बनेपा, आगामी पुष २३ गते धुलिखेलमा हुने एमाले काभ्रे जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । केन्द्रीय निर्णय अनुसार पुष २३ गते सबै जिल्लाको अधिवेशन हुदै छ ।
अधिवेशन तयारीका लागी नेकपा एमाले काभ्रेको शनिबार बसेको बैठकले विभिन्न समितिहरु गठन गरेको छ । जसमा मुलव्यवस्थापन समिती अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठको अध्यक्षतामा त्यस्तै प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा सचिव नारायण पाण्डे, प्रचार–प्रसार उपसमितिको संयोजकमा उप–सचिव इन्द्र तामाङ, जन परिचालन उपसमितिको संयोजकमा कञ्चन अधिकारी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा राकेश लामा, राजनितिक तथा आर्थिक प्रतिवेदन तयारी समितिको संयोजकमा अशोक व्याञ्जु, खाना तथा आवास व्यवस्थापन समितिको संयोजकमा निराजन जंगम, मञ्च व्यवस्थापन उप–समितिको संयोजकमा बिनोद पराजुली, अर्थिक व्यवस्थापन उप–समितिको संयोजकमा अशोक व्याञ्जु रहनु भएको छ । नेकपा एमाले काभ्रेको अधिवेशनले पदाधिकारी सहित १ सय ९ जनाको जिल्ला कमिटी निर्माण गर्ने छ । जसका लागि आगामी १०गते जिल्लाका सबै वडाबाट प्रतिनिधिहरु छनोट हुने छन । प्रतिनिधिहरुहरु ४५ संगठित सदस्य बराबर २ पुरुष र १ महिलाका दरले छनोट हुने छन ।

यसैबिच नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले अधिवेशन ऐतिहासिक हुने दावी गर्नुभएको छ । नेकपा एमाले धुलिखेल नगर कमिटिको शनिवार कार्यालय उद्घाटन गर्दै नेता बाँस्कोटाले एमाले काभ्रेको जिल्ला अधिवेशनमा ५० हजार नागरिक सहभागि हुने बताउनुभयो ।
बाँस्कोटाले नेकपा एमालेको इतिहास एमालेनै तोड्ने बताउँदै यस पटकको जिल्ला अधिवेशनले समेत उक्त कुरालाई पुष्टि गर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेबाट चोइटिएर गएका व्यक्तिहरुले आगामी निर्वाचनमा सूर्य वा रुखमा भोट हाल्नुपर्ने बाध्यतामा रहने बताउनुभयो ।
एमालेको जिल्ला अधिवेशन राजनीतिक, बैचारिक, सांगठनिक, प्रचारप्रसार र जनपरिचालन र व्यवस्थापनको हिसाबले समेत ऐतिहासिक हुने बताउदै जिल्ला अधिवेशनको व्यवस्थापन एमाले धुलिखेल नगर कमिटिले गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेबाट केन्द्रिय कमिटिमा निर्वाचित र मनोनयन भएका गोकुल बाँस्कोटा, रेशम लामा, नविना लामा र रुक्मिणी रानालाई बधाई तथा सम्मान पत्रले सम्मान गरिएको कार्यक्रम एमाले धुलिखेल नगर कमिटि अध्यक्ष दयाराम महतको सभापतित्वमा भएको थियो । –नव क्षितिज साप्ताहिकबाट