काठमाडौं– आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले आज र भोलि  “नेपाल लगानी शिखर सम्मेलन २०१९” को आयोजना गरेको छ  । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्तदुरुस्त बनाइएको छ ।

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको सहभागिता पनि ६०० कै हाराहारीमा हुनेछ ।

स्वदेश तथा विदेशमा समेत सम्मेलनलाई लिएर उल्लेख्यरुपमा उत्साहको वातावरण बनेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि उत्पादकत्वमा वृद्धि, पूर्वाधार विकास, कृषि, जलविद्युत्, शहरी विकाससँग जोडिएका विषय र क्षेत्रका बारेमा विस्तृत जानकारी गराइने बताउनुभयो ।

सम्मेलनबाट विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी व्यावहारिकरुपमै नयाँ नेपाल निर्माणको सन्देश विश्वलाई दिन चाहेका छौँ, त्यो कुरो मात्रै हैन, लगानीमैत्री वातावरण, नीतिगत सुधारका साथमा अघि बढेका छौँ ।”

नेपालमा लामो राजनीतिक सङ्घर्ष र बलिदानपश्चात् स्थापित लोकतान्त्रिक गणतन्त्रको अबको एउटै उद्देश्य भनेको महानिर्माण अभियानमा राष्ट्र सामेल भएको र नेपाली जनताले न्याय, समानता, प्रगति, सुख र समृद्धिलाई समेत जोडेर लगानीमैत्री वातावरण सिर्जना गर्नेगरी अघि बढेको जानकारी गराउने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो ।

सम्मेलनमा सातवटै प्रदेशका तर्फबाट पनि थप केही योजना प्रस्तुत गर्ने तयारी गरिएको छ । सम्मेलनकै लागि सातै प्रदेशका मुख्यमन्त्रीसमेत काठमाडौँ आइपुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ ।

होटल सोल्टीमा आज बिहान ९:००  बजे सम्मेलन उद्घाटन सत्रको कार्यक्रम हुनेछ । उद्घाटन सत्रलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । यस्तै अर्थमन्त्री डा युवराज खतिवडा, सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतले सम्बोधन गर्नुहुनेछ ।

यस्तै आज  नै नेपालमा लगानीको अवसर विषय छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’ विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।

भोली (शनिबार)सम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।