नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो र परिवारको सम्पति विवरण बुझाउनुपर्ने भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार ६० दिनभित्र सम्पति विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।
संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले आर्थिक वर्ष २०८१÷०८२ को अद्यावधिक सम्पति विवरण बुझाउन सूचना जारी गरेको छ । दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो । गत फागुन २१ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले गत चैत १२ गते शपथ लिएका थिए ।