बनेपा, शुरु देखिनै रफ्तारमा काम भइरहेको भएपनि निर्माणमा लामो समय खर्चेको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य कहिले पुरा हुने एकिन हुन सकेको छैन ।
विशेषगरी माग अनुसार बजेट उपलब्ध हुन नसक्दा काम पनि रफ्तारमा हुन सकेको छैन । दुई जिल्ला भक्तपुर र काभ्रे जोड्ने १५.८ किलोमिटर सडक विस्तारमा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएको छ । चालु आर्थिक वर्षमा आयोजनाले ३ अर्ब रुपैयाँ माग गरेको थियो । तर सडक र पुल निर्माणका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको थियो, जसमा ६० करोड सडक विस्तारमा र १० करोड पुल निर्माणका लागि छुट्याइएको थियो । उक्त रकम अपुग भएर निर्माणकै क्रममा थप १५ करोड रुपैयाँ पाए पनि त्यो पनि सकिइसकेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताएका छन ।
महतोका अनुसार रफ्तारमा काम भइरहेको छ, तर पर्याप्त बजेट छैन, बजेट अभावले काम नै रोकिसकेको छैन, माग गरेअनुसार बजेट नआए काम प्रभावित बन्ने जोखिम छ । समयमै बजेट उपलब्ध गर्न माग गरिरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा अब कम्तीमा एक अर्ब चाहिन्छ । दुवै खण्डमा नाली बनाउने काम सकिने चरणमा छ, ठेक्का भएको एउटा खण्डमा कालोपत्र भइरहेको र अर्को खण्डमा सुरु गर्ने तयारी छ । बेस र सबबेस राखेर कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
महतोका अनुसार तत्काललाई ६० करोड रुपैयाँ माग गरिएको छ । सडक विभागले २० करोड रुपैयाँ रकमान्तरका लागि सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ, तर अहिलेसम्म खातामा पैसा आइसकेको छैन । रकमान्तर माग गरेर अर्थमा पठाइसकिएको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । ‘काम भइरहेका आयोजनाको बजेट रोक्न भएन,’ उनले भने, ‘यस खण्डमा राम्रो काम भइरहेको छ, बजेट अभाव नभए कामको गति बढ्ने थियो ।’ सडक विभागबाट २० करोड रुपैयाँ माग भई आएकाले जुन उपलब्ध गराउने प्रक्रियामा रहेको र एक÷दुई दिनभित्र उपलब्ध हुने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
दुई खण्डमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । यस खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ४८ प्रतिशत छ ।
साँगा खण्डमा १ किमि अन्डरपास बनिरहेको, यसको काम ६० प्रतिशत सकिसकेको प्रमुख महतोले बताए । अर्को खण्ड साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि र निर्माण प्रगति ६८ प्रतिशत छ । साढे दुई किमि सडक कालोपत्र भइसकेको छ । ३ किमि ६ लेन सडक कालोपत्र भएको छ । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । म्याद गत २७ मंसिरमा सकिसकेको र अहिले २३ मंसिर २०८३ सम्म थप गरिएको छ । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ५६ प्रतिशत छ । यस सडक खण्डमा पर्ने तीन वटा पुलको भने छुट्टै ठेक्का गरिएको छ । पुलको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएका छन् । सडक निर्माण आधाभन्दा बढी सकिँदा पुल निर्माणले भने अझै गति लिन सकेको छैन ।
दुई पुलको बल्ल निर्माण गर्ने सुरसार गरिँदै छ । एउटा पुलको मात्र काम भइरहेको छ । ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो । ६ चैत २०७९ मा गरिएको सम्झौताअनुसार ५ असोज २०८२ भित्र पुल निर्माण सकिसक्नुपर्ने हो । भ्याटसहित तीनवटा पुलको ठेक्का रकम ५७ करोड ५० लाख रुपैयाँ छ । सम्झौता अवधिमा काम नसकिएपछि अहिले ५ मंसिर २०८३ सम्म म्याद थप गरिएको छ । जगाती पुल भक्तपुर र पुण्यमाता तथा महादेव खोला पुल काभ्रेमा पर्छन् । महादेव खोला पुलमा काम भइरहेको र निर्माण प्रगति १२ प्रतिशत छ । पुण्यमाता र जगाती पुलको सुरुको डिजाइनमा पुनर्विचार गरेर बल्ल निर्माण थाल्न लागिएको आयोजनाले जनाएको छ ।