पनौती, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं बागमति प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईंको वडाका नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन ।
पनौती नगरपालिकामा समाजवादीको वडा नै रित्तिएको यो दोस्रो वडा हो । यसअघि वडा नं. ११ बाट पनि सिंगो वडा कमिटी एमालेमा समाहित भएको थियो । उनिहरुलाई आईतबार प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य कुमार थापा, प्रदेश कमिटी सदस्य भीम न्यौपाने, एमाले पनौती नगर अध्यक्ष सुरेश हुमागाईं, वडा कमिटी अध्यक्ष ईश्वर जंगम लगायतले समाजवादीको वडा कमिटीलाई एमालेमा समाहित गराएका हुन् ।
सो वडामा नेकपा समाजबादीले ६ मतले एमालेका उम्मेदवारलाई पराजय गराउँदै वडा अध्यक्ष पदमा विजयी हासिल गरेको थियो । वडा अध्यक्ष बाहेक नेकपा समाजबादीका सबै नेता कार्यकर्ता एमालेमा फर्किएको घोषणा गरेका छन् । उक्त वडा स्थायी घर भएका नेकपा समाजबादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को २ बाट उम्मेदवार दिएर गठवन्धनका कारण फिर्ता लिएका थिए ।
एमालेमा फर्कनेहरुमा समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, नगर कमिटी उपाध्यक्ष देवराज केसी, वडा कमिटी सहइन्चार्ज क्षेत्रवहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रल्हाद केसी, किसान महासंघका जिल्ला कमिटी सदस्य उमेश हुमागाईं, यवा संघका पनौती नगर कमिटी सदस्य मनोज कार्की रहेका छन् । यस्तै अनेमसंघ उपाध्यक्ष प्रिया खत्री, वडा कमिटी उपाध्यक्ष दुर्गावहादुर लामा, वडा कमिटी उपसचिव निमा लामा, अनेमसंघ वडा कमिटी सचिव रिता केसी, वडा कमिटी सदस्यहरु सांगे तामाङ, सोनाम सिंह तामाङ, नहकुल केसी, राजेन्द्र तामाङ, सुरेन्द्र केसी लगायतरहेका छन् । नेकपा समाजवादीले गठवन्धनबाट उचित स्थान नपाउनु तथा पार्टी फुटाउँदाको उदेश्य अनुरुप पार्टी संचालन नहुनु लगायतका थुप्रै कारण देखाउँदै समाजवादीका नेता कार्यकर्ताहरु एमाले फर्किन थालेका हुन् । –नव क्षितिज साप्ताहिकबाट








