काभ्रे । रोशी गाउँपालिकामा दर्ता भएको बोलपत्रको फर्म कब्जामा लिने प्रयास भएको घटना सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाको संरक्षणमा रहेका नातामा भाई पर्ने गुण्डागर्दीमा संलग्न लोठे भनिने बुद्ध लामाले दर्ता भएका बोलपत्रका फाइल नियन्त्रणमा लिने प्रयास गरेका हुन् ।

लोठेले गाउँपालिकाको दराजबाटै दर्ता भएका टेण्डरका फाइल कब्जामा लिएपनि यो घटना भित्रिभित्रै सामुसाम पारिएको छ । अध्यक्ष लामाले नै उक्त घटना लुकाउने प्रयास गरेको आरोप छ ।
फाइल लुट्ने प्रयासका बारेमा कुरा गर्न खोज्दा बुद्ध लामा (लोठे) सम्पर्कमा आउन र जानकारी दिन चाहेनन् ।

कब्जामा लिएका फाइलको घटना सामसमु पार्न केही दिन रोशी गाउँपालिकाले टेण्डर खोल्ने दिन सारेपनि अहिले भने उक्त टेण्डर खोलिसकिएको छ ।
करोडौंभन्दा माथिका योजनाका खोलिएका टेण्डरमा रोशी गाउँपालिकामा जम्मा चार वटा फर्ममात्र दर्ता भएका थिए ।
त्यसोत रोशी गाउँपालिकामा भित्र भित्रै टेण्डरको सेडिङको मिलाउने गरिदै आएको समेत आरोप लाग्ने गरेको छ ।
गाउँपालिका अध्यक्ष दलबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल र इन्जिनियर निर्मल लामाको मिलिमतोमा ठेक्काजति अध्यक्षका भाइ, भान्जालगायतलाई दिने गरिएको व्यवसायीहरु बताउँछन् ।
निर्माण व्यवसायमा संलग्न एक व्यवसायीका अनुसार रोशी गाउँपालिकाले टेण्डर प्रक्रियालाई देखावटी बनाई ठेक्कामा पनि नियम मिचेर रकम भुक्तानि दिने गरिएको छ । उनका अनुसार ‘ठेक्का प्रक्रिया त देखावटी मात्र हो । सूचना प्रकाशित भएपछि ढोकामा गुण्डा राखेर निर्माण व्यवसायीलाई कार्यालय भित्र छिर्न समेत दिँइदैन, यदि भित्र छिरिहाले पनि मुस्किलले प्रशासकीय अधिकृतले फर्म दिने गर्छन् । सेटिङका फर्म भने इन्जिनियरले आफैंले बोकेर ल्याएर दर्ता गर्छन् ।’
रोशी गाउँपालिकाको यस्तो हर्कत केही दिन अघि दर्ता भएका गोप्य कागजपत्र बाह्य व्यक्तिका हातमा पुगेपछि सार्वजनिक भएको हो । निर्माण व्यवसायी महासंघ काभ्रेमा ५ सयको हाराहारीमा फर्म आबद्ध छन् । अन्य स्थानीय तहमा एउटा ठेक्काको सूचनामा २० वटा भन्दा बढी फर्म दर्ता हुँदा रोशी गाउँपालिकामा भने जति जसका फर्म गाउँपालिकाले दर्ता गर्न चाहान्छ, त्यति मात्र फर्म दर्ता हुन्छन् र जसलाई ठेक्का दिने योजना बनायो उसैलाई मात्रै पार्ने गरिन्छ । यो काम गर्न अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत दाहाल, इन्जिनियरको हात रहने गरेको आरोप छ ।’ – अपडेट खबर बाट साभार








