बनेपा, बनेपा नगरपालिकाको ४५ औ स्थापना दिवस बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यता तथा नगर प्रमुख शान्तिरन्त शाक्यको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतम, नगर उपप्रमुख विमला सापकोटा, पुर्व उपप्रमुख रेखा सापकोटा दाहाल, पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले स्थापना दिवसमा शुभकामना मन्तब्य राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेको स्वागत मन्तब्य र प्रशासन प्रमुख यादव खनालको संचालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाम निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरु, उत्कृष्ट करदाता, उद्योगी, ब्वयवसायी, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बादेले बनेपा नगरको स्थापना, स्थापना पछिको अवस्था, निरन्तरको विकास, संघीय संरचना पछिको विस्तारित बनेपा, खानेपानी, फोहोरमैला, स्वास्थ्य, शिक्षा, सरसफाई लगायतका विषयमा निरन्तर विकास भईरहेको बताए । नगरबासिहरुको हितमा रहेर काम गर्न जनप्रतिनिधिहरुलाई उनले अनुरोध गरे । नगर प्रमुख शान्तिरत्न शाक्यले भदौ २३ र २४ पछिको अवस्था, विस्तारित राजमार्ग, पछिल्लो समय नागरिकहरुको बुझाई र माथिल्ला सरकारहरुको ब्यवहार लगायतका विषयमा भईरहेको प्रयत्नका सन्दर्भमा जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख शाक्यले चालु आर्थिक वर्षको चैत्र १२ सम्म बार्षिक प्रक्षेपण गरिएको २० करोड २० लाख आन्तरिक राजश्वमा ४० प्रतिशत मात्रै प्रगती भएको बताए । ८ करोड १५ लाख ५९ हजार ८ सय ५१ रुपैया राजश्व संकलन गरिएको छ । कृषि तथा पशु सेवा, पशु बीमा कार्यक्रम प्रभावकारी भएको बताए । १७४३ वटा गाई, ३ सय ७८ वटा भैसी, १३०३ वटा बाख्रा र ८७ वटा बंगुरको बीमा गरिएको छ । सहकारी तथा सामुदायिक विकास, राष्ट्रिय रोजगार कार्यक्रम सफल भएको नगर प्रमुख शाक्यले बताए । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा कार्यक्रममा नगरबासिहरुको चाहना अनुसार काम भएको उनले बताए ।
उपप्रमुख विमला सापकोटाले न्यायीक समितिका कार्यसम्पादन, योजनाहरुको कार्यान्वयन तथा नगरपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराएकी थिईन् । अघिल्लो वर्षका ८ वटा र चालु वर्षका १९ वटा उजुरीका बारेमा अधिकांश टुङ्गिएका छन् । ११ वटा अदालतमा विचाराधिन छन् ।








