काभ्रेपलान्चोक – सरकारले खाद्यान्न, अत्यावश्यक उद्योगधन्दा खोल्न दिएको छ। यसले गर्दा बजारमा मानिसको आवत जावत हुन थालेको छ। बजारमा चहल पहल सुरू भएसँगै कुखुराको मासुको मूल्य बढेको छ।
लकडाउनको सुरूवातमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको थियो। अहिले ३ सय ६० देखि ७० रूपैयाँसम्म पुगेको छ।
बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्की बताउँछन्।
‘सरकाले कुखुराको मासुको पसल खोल्न दिएपछि कुखुराको मासुको खपत बढेको छ। त्योसँगै मूल्य पनि बढेको छ,’ उनले भने, ‘लकडाउनले गर्दा किसानले चल्ला हालेनन्, अहिले बजारमा ज्युँदो कुखुरा अभाव छ।’
कुखुराको मासुको मूल्य अझै बढ्न सक्ने उनी बताउँछन्।
‘लकडाउन अलि खुकुलो भएपनि तत्कालै किसानले चल्ला हाल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘दाना, पानी पुर्याउन किसानसँग अहिले लगानी गर्ने पैसा छैन।’
ऋण गरेर चल्ला हालेपनि अवस्था के हुने हो भन्ने डरले किसानले कुखुरा पाल्न नसकेको काभ्रेस्थलीका कुखुरा पालक किसान राजन अधिकारी बताउँछन्।







