बनेपा, नेपाल प्रेस युनियन काभ्रेले शनिबार धुलिखेलमा दीपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना, सम्मान तथा संस्थाको वार्षिक साधारणसभा र सय दिने सदस्यता विशेष अभियान समापन कार्यक्रम गरेको छ ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता र शाखा अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गत मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघका निर्वाचित कार्यसमिति तथा विभिन्न समयमा संस्थालाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लम्सालले श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि प्रेस युनियन सधैं अग्रपंक्तीमा उभिँदै आएको इतिहास सम्झाउँदै आगामी दिनमा पनि सधैं सक्रिय रहने बताउनुभयो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जेनजी आन्दोलनका सकारात्मक पक्ष भएपनि व्यक्ति लक्षित र सार्वजनिक सम्पत्तीलक्षित तोडफोड जेनजीको माग नभएको भन्दै व्यक्तिले गल्ती गरेको हुनसक्ने तर भवनले कुनै गल्ती नगरेको र ती भौतिक सम्पत्तीमा आगजनी गर्नु दुःखद रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, वर्तमान अध्यक्ष बिनोद न्यौपाने, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइवा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, आदिवासी पत्रकार महासंघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश खरेल, प्रेस संगठन काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिनालगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमका सभापति शाखाअध्यक्ष नगेन्द्र अधिकारीले नेपाल प्रेस युनियन सबै पत्रकारहरुका पक्षमा काम गर्ने संस्था भएको उल्लेख गर्दै यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।