बनेपा, पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३१ जना सङ्क्रमण मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ सय ७८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो केही दिनयता देशभर संक्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसैले सचेत रहन जरुरी छ ।

यहि क्रममा काभ्रे जिल्लामा रहेका ५ वर्षदेखि १२ वर्षमुनिका ८६ प्रतिशत बालबालिकालाई कोरोना सङ्क्रमण बिरुद्धको ‘फाइजर वायोएनटेक’ खोप लगाइएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
असार ९ देखि १७ गतेसम्म जिल्लाका १३ वटै स्थानीय तहमा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाको लागि खोप अभियान सञ्चालन गरेको थियो । कार्यालयका अनुसार लक्ष्यको ८६ प्रतिशत बालबालिकालाई फाइजर वायोएनटेक खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय काभ्रेमा प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईका अनुसार जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका ४४ हजार ६५६ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा ३८ हजार २२७ बालबालिकालाई खोप लगाइएको हो ।

खोप अभियानमा जिल्लाको चौरीदेउराली गाउँपालिकामा ९६६, भुम्लु गाउँपालिकामा एक हजार १४४ जना, मण्डनदेउपुर नगरपालिकामा दुई हजार ९३३, बनेपा नगरपालिकामा दश हजार ३१६ जना, धुलिखेल नगरपालिकामा तीन हजार २७०, तेमाल गाउँपालिकामा एक हजार ६६ जना, नमोबुद्ध नगरपालिकामा दुई हजार १०९ जना, पनौती नगरपालिकामा पाँच हजार ४८६ जना, बेथानचोक गाउँपालिकामा एक हजार २८३ जना, रोशी गाउँपालिकामा दुई हजार ४०६ जना, महाभारत गाउँपालिकामा एक हजार ७६४ जना र खानीखोला गाउँपालिकाका एक हजार ६६४ जना बालबालिकालाई कोरोना बिरुद्धको फाइजर वायोएनटेक खोप लगाइएको छ ।–नव क्षितिज साप्ताहिकबाट