धुलिखेल, बीपी राजमार्गको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा निर्माण भएको नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको शालिकको शनिबार अनावरण भएको छ ।
कांग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाको शालिक अनावरण गरेका हुन । सभापति देउवाले जनताको अपेक्षा धेरै भएकोले सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए । ‘दुई प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता र चासो नागरिकमा छ, झगडा गर्ने दुवै दल मिल्दा आनन्द भएको छ भन्ने पनि छ,’ उनले भने, ‘दुई दल मिल्दा सकरात्मक सन्देश पनि गएको छ, अब काम गरेर देखाउनुपर्छ ।’ मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दललाई बहुमत प्राप्त गर्न कठिन हुन सक्ने भन्दै त्यो चुनौती स्विकार्दै कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन लाग्नुपर्ने बताए । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भएको वी.पी. राजमार्गले कनेक्टिभिटीको लागि राम्रो गरेको भन्दै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । वडा, बस्ती सम्म विकास गर्नुपर्ने कांग्रेसको लक्ष्य भएको भन्दै उनले त्यसमा अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
शालिक महामानव बीपी कोइराला शालिक निर्माण समिति र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको हो । ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव बीपी कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण श्रेष्ठले जानकारी दिए । २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको बीपी राजमार्ग निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनः शुरुवात गरेपछि उक्त सडक निर्माणकार्यले सार्थकता पाएको हो । नेपाली कांग्रेसका तत्कालिन सभापति शुशिल कोइराला प्रधानमन्त्री भएको बेला २०७२ सालमा उक्त सडक निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । बीपीको परिकल्पना र उनकै नाम रहेको राजमार्ग (बीपी राजमार्ग)को सुरुवाती विन्दु धुलिखेलमा बीपी कोइरालाको शालिक स्थापना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
वी.पी. पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सञ्चार क्षेत्रको विकास कांग्रेसका नीति र नेतृत्वका कारण सम्भव भएको बताए । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसले कांग्रेसलाई भोट हाल्ने हो भने कुनै पार्टीले हराउन नसक्ने तर्क गरे । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले अबका कुनै पनि निर्वाचनमा कांग्रेसका जोसुकै उम्मेदवार बाहेक अरु कोही नजित्ने गरी पार्टीमा मन मिलाउने प्रतिवद्धता गरे । अर्का केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले पछिल्लो पुस्तासम्म वी.पी. विचार लैजानुपर्ने तर्क गरे । केन्द्रीय सदस्य गणेश लामाले कांग्रेसकै चुनाव चिन्हमा भोट हाल्ने, कुनै दलसंग गठबन्धन नगर्ने गरी कांग्रेसको महासमिति बैठकले निर्णय गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेका सभापति तीर्थ लामा, उपसभापति रमेशप्रसाद हुमागाई, महासमिति सदस्य जितेन्द्रमान तामाङ, महाधिवेशन प्रतिनिधि मन्जु शाह ठकुरी, जिल्ला सदस्य सनिता न्यौपाने बजगाई, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले बोलेका थिए । महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समितिका संयोजक जितकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सह–सचिव समिर व्याञ्जुको सञ्चालनमा भएको थियो ।