तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान एवं मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ आजभोलि मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही स्थानमा पनि मनाइन्छ । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन् ।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि नै चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइनुको साथै नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन राती १२ बजे अगाडि भोलिपल्ट बर्त बस्न गा¥हो नहोस् भनेर विशेष महत्वका साथ विभिन्न खानाको परिकार बनाई दर खाने गरिन्छ ।

आजभोलि तिज पर्वलाई अलि भट्किलो बनाउन थालियो । यसले हाम्रो संस्कृतीको जगेर्ना गर्नेभन्दा पनि बिकृति ल्याउने हो कि भन्ने डर बड्न थालेको छ । दर खाने भनेर १÷२ महिनै अगाडिदेखि सबैको घर, अफिस, संघ संगठन, राजनीतिक पार्टीका सबै तह, स्कुल कलेजमा पालैपालो गर्दा यसले कस्तो संदेश दिने हो ? दर किन र केका लागि कहिले खाने भन्ने कुराको महत्व छाडेर अनावश्यक रुपमा उदेश्य विपरीत हुँदा यसले दिने संदेश के हो भन्ने कुरा बुझ्न आजभोलि अलि गा¥हो भएको छ । यसले समयको बर्बाद, आर्थिक नोक्सानी, देखासेखी बडाएको छ । सक्ने र हुने खानेलाई त ठिकै होला। तर जसलाई दैनिक काम गरेर दैनिकी टार्नु परेको छ, मासिक तलबले घरपरिवार बल्ल बल्ल धन्न गा¥हो छ त्यस्तो परिवारले कसरी यो सब गर्न सक्छ ? त्यसैले तिजलाई पुरानै तरिकाले मनाउन तिर लागौं । यो अनावश्यक रुपले महिनौं दिन अगाडिदेखि दर खाने भनेर यसको मुल मर्म्लाई विर्सेर अगाडि बढ्न छोडौं ।

अब हामीले हाम्रो धार्मिक महत्व अनुसार तिजमा बर्तको अघिल्लो दिन रातको १२ बजे अगाडि आफ्ना चेलीबेटीलाई भोलिपल्ट बर्त बस्न गा¥हो हुन्छ भनेर विविध मिष्ठान्न परिकार बनाएर खान दिने, बर्तको दिन सबै चेलीबेटी सँगै बसेर मनको बह पोख्दै गीत गाउँदै नाचगान गर्ने , नाचगान गर्दै सजिसजाउ भएर मठमन्दिर जाने, दर्शन गरि बेलुका घर फर्केर गाउँको कुनै एक प्रतिष्ठित घरमा रातभर नाचगान गरि बस्ने चलनले आज पनि सबैलाई सम्झना दिलाइरहेको छ । बर्तको भोलिपल्ट “चौथी“ जसलाई काँक्रो चोरेर खाने दिनको रुपमा पनि चिनिन्छ । यो दिन गाउँभरिका बारिमा राती नै गएर काँक्रो लगायत फलफुल चोरेर खाने र अलिअलि उल्फट्याङ काम पनि गर्ने चलन आज पनि सम्झेर रमाइलो लाग्छ। पर्सिपल्ट पन्चमीको दिन सबैजना चेलीबेटीहरु नाँच्दै गाउँदै नजिकैको खोलामा नुहाउन जाने र फेरि फर्कदा पनि नाँच्दै गाउँदै आउने गरेको दिन आज पनि उत्तिकै सम्झन लायक छन् ।

यसरी मनाउने गरेको तिजलाई आज यसको मर्म र उदेश्य विपतित महिनौं दिनसम्म मनाउनाले यसको महत्व बढ्ने होइन घट्दै गएको छ । हामीले तिजको दिन अनावश्यक रुपमा अरुलाई देखाउन भट्किलो तवरले गरगहना, मंहगा– मंहगा लत्ता कपडा लगाउनु हुँदैन । यसले सकारात्मकभन्दा नकारात्मक संदेश बढि जान्छ । भिडभाडमा चोर्ने र हराउने डर पनि हुन्छ भने जसले लगाउन सक्दैनन् उनीहरुको लागि देखाउन लगाएको जस्तो पनि लाग्दछ । त्यसैले चाडभाड भनेको सबैजना खुशी हुन मनाउने हो ताकि हामीले गरेको कार्यले अरु कसैलाई पनि नराम्रो अनुभुती नहोस् । अब हामीले हाम्रा रितिरिवाज, चाड पर्वलाई त्यसको मुल मर्म अनुसार नै मनाउनु पर्छ अनि मात्र त्यसको महत्त्व रहन्छ । आशा छ हामी सबै बुझ्ने अग्रजले यसको मर्म अनुसार नै अगाडि बढ्ने छौं र हाम्रा सबै चाड पर्वको मुल मर्मलाई बुझेर त्यसको महत्व नबिग्रने गरि मनाइने छ ।–नव क्षितिज साप्ताहिकबाट