बनेपा, परिवार नियोजन संघ काभ्रे बनेपाको अयोजनामा सुरक्षित गर्भपतन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया भएको छ । शुक्रबार बनेपाको परिवार नियोजनको हलमा अन्तरक्रिया भएको हो ।

नेपालमा भएको कानुनी मान्यताको आधारमा विषेश अवस्थामा सुरक्षित तरिकाबाट गर्भपतन गर्न पाउने अधिकारको वारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी‚ सञ्चारकर्मी‚ मानव अधिकारकर्मी लगायतको उपस्थित रहेको थियो ।

अन्तरक्रियामा परिवार नियोजन संघ बनेपाको शाखा प्रमुख तुलसी देवी मानन्धरले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो । चेतनाको कमीका कारण कानुनी मान्यताको आधारमा सुरक्षीत ढंगबाट गरिने गर्भपतनलाई कही कतै गलत व्याख्या भएकोले सो गलत व्याख्यालाई चिर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले सन २००२ देखि नेपालमा गर्भपतन सम्बन्धी कानुनी मान्यता पाएको बताउनु भयो । कानुनी मान्यताको आधारमा गर्भपतन नगरी नहुने अवस्थामा सहज र सरल तरिकाले गर्भपतन कार्यको सुरुवात गरिएको बताउनु भयो । उहाँले थप्नुभयो गरिबको रेखामुनि रहेका‚ कुनैपनि पहुँच नरहेकाहरूको वाध्यतालाई मध्यनजर राख्दै नेपाल परिवार नियोजन संघले सुरक्षित गर्भपतन कार्यको सुरुवात गरेको बताउनु भयो ।
नेपाल परिवार नियोजन संघ पाँचखालका प्रमुख रमा दाहालले परिवार नियोजन संघले खेलेको भूमिका साथै सुरक्षित गर्भपतनको बारेमा प्रशिक्षणात्मक ढंगले जानकारी गराउदै परिवार नियोजन संघले कानुनी मान्यता पाएको २० बर्षको अवधिमा सुरक्षित गर्भपतन गराउने कार्यको साथै निसन्तान दम्पत्तिका लागि टेष्टट्युब बाट सन्तानको व्यवस्था गर्ने र तेस्रो लिंगिहरुको लागि समेत सन्तानको इच्छा पुरा गर्ने कार्य गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ काभ्रेका कोषाध्यक्ष प्रकाश कायष्थले सुरक्षित गर्भ पतन गर्ने कानुनी मान्यता पश्चात पीडामा रहेका महिलाहरूको बाच्न पाउने अधिकार सुनिश्चित भएको बताउनु भयो । कार्यक्रम नेपाल परिवार नियोजन संघ काभ्रेका सचिव बद्रि वहादुर खत्रिको सभापतित्वमा सम्पन्न भएको थियो । –नव क्षितिज साप्ताहिकबाट