बनेपा, भागवत कथा वाचनमा लोकप्रियता प्राप्त गरेकी काभ्रेली चेली प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह नगर मण्डनदेउपुर र गृह जिल्ला काभ्रेका बिभिन्न संस्थाहरुले अभिनन्दन तथा सम्मान गरेका छन ।
आइतबार देवी प्रतिभाको जन्म नगरमा भव्य स्वागत सम्मान र अभिनन्दन गरिएको छ । शुरुमा मण्डनदेउपुर–५, मा रहेको ब्रम्हायणी मन्दिरमा मण्डनदेउपुरवासीका तर्फबाट शक्तिपिठ ब्रम्हायणी देविको दर्शन र अभिनन्दन गरिएको हो । ब्रम्हायणी मन्दिर परिसरमा भएको कार्यक्रममा ब्रम्हायणी मन्दिर संरक्षण समितिका अध्यक्ष शेर बहादुर डोटेललगायतले अभिनन्दन गर्दै सम्मानपत्र प्रदान गरेका थिए । त्यस लगत्तै मण्डनदेउपुर नगरपालिका र उनी सानोमा पढेको नव प्रतिभा स्कुलले छुट्टा छुट्टै सम्मान गरेका थिए ।
त्यसैगरी शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले पनौतीमा एक कार्यक्रम गरेर भव्य सम्मान गरेका थिए । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले धार्मिक स्थल पनौतीमा सत्ययुग, द्वापरयुग र रामायणकालिन इतिहास रहेको भन्दै पवित्र स्थलको नामको भारतमा गलत व्याख्या भएको भन्दै त्यो भ्रम चिरिदिन र पनौतीको महिमाबारे प्रचार प्रसार गरिदिन अनुरोध गरेका थिए ।
सम्मानपछि देवी प्रतिभाले आफ्नो गृहजिल्लामा अपनत्व प्राप्त गरेको अनुभव सुनाइन् । उनले नेपाल एकमात्र हिन्दु राष्ट्र भएको बताइन । उनले भनिन् – नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो, आज पनि हिन्दू राष्ट्र हो र भोलिपनि रहनेछ । पनौतीमा स्वर्गका राजा इन्द्रले तपस्या गरेको तपोभूमि इन्द्रेश्वर महादेवको दर्शन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै देवी प्रतिभाले पनौतीको तिर्थस्थल बारे प्रचार गर्ने प्रतिबद्दता समेत ब्यक्त गरिन ।
उनलाई काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, पनौती नगरप्रमुख भण्डारी, उपप्रमुख गीता बञ्जारा लगायत सयौंको संख्यामा उपस्थित सर्वसाधारणले स्वागत गरेका थिए । समाजसेवी रामकुमार बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले देवी प्रतिभाले सानै उमेरमा जुन काम गरेकी छिन्, यो सामान्य नभएको र उनलाई संस्थाले सम्मान गर्न पाउँदा खुशी लागेको बताएका थिए । कार्यक्रममा देवी प्रतिभाका मातापिता साधुराम पराजुली, इन्दिरा पराजुली, ठूलोबुबा शम्भु पराजुली, अंकल दीपक पराजुली लगायत उनका आफन्तहरुको पनि उपस्थिती रहेको थियो ।
पशुपति क्षेत्र, वनकाली काठमाडौंमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आएको बखत उनलाई सम्मान गरिएको हो । देवी प्रतिभाले पनौतीको त्रिवेणीधाम, इन्द्रेश्वर मन्दिर, मुक्तिनाथ मन्दिर पुगेर दर्शन अवलोकन गरेकी थिइन् ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिएकी प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहेकी छन् । प्रारम्भिक शिक्षा समेत नेपालमै हासिल गरेकी प्रतिभा अध्ययनको लागि वृन्दावन पुगेकी थिइन् ।