बनेपा,कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ भने २३५ आईसीयू बेड तयार पार्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको र विश्व स्वास्थ्य संगठनले महाहारी घोषणा गरिसकेकोले कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको सरकारले जनाएको छ ।

हिजो राष्ट्रियसभामा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइने र वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी भएको बताए । उनले संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपील गरे ।
नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । ९ जनवरी २०२० मा नेपाल आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएको जानकारी दिंदै मन्त्री ढकालले विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको र हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको पनि जानकारी दिए । अरु मुलुकको संक्रमण हेर्दा ८० प्रतिशत सामान्य उपचार अर्थात क्वारेन्टाइनलगायतमा राख्नुपर्ने, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राखेर उपचार गर्नुपर्ने र ५ प्रतिशतलाई अति जोमिखयुक्त उपचार गर्नुपर्ने देखिएको भन्दै उनले १५ सय, तीन हजार वा साढे ४ हजारसम्म संक्रमित हुँदा पनि कुन खालको व्यवस्थापन भयो भने सहज ढंगले म्यानेज गर्न सकिन्छ भनेर अन्तरिम तयारीमा लागेको बताए ।
उनका अनुसार स्थल नाकामा स्वास्थ्य विन्दु स्थापना गर्नुको साथै तेस्रो मुलुकबाट आउनेहरुका लागि चार वटा मात्र नाका तोकिएको छ । साथै त्रिभुवन विमानस्थलबाट आउनेहरु संक्रमण धेरै भएका देशका नागरिकहरुका लागि १४ दिन अनिवार्य सेल्फ वा होम क्वारेन्टायनमा बस्न भनिएको उनले जानकारी दिए । होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गर्ने र लक्षण देखियो भने अस्पताल लैजाने, रिपोर्ट पोजेटिभ भयो भने सम्पूर्ण उपचारको जिम्मा राज्यले लिने पनि मन्त्री ढकालले जानकारी गराएका छन ।                   –नव क्षितिज साप्ताहिकबाट