उनका अनुसार ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त अभियानमा घुस तथा आर्थिक प्रलोभन देखाउने सवारी चालकलाई कार्वाही गरेको थियो । अभियान सुरु भएदेखि आजसम्म ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने २० सवारी साधनलाई कार्वाही गरिएको प्रमुख तामाङले जानकारी दिए । २० सवारीको घुस रकम फिर्ता गराई कसुर अनुसारको जरिवाना गरेको उनले बताए । अब आइन्दा फेरि पनि आर्थिक प्रलोभन देखाउन आएमा उक्त सवारी चालक र सवारी धनी लाई मुद्दा समेत चलाइने प्रमुखले जानकारी दिए ।
घुस तथा आर्थिक प्रलोभन देखाउने कार्य कानुन विपरित भएको र यसको रोकथामका लागि ट्राफिक प्रहरीले अभियान स्वरुप कार्यक्रम सञ्चालन गरेको हो,’ प्रमुख तामाङले भने, ‘ट्राफिक प्रहरीले अहिलेलाई पहिलो पटक भएकाले सवारी चालक र सवारी धनीलाई सम्झाई बुझाई गरेर सो कार्य नगर्नका लागि हस्ताक्षर गराइएको छ । यस्तो कार्य फेरि पनि दोहोरिएमा कानुन अुनसार कार्वाही गरिनेछ ।’
अस्थायी ट्राफिक प्रहरी पोष्ट खावा, काभ्रेभञ्ज्याङ, पाँचखाल, दोलालघाट, भकुण्डेबेशी र जिल्ला ट्राफिक कार्यालयमा ड्यूटीमा रहेका ट्राफिक प्रहरीलाई घुस खुवाउने प्रयास भएको र घुस खुवाउन खोज्ने सवारी साधनका चालकलाई घु्स वापतको रकम फिर्ता गराई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार सवारी चालक एवं सवारी धनीले ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने, महिनावारी तलब उपलब्ध गराउने जस्ता कार्यको प्रयास भएको थियो । उक्त कार्यमा अधिकांश ट्रिपर, मिनी ट्रिपर तथा मालवहाक सवारी साधनका चालक एवं सवारी धनी संलग्न भएको कार्यालयले जनाएको छ ।








