नेकपा एमाले मण्डनदेउपुरकी नेतृ एवं उपप्रमुख पदकी उम्मेदवार सरिता ढकालले गठबन्धनले महिला अधिकार कुण्ठित पार्ने काम गरेको बताउनुभएको छ । नेकपा एमाले काभ्रेको पूर्व जिल्ला कमिटि सदस्य समेत रहि महिला आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनुभएकी नेतृ ढकालले गठबन्धनका नाममा संविधानमा स्थापित अधिकारमाथि गठबन्धनले प्रतिबन्ध लगाउने प्रयास गरेको बताउनुभएको छ ।

काभ्रेको मण्डनदेउपुरमा जनताको घरदैलोमा पुगेर मत माग्ने क्रममा उहाँले संविधानले पालिकाको प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिला हुनुपर्ने व्यवस्थालाई स्थापित गरेको भएपनि पाँचवटा दलहरूमिलेर महिला निषेध गरेको आरोप लगाउँदै नेतृ ढकालले भन्नुभयो “म महिलाको अधिकार सुनिश्चितताका लागि निर्वाचनमा होमिएको हुँ । मण्डनदेउपुर क्षेत्रका महिलालाई व्यवसायीक बनाउँदै बैंक तथा वित्तिय संस्थाको पहुँचमा पुर्याउन र आत्मनिर्भर बनाउने अभियानमा लाग्नेछु ।”

उहाँले मण्डनदेउपुरका हरेक महिलाको बैंक तथा सहकारीमा बचत खाता हुने व्यवस्था गर्न र महिलालाई व्यवसायिक बनाउँदै आय आर्जनमा बृद्धि गराउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिलालाई सिप विकासको तालिम दिएर उनिहरूले गर्न चाहेको पेशा व्यवसायमा दक्ष बनाउँदै उद्योग, कलकारखाना, कृषि लगायतका क्षेत्रमा लगाउने तथा उनिहरूले उत्पादन गरेका सेवा तथा वस्तुको बजारिकरण, उत्पादनमुलक कार्यका लागि आवश्यक सामग्रीहरू सहज र सहुलियत मूल्यमा उपलब्ध हुने व्यवस्था समेत मिलाउने ढकालले बताउनु भयो।