बनेपा, श्री माई चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको शिलान्यास भएको छ । बुधबार संघीय सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल, प्रदेश सभा सदस्य कंचनचन्द्र वादे, नगरप्रमुख शान्तिरत्न शाक्यले सयुक्त रुपमा आश्रम निर्माणको शुभारम्भ गरेका हुन् ।

आश्रम निर्माणका लागि चण्डेश्वरी गुठीका नाममा रहेको केहि रोपनी जमिनका मोहिहरुलाई रकम भुक्तानी गर्दै गुठीको जग्गालाई बार्षिक भाडा तिर्ने गरी थप केहि रोपनी जमिन खरीद गरी १५ रोपनी जमिनमा आश्रम निर्माण गर्न लागिएको हो । २०७० सालदेखी बनाउने लक्ष्य राखेर सुरू भएको आश्रममा कम्पाउण्ड वाल, मुख्य प्रवेशद्धार गेट, गणेश मन्दिर निर्माण, सिंगल ब्लक भवन ४ वटा, डबल ब्लक भवन ४ वटा, कमन ब्लक भवन, मल्टिपरपोज भवन, आध्यामिक भवन, स्वास्थ्य क्लिनिक, भान्सा घर लगायतका संरचनाहरु निर्माण हुनेछन् ।

डिपिआर बनिसकेको र सोही अनुसार आवश्यक संरचना सहितका पुर्वाधार निर्माण गरिने समितिका अध्यक्ष उद्धव तिमल्सिनाले जानकारी दिए । सबै जेष्ठ नागरिकहरुका लागि सहज हुने गरी निर्माण गरिएका संरचनाको हेरचाह, ब्यवस्थापन, मर्मत सम्भार र नियमित संचालन समितिले गर्नेछ । –नव क्षितिज साप्ताहिकबाट