भर्खरै एसईई परीक्षा २०८० सकिएर विद्यार्थीहरु फुर्सदमा छन् । यो फुर्सदको समय विद्यार्थीहरुले सहि सदुपयोग गर्नुपर्छ । यो फुर्सदको समयमा त्यत्तिकै समय बिताएर बस्नु हुँदैन । अहिले फुर्सदमा पछि आवश्यक पर्ने विभिन्न खाले सिप सिक्दा अति उत्तम हुन्छ। आजभोलि हरेक ठाउँमा जे काम गर्न पनि कम्प्युटरको आवश्यक पर्छ । त्यसको लागि ११ पढ्न शुरु गर्न अगाडी नै कम्प्युटर चलाउन सिक्नु पर्छ । कम्प्युटरमा पनि तत्काल आवश्यक वर्ड, एक्सल, पावरपोइन्ट, सामान्य डिजाइन, नेपाली टाइप जस्ता सीप सिक्न सक्दा हरेक ठाउँमा अरुभन्दा एक कदम अगाडि हुन सकिन्छ । आजभोलि अङ्ग्रेजी टाइप गर्न आए पनि नेपाली भने टाइप गर्न धेरैलाई आउँदैन । त्यसकारण अरुलाई नआउने काम आयो भने छिट्टै जागीर पाउन सहज हुन्छ ।

बिहानको कलेज छ भने दिउस विभिन्न किसिमका काम सिक्नु पर्छ । पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा इन्टर्नसिप गर्न सक्दा धेरै राम्रो हुन्छ । आफ्नो विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरुको खोजी गर्नुपर्छ । स्मार्टफोन र इन्टरनेटको सुविधा प्रयोग गरेर आजभोलि विश्वभरीको अवसर खोजी गर्न सकिन्छ । त्यसलाई भरपुर सदुपयोग गर्न सक्नुपर्छ । सकभर पढाई एकथरी काम अर्को थरी गर्न हुँदैन । त्यसो गर्दा धेरै कुरामा अफ्ट्यारो हुनसक्छ ।

आजभोलि हरेक कुरा सामाजिक संजालमा देख्न र सुन्न पाइन्छ । त्यसैले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसरका जानकारी तथा सूचना के आउँछ त्यसमा ध्यान दिनुपर्छ। त्यसैले ट्रोलका पेजभन्दा संघसंस्था, कम्पनी र जानकारीमूलक पेजहरु लाइक गर्ने बानी बसाल्नु पर्छ । जसले गर्दा सामाजिक सञ्जाल चलाउँदा पनि अवसरहरूबारे राम्रो जानकारी पाउन सकिन्छ । फेसबुकदेखि टिकटकसम्म सबैमा यस्ता अवसरबारे जानकारी दिने गर्दछन्। हरेक कुरा विवेकशील भएर खोजी गर्दै प्रयोग गर्नुपर्छ । यसरी हामीले सामाजिक संजाललाई पनि आफ्नो आवश्यकता अनुसार प्रयोगमा ल्याउन सक्नुपर्छ ।

आजभोलि धेरै अवसरहरु छन् । आफूलाई आवश्यक र रुचि भएको विषयमा ज्ञान हाँसिन गर्नुपर्छ। फुर्सद भयो भन्दैमा रुचि नभएको र खासै काममा नआउने विषयमा समय खर्च गर्नु हुँदैन । इच्छा हुँदा हाम्रो पालाको जस्तो केहि कुरा सिक्न कहाँ जाने, कसलाई सोध्ने वा के गर्ने भन्ने नै छैन । फुर्सदमा आफूलाई इच्छा भएको र उपलब्धि मुलुक विभिन्न कुरा सिक्न अनलाईन कोर्सहरू गर्न सकिन्छ । अहिले धेरै साइटहरूले निशुल्क अनलाईन कक्षाहरू पनि सञ्चालन गरिरहेका हुन्छन् । यसलाई सहि तरिकाले सदुपयोग गर्न सक्नुपर्छ ।

धेरै पढेर राम्रो डिभिजन ल्याउन सकिएन भने भविष्य राम्रो हुँदैन भन्ने हामीलाई ठूलो भ्रम छ। विशिष्ट श्रेणीमा पास भई कामको अनुभव भएन भने रोजगारीका लागि बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ। पछि जिम्मेवारी बढ्दै जाँदा इन्टर्नसिप गर्न न त समयले दिन्छ न त जिम्मेवारीले नै त्यो गर्न सकिन्छ । त्यसैले अहिले देखि नै इन्टर्नसिप गरियो भने बिस्तारै अनुभव बढ्दै जान्छ र पछि पढाई सक्दासम्म अनुभव र योग्यता दुबै हुन्छ। जसले गर्दा प्रतिस्पर्धामा अब्बल हुने धेरै सम्भावना रहन्छ। हामीले कामलाई कहिल्यै पनि ठूलो र सानो भन्नु हुन्न । आइपरेको र देखेको सबै काम गर्न सक्नुपर्छ । यसमा हामी सबैको भलो हुने निश्चित छ । यदि कोहि उद्यमी बन्न चाहने हो भने केही वर्ष सम्बन्धित क्षेत्रको कम्पनीमा काम गर्दा सिकाइ राम्रो हुन्छ। त्यस्तो अनुभवले सफल र असल उद्यमी बन्न सहयोग पुग्दछ ।

अन्तर्राष्ट्रिय शिक्षाको लागि हिजोआज बाहिर देश नै जानुपर्छ भन्ने छैन । जान मन लाग्दा पनि जुनसुकै समय यहाँ पढेकै कोर्स र कलेजमा भर्ना भई कोर्स पुरा गर्न सकिने अवस्था हुन्छ। वाहिर पढ्न धेरै विश्यवविद्यालय र कुटनीतिक नियोगले छात्रावृति दिइरहेका हुन्छन्। राम्रो नम्बर ल्याएको र सम्बन्धित क्षेत्रको अनुभव बटुलेको विद्यार्थीले सजिलै त्यस्तो छात्रावृति पाउँन सक्छन् । निशुल्क अन्तर्राष्ट्रिय अध्ययन गर्न पाइने त्यस्ता अवसरहरूको खोजी गरेर पहिलेदेखि नै आफूलाई तयार राख्दा भविष्यको सपना साकार हुने उच्च सम्भावना रहन्छ। यसको लागि निरन्तर त्यो ठाउँमा सम्पर्क गर्ने र जानकारी लिने गर्नुपर्छ ।

विद्यार्थी समय भनेको पढ्ने र सिक्ने समय हो । यो समयमा अनावश्यक प्रेम सम्बन्धमा रहने र समय खर्च गर्नुहुन्न्न । यदि कहिँ कतै कसैसँग सम्बन्ध रहिरहे पनि आफ्नो करियरलाई अफ्ट्यारो नपर्ने गरि सँगसँगै लानुपर्छ। यति बेला सबै किसिमका कुराहरु छोडेर अध्ययनमा ध्यान दिनुपर्छ। प्रेमलाई मात्र केन्द्रमा राखेर अगाडि बढ्न थाल्दा अरु धेरै कुरा बिग्रन सक्छन् । आत्मनिर्भर भएपछि मात्र विवाहको बारेमा सोच्नुपर्छ। जिन्दगी चलाउन धेरै गा¥हो छ । जीवनमा चलचित्र जस्तो हरेक कुरा सम्भव हुँदैन। पर्दामा चलचित्र सकिएपछि जिन्दगीको वास्तविक असली युद्ध त्यहिँबाट सुरु हुन्छ। सुखी र खुसी जीवनका लागि आर्थिक पाटो पनि उत्तिकै बलियो हुनुपर्छ। मायाले मात्र जिन्दगी चल्दैन। त्यसैले प्रेम र आफ्नो भविष्य दुबै पक्षलाई सन्तुलित बनाउँदै लान सक्दा मात्र सफल हुन सक्छ ।

जिन्दगी रमाउने, कमाउने, बनाउने, सिक्ने, घुम्ने आदि सबै हो। हामीले हरेक कुरा हरेक समय आवश्यक अनुसार गर्दै जानुपर्छ। पढाई सँगै विस्तारै काम गर्दै कमाउँदै गर्दा रमाउन पनि बिर्सनु हुँदैन । आत्मनिर्भर भएर आफ्नै कमाइले संसारलाई नियाल्नुको मज्जा बेग्लै हुन्छ। आत्मनिर्भर भएर केही समय आफ्ना रहरहरू पूरा गर्न र संसार घुम्नका लागि पनि छुट्यानु पर्छ । समय बित्तै गएपछि यस्ता अवसरहरु कम पाइने हुन्छ । संसार फराकिलो छ र जिन्दगी अनिश्चित छ। सिक्न र हेर्नका लागि संसारमा धेरै कुराहरू छन् । त्यसलाई सहि समयमा सहि तरिकाले सदुपयोग गर्न सक्नुपर्छ । अन्यथा जिन्दगी नै ब्यर्थ जस्तै हुनसक्छ ।

हामी जतिसुकै बुझ्ने वा पढेलेखेको भए पनि सबै कुरा थाहा नहुन सक्छ ।केहि कुरा गर्दा आफूभन्दा पाका मान्छेलाई सोध्दै गर्दा राम्रो हुन्छ । सबै कुरा अरुको सुझावमा चल्नेभन्दा पनि आफ्नो मनले मनन गर्दै सहि र सकारात्मक कार्य मात्र गर्नुपर्छ। काम गर्दै जाँदा सपना देख्नु पर्छ र त्यहाँसम्म पुग्ने बाटोको नक्सा पनि कोर्नु पर्छ । तर कहाँ जाने भन्ने कुरा यकिन नभएसम्म निरन्तर प्रयास जारी राखिराख्नु पर्छ। नपुगेसम्म कहाँ पुग्ने भन्ने कुरा पनि थाहा हुँदैन। त्यसैले हरेक कुरा गर्दा योजना सहित अगाडि बढ्नुपर्ने हुन्छ ।

हामी सबैभन्दा बढी चेतनशील सामाजिक प्राणी भएको नाताले सबैको लागि दयालु र असल बन्नुपर्छ । जहिले पनि आफूुभन्दा कमजोर तथा असहायलाई सहयोग गर्नुपर्छ । आफूले जानेको कुरा अरूलाई सिकाउनु पर्छ। आफ्नो समाज र देशमा के भईरहेको छ त्यसलाई राम्रोसँग नियाल्नु पर्छ । सकेसम्म सामाजिक कामको जिम्मेवारी र नेतृत्व लिनुपर्छ । हरेक दिन एक पटक देश र विदेशका समाचार पनि सुन्ने गर्नुपर्छ । साथै देशको राजनीतिको बारे पनि अलि अलि चासो लिई अध्ययन गर्नुपर्छ । चित्त नबुझेको कूरामा आफ्नो फरक मत र विचार राख्न सक्नु पर्छ । यो नै ठूलो बुद्धिमानी हुन्छ । सहि र सकारात्मक छ भने यदि विचारको सम्मान भएन भने पनि आवाज उठाउन भने छोड्नु हुँदैन । कहिँ कतैबाट वास्ता नगरिए पनि पटक पटक त्यो विषय उठाउन गर्नेछ आँट गर्नुपर्छ। तर यो कुरा यस्तै हो भनेर आफ्नो महत्वपूर्ण समय र उर्जा खर्च गरेर अनावश्यक विवाद र बहस भने कहिल्यै गर्नु हुँदैन । यसरी हरेक काम र कुरा सहि तरिकाले सहि समयमा गर्दै अगाडि बढ्ने हो भने सधैं हामी सफल हुन सक्छौं र हामीले चालेका हरेक कदम सफलता पुर्वक अगाडि बढ्ने छन् ।