बनेपा, हिजोदेखि चैत्र १० गतेसम्म नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, धुलिखेल नगरपालिका तथा रोशी, तेमाल, भुम्लु र चौरीदेउराली गाउँपालिकामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान शुरु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बनेपा र पनौती नगरपालिका तथा महाभारत, खानीखोला र बेथानचोक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

यस अभियानअन्तर्गत जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका ३१ हजार ७ सय ९२ बालबालिकालाई उक्त खोप दिन लागिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनले स्वास्थ्य स्वयंसेविकामार्फत सबै बालबालिकाको अभिभावकलाई निम्तापत्र पठाइसकेको बताउदै सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन ।
यस अघि सन् २०१६ मा सञ्चालित दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यस अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको झाले बताए । उनका अनुसार जिल्लाका ९ सय ६२ खोप केन्द्रमा एक हजार ९ सय २४ स्वस्थ्य स्यमं सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन हुने छन । विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसियाको निर्णयानुसार सन् २०२३ सम्ममा दक्षिणपूर्वि एसियाबाट दादुरा–रुवेला रोग निवारण गर्ने लक्ष्य रहेको छ । यस अभियानमा स्थानिय जनप्रतिनिधिहरुको पनि सक्रिय सहभागीता हुनाले यो अभियान विगतको भन्दा बढि प्रभाबकारी हुने स्वास्थ्य प्रमुख डा. झाले बताए ।
वडा क्षेत्रका सम्पूर्ण बालबालिकाले दादुरा–रुवेला खोप लगाएको प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएकोले पनि यो सफल हुने उनको बिश्वास रहेको छ ।
नियमित खोप सुदृढीकरण गरि पूर्ण खोप राष्ट्र बनाऔ भन्ने नाराका साथ सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप दिएको थियो । अभियानको दोस्रो चरणअन्तर्गत
वाग्मती, गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको छ ।
बालबालिकामा अङ्गभङ्ग तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन् २००४ बाट हरेक चार वर्षमा अभियानकै रुपमा सञ्चालन गरिँदै आइएको छ ।
त्यसैले तपाई हामीले पनि आफ्नो ९ महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा–रुबेलाबिरुद्धको खोप लगाई ती रोगहरुबाट बचाउनको साथै अंगभंग तथा अकालमा हुने मृत्युबाट बचाऔं र अरुलाई पनि खवर गरी यो अभियानमा सहभागी बनाउन लागौ है । –नव क्षितिज साप्ताहिकबाट