
काठमाडौं – राष्ट्रिय विकास परिषद बैठक काठमाडौँमा सुरु भएको छ । आज र भोलि गरेर दुइदिनसम्म चल्ने बैठकमा राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिने तयारी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठककाे उदघाटन गर्नुभएको छ । होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कार्यान्वयन हुने सार्थक बनाउने रणनीति छ ।







