मंगलबार नागको पूजाआराधना गरि नाग पञ्चमी मनाईन्छ । हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजाआराधना गरिन्छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । यो दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ पनि । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने भनाई रहेको छ ।