज सङ्क्रमण भइसकेपछि त्यसको उपचार सम्भव नभएकोले रेबिजबाट बच्नका लागि कुनै पनि जनावरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन दिनुपर्ने हुन्छ । त्यस्तो खोप सकेसम्म टोकेको दिन, तेस्रो दिन र सातौँ दिन लगाउनुपर्छ ।
मानिसमा लगाउने रेबिजविरुद्धको खोप पहिले नेपालमै उत्पादन हुने गरेकोमा नयाँ प्रविधिको खोप आएपछि सन् २००६ देखि त्यसको उत्पादन बन्द भएको छ । तर कुकुरमा लगाइने रेबिजको खोप अहिले पनि उत्पादन भइरहेको छ ।