हामीले हाम्रा बालबालिकालाई जहिले पनि निगरानीमा राख्नु पर्ने हुन्छ । बालबालिकाको के राम्रो, के नराम्रो छुट्याउन सक्ने क्षमता वृद्धि भइसकेको हुँदैन । त्यसैले ठूलाको अर्ति र उपदेश ध्यानपूर्वक सुन्ने र अनुशरण गर्ने बानी बसाल्न ध्यान दिने गर्नुपर्छ । कहिलेकाहीँ त्यस्ता सल्लाहहरू दिक्कलाग्दा पनि हुन सक्छन् । तर त्यस्ता उपदेशमा राम्रा र जीवन बदल्न सक्ने शक्ति लुकेका हुन्छन् भन्ने कुरा हामीले हाम्रा बालबालिकालाई बिस्तार बिस्तार बुझाउन सक्नुपर्छ ।

हामी सबैको पहिलो गुरु आमा हुन् । उनको अर्ति सधैं मन्नु पर्छ भन्ने कुरा हामीले बुझाउने गर्नुपर्छ । हामीले आफ्नै उदाहरण दिएर “म पनि मेरी आमाको प्रेरणाले यहाँसम्म आइपुगेको हुँ“ भनेर बुझाउनु पर्ने हुन्छ । समाजमा अनेक खाले मान्छे बस्छन्। कोहि गलत बाटोमा हिँडिरहेका हुन्छन् त कोहि गलत मानिसको संगत गरिरहेका हुन्छन् । हामीले के सहि के गलत भन्ने कुरा आफैं छुट्टाउन नसक्दा आफूभन्दा ठूला मान्छेसँग भन्ने गर्नुपर्छ र त्यस्तो काम गर्नुहुँदैन । बाल अवस्थामा हामीले नजानेर धेरै गलत काम गरेका हुन्छौं । त्यसलाई हामीले बिस्तार बिस्तार हटाउनको लागि आफ्नो घरका दाई, दिदि, आमा, बुवा वा ठूला मान्छेलाई सोधेर गर्ने गर्नु पर्छ। राम्रो काम गर्दा असल मित्र बिस्तारै थपिँदै जान्छन् भने गलत काम गर्दा खराब मित्र थपिदै जान्छन् । हामीलाई गलत मित्रको संगतले सधैं नराम्रो बाटोतिर डो¥याउँछ भने असल मित्रको संगतले सधै सहि र असल बाटोतिर डो¥याउँछ । त्यसैले सधैं असल र राम्रा साथीहरूको मात्र संगत गर्नुपर्छ । असल र खराब थाहा पाउन आफूभन्दा ठूलाको सल्लाह लिनुपर्छ ।

पहिला पहिलक बाल्यकाल र अहिलेका बालबालिकाको बाल्यकाल आकाश र जमिनको फरक छ । पहिला पहिला पढ्ने किताबसम्म हुँदैनथे । खरीले कालो पाटीमा लेख्नुपथ्र्यो । अहिले पाउनेजस्ता थरिथरिका शैक्षिक सामाग्री हुँदैनथ्यो । त्यतिबेला आजको जस्तो कम्प्युटर,मोवाइल,टेलिभिजनको कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो। पहिला पहिला पढ्ने सामान नपाएर हैरान हुन्थ्यो । अहिले धेरै छन् तर छान्न नजानेर समस्या थपिएको छ। अहिले धेरै थरी भएर गलत प्रयोग वा अधिक प्रयोगले पनि बिगार्न सक्छ । लगातार टेलिभिजन हेरेर बस्नु राम्रो होइन । टेलिभिजन हेर्न निश्चित समय छुट्याउनुपर्छ । टिभीमा के हेर्ने भन्नेबारे आफूभन्दा ठूलासँग सल्लाह गर्नुपर्छ । हामीले हेर्दा केहि न केहि नयाँ कुरा सिक्नुपर्ने हुन्छ । हामीले टिभीमा हेर्दा बहादुरीका कथा, दया र कल्याणका कथा, संयोगान्त कथाहरू आदि हेर्दा केहि न केहि सिकिन्छ । धर्मका विषयमा जान्न मन लाग्यो भने अभिभावकसँग बसेर महाभारत हेर्दा धेरै ज्ञानका कुरा सिक्न पाइन्छ र ज्ञानको दायरा बढ्न सक्छ । कोठाभित्र एक्लै कम्प्युटर र मोबाइलमा गेम खेलेर बस्नु स्वास्थ्यका दृष्टिले पनि राम्रो हुँदैन । त्यसबाट खासै केहि उपलब्धि पनि हुँदैन । खेल्नै मन लाग्यो भने खेल्दा समूह बनाएर खेल्नुपर्छ । हामीले बनावटी कुरा मात्र हेर्ने गर्नु हुन्न । हामीले हाम्रा वरिपरि भएका वातावरण, हावापानी, हिमाल, पहाड, रुख, बिरुवा आदि प्रकृृतिबाट पनि धेरै कुरा सिक्न सकिन्छ। त्यसकारण घर र विद्यालय हाता बाहिरको वातावरण बारे पनि ज्ञान हुन उत्तिकै जरुरी छ। कुनै पनि काम जानेर बेफाइदा हुँदैन । सिकेको कुरा संस्कार भयो भने मात्रै उपयोगी हुन्छ ।

हिजो किताबमा भएका कविता भाका हालेर पढ्न लगाइन्थ्यो। त्यो एकदमै राम्रो हुन्थ्यो । आज पढ्नतिर त्यति कसैको मन नै छैन । हामीले जति जे नै जाने पनि पढ्न सिक्नुपर्छ । कविता कण्ठस्थ पार्ने बानीको विकास सानैदेखि भयो भने ठूला कक्षामा जस्तोसुकै सुत्र पनि कण्ठ गर्न गा¥हो लाग्दैन । अक्षरहरू सफा र चट्ट पारेर लेख्ने गर्नुपर्छ। यो जीवनभर काम लाग्ने कुरा हो । लेख्दा शुद्ध लेख्ने गर्नुपर्छ । त्यसका लागि भाषामा दख्खल हुनुपर्छ । नजानेको कुरा ठूला मान्छेसँग सिक्नु पर्छ ।

सानो बेला जस्तो बानी लाग्यो ठूलो हुँदासम्म त्यहि बानी बस्ने गर्दछ । त्यसो हुँदा राम्रो र असल बानी मात्र सिक्नु पर्छ । सनो बेला पैसा फुरमास गर्ने बानी पटक्कै गर्नु हुन्न । त्यो राम्रो बानी राम्रो होइन । हामी मामा घरमा वा अन्त कतै जाँदा दक्षिणा, उपहार आदी बाट प्राप्त रुपैयाँ अनावश्यक खर्च गर्नु हुँदैन। त्यसरी प्राप्त रकमबाट खेलौना, गेम खेल्न सामान, चक्लेट, तितौरा जस्ता सामानमा खर्च गर्नु हुँदैन । त्यसलाई जोगाएर किताब, कापी, कलम वा अन्य पढ्ने सामग्री किन्ने बानीको विकास गर्नुपर्छ । भविष्यमा एउटा ठूलो लाइब्रेरी आफ्नै घरमा बनाउँन सक्दा त्यसले राम्रो गर्छ । गर्छु भन्ने अठोट लिएर अघि बढ्दा सम्भव हुन्छ । किताबहरू जहिले पनि काम लाग्छन् । भोलिपर्सि आफू ठूलो हुँदा “मेरो लाईब्रेरीमा म आफैँले लेखेका, विश्वविद्यालयमा पढाएका, पढेको, कताकताबाट जम्मा गरेका हजारौं देशी–विदेशी किताब छन्“ भन्दा आनन्दको अनुभुती हुनेछ र त्यति बेलाका लागि ति पुस्तक अत्यन्तै मुल्यवान भएका हुनेछन् । अहिलेबाटै घरैमा पढ्न शुरु गरेका, आमाले भेला गरिदिएका किताबहरु जम्मा गरि घरमा लाइब्रेरि जस्तै बनाएर राख्ने बानी बनाउनुपर्छ । हामीले हाम्रो कोठालाई कक्षाकोठा जस्तै बनाउन सक्दा बुढेसकालमा रिटायर्ड भएर घरमा बस्नुपर्दा किताबहरू गुरु र साथी जस्तै हुने छन् ।

बालबालिकाको उमेर भनेको जीवनको सुरुवाती अवस्था हो । यस्तो उर्जाशील समयमा कुनै पनि कुराले दुखी र विचलित हुनु हुँदैन । हामीले आफ्नो समयमा केहि नयाँ र असल काम गर्न सक्यौं भने मात्र यो हाम्रो जीवनले सार्थकता पाउँछ । नराम्रो र असजिलो लागेका कुराहरू नजिकका दौँतरी, अभिभावक र नातेदारलाई सुनाएर समाधान गर्नुपर्छ । आफ्नो रुची खुलस्त भन्नुपर्छ । कहिलेकाहीँ अभिभावकको मात्र चाहना र करकापले गरेको कामले सही परिणाम नदिन पनि सक्छ । त्यसैले आफूलाई फरक लाग्यो वा मन परेन भने तुरुन्तै भन्ने गर्नुपर्छ । आफूलाई मन नपरेको वा इच्छा नभएको कुरा गर्दा त्यसको परिणाम सकारात्मक नआउन सक्छ । त्यसैले सधैं सकारात्मक परिणाम आउने कसैलाई दुःख, नराम्रो नहुने र सबैलाई राम्रो हुने काम गर्नुपर्छ ।